+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

‘गोबर गणेश’ मार्फत सुपरहिट फिल्म पर्खिरहेका बल्छी धुर्बे

चर्चित नेपाली थेगो र आहानलाई टपक्क टिपेर मरिचमानले कथा बुनेका मात्र छैनन्, टिभी सिरियलमा आफूले पस्किएको स्वादलाई फिल्ममा ल्याउने जमर्को गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीपक-दीपाको 'छक्कापञ्जा' निर्माता कम्पनी आमा सरस्वती मूभिज मुलुकको पहिलो १ अर्ब कमाउने फिल्म निर्माण कम्पनी हो।
  • 'गोबर गणेश' फिल्म १ माघदेखि प्रदर्शन तयारीमा छ र पोस्टरले दर्शकको मन जितेको छ।
  • चर्चित टिभी कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बे नामले 'गोबर गणेश' मा डेब्यू गर्दैछन् र फिल्ममा सहरी परिवेशको कथा प्रस्तुत हुने अपेक्षा छ।

काठमाडौं । पछिल्ला वर्षमा घरेलु बक्सअफिसमा टिभी श्रृंखला हुँदै आएका कलाकारको दबदबा देखिन्छ । दीपक-दीपाको ‘छक्कापञ्जा’, धुर्मुसको ‘लाज शरणम्’, माग्ने बुढाको ‘माग्ने राजा’ देखि दीपक आचार्य ‘काकु’को ‘परान’ सम्म !

‘छक्कापञ्जा’ निर्माता कम्पनी आमा सरस्वती मूभिज मुलुकको पहिलो १ अर्ब कमाउने फिल्म निर्माण कम्पनी हो । ‘परान’ ले १७ करोडको आँकडा नाघ्यो । हामीले टिभीमा हेर्दैै आएका परिवार, समाजका मर्मस्पर्शी कथा ठूलो पर्दामा आउन थालेका छन् ।

फिल्ममा टिभी कलाकारको डेब्यू लोभलाग्दो देखिन्छ । यो समग्र परिदृश्यमा १ माघदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘गोबर गणेश’ तिर दर्शकको नजर छ । केही दिनअघि सार्वजनिक फिल्मको पोस्टरले दर्शकको मन जितेको छ ।

पोस्टरमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र वर्षा शिवाकोटीको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ । यो फिल्मबाट निर्माण, निर्देशन र फिचर फिल्मको अभिनयमा बल्छी धुर्बेको डेब्यू हुँदैछ ।

 

 

नेपाली टेलिभिजन सिरियलका चर्चित कलाकार मरिचमान जो बल्छी धुर्बे नामले चर्चित छन्, यसमा उनी गोबर गणेशको शीर्ष भूमिकामा देखिएका छन् । चर्चित नेपाली थेगो र आहानलाई टपक्क टिपेर मरिचमानले कथा बुनेका मात्र छैनन्, टिभी सिरियलमा आफूले पस्किएको स्वादलाई फिल्ममा ल्याउने जमर्को गरेका छन् ।

तपाईंले हल्का रमाइलो, जुठेदेखि मेरी बास्सैजस्ता श्रृंखलामा देख्नुभएको बल्छी धुर्बेको आभा र स्वादलाई कथानक फिल्ममा देख्न सक्ने अपेक्षा छ । सार्वजनिक फिल्मको पहिलो पोस्टरले त्यसको संकेत गर्छ ।

‘गोबर गणेश’ को पोस्टरलाई दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा लगायत टिभी सिरिज हुँदै फिल्ममा स्थापित कलाकारले पनि सेयर गरेर साथ दिएका छन् । ‘पोस्टरको कमेन्ट पनि सकारात्मक छ, नयाँ चीज आयो भनेर’ प्रशंसाबाट हौसिएका निर्देशक तथा अभिनेता बल्छी धुर्बेले भने, ‘दर्शकले देखाउनुभएको यो प्रारम्भिक साथले मलाई खुसी दिएको छ ।’

पोस्टरमा महानगरको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे र वर्षा फिचर्ड छन् । पछिल्लो समय गाउँको कथा पर्दामा धमाधम आइरहेको बेला, के ‘गोबर गणेश’ ले सहरको कथा पस्किन लागेको हो ? गाउँको कथा हिट बनेका बल्छी धुर्बे अब सहरी परिवेशको पात्रमा देखिन लागेका हुन् ?

यी रहस्य थाहा पाउन फिल्म नै हेर्नुपर्छ ।

मरिचमान आफैलाई भुइँमान्छे भन्न रुचाउँछन् । उनले चर्चित धारावाहिक श्रृंखला ‘मेरी बास्सै’मा स्पटब्वाय प्राविधिकको रुपमा टेलिभिजन करिअर थालेका थिए । कालान्तरमा उनी चर्चित अभिनेताको रुपमा रुपान्तरित देखिए ।

उनले यो करिअरमा केदार घिमिर, सीताराम कट्टेल धुर्मुससँग पनि सहकार्य गरे । मेरी बास्सै, हल्का रमाइलोदेखि जुठेसम्म उनको करिअरले १५ वर्ष नाघेको छ । यसबीचमा, बागमतीमा धेरै पानी बगिसक्यो । यसबीचमा, मरिचमान बल्छी धुर्बेको रुपमा फिल्मसम्म आइपुगेका छन् । यस्तो लाग्छ, बल्छी धुर्बे ‘गोबर गणेश’ मार्फत हिट फिल्मको पर्खाइमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?