News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा उज्वल थापाको जीवन र राजनीतिक अभियान समेटिएको डकुमेन्ट्री 'दिमाग घोच्ने मान्छे'ले दर्शकलाई भावुक बनाएको छ।
- उज्वल थापाले विवेकशील नेपाली दलमार्फत स्थापित दलहरूको विकल्प प्रस्तुत गर्दै नयाँ राजनीतिक सोच अघि बढाएका थिए।
- डकुमेन्ट्रीले उज्वलको सामाजिक अभियान र वैकल्पिक राजनीतिको महत्वलाई उजागर गर्दै नयाँ पुस्तालाई प्रेरणा दिन्छ।
मैले काठमाडौंका फिल्म हलमा एकैसाथ यति धेरै मानिस रोएको कहिल्यै देखेको थिइनँ । फिक्सन फिल्ममा समेत नरोएका दर्शकलाई डकुमेन्ट्रीमै रुवाउने गरी यस्तो के उत्पात गरेछन् उज्वल थापाले !
विवेकशील नेपाली दल खोल्नुअघि आईटी उद्यमी थिए उज्वल थापा । त्यससँगै उनी कफी किसान बनेका थिए । काठमाडौंका रैथाने उज्वलसँग विदेशको शिक्षा, खान–लाउन पुग्ने आर्थिक पृष्ठभूमि थियो ।
कांग्रेस, एमाले, माओवादी जस्ता स्थापित पार्टीहरूले चलाएका राजनीतिक अभियानसँग उनको चित्त बुझिरहेको थिएन । उनी केही नयाँ गर्ने हुटहुटीमा थिए । विवेकशील नेपाली दलमार्फत कुकुर चिह्न लिएर चुनावमा उठ्नुभन्दा धेरै पहिलेदेखि नै उनको सोच सामान्य दिमागहरूभन्दा उल्टापुल्टा नै चल्थ्यो ।
काठमाडौं, धरान, धनगढीमा स्वतन्त्र उम्मेदवारहरूले स्थानीय चुनावमा मेयर जिते । मैले बालेनको विजय क्रममा एउटा लेख लेखेको थिएँ– बालेनले ल्याइरहेको शान्त आँधीमा एउटा मानिसको सम्झना ।
त्यो उनै उज्वलका लागि थियो ।
यसबीचमा बालेन रास्वपामा जोडिए भने हर्क साम्पाङ श्रम संस्कृति पार्टीमार्फत अभियान चलाउन थालेका छन् । स्वयं रास्वपाको जन्म साढे तीन वर्षअघि भयो । त्यसअघि नै थियो विवेकशील साझा पार्टी । यी सबैमा पितामह जसरी सम्झना गरिन थालिएको छ उज्वल थापालाई ।
कोभिडका कारण २०७८ जेठमा बितेका उज्वलले आफू जीवित छउन्जेल यति ठूलो कृतज्ञता एकै ठाउँ, एकैपल्ट पोखिएको सायद देख्न पाएनन् ।
प्रधानमन्त्री सुशीला कार्कीदेखि गायिका आनी छोइङ डोल्मासम्म, पूर्वमन्त्री सुमना श्रेष्ठदेखि रन्जु दर्शना, रामजी रामसम्म, सायद बाबुराम भट्टराईदेखि रवीन्द्र मिश्रसम्म अनि सिंगै हल– बुधबार साँझ ललितपुरस्थित लबिम मलमा रोइरहेको थियो । कतिपय ठाउँमा हाँस्ने, मुस्कुराउने, कृतज्ञ हुने क्षणहरू पनि थिए ।
अभियानी थिए उज्वल । लो प्रोफाइल मेन्टेन गरिहिँड्थे । काठमाडौं–५ मा चुनाव उठे, र ‘लडे ।’ स्थापित दलहरूको विकल्प सम्भव छ भन्दै उनी त्यसबेला अल्पसंख्यक आवाजसहित लडेका कारण नै आज धेरैले उठ्ने हिम्मत गरेका छन् ।
उज्वलले आफ्ना असफलताको सूची नै बनाएर सिभी बनाएका थिए । आफ्नो किताब ह्वाइ नेपाल ? मा यस्ता सूची नै उपलब्ध छन् ।
डकुमेन्ट्रीमा एक पात्रले मुखै फोरेर भन्छिन्– त्यसबेला विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भए पनि एउटा पक्षलाई चाँडो सत्ताशक्तिमा पुग्ने तिर्खा थियो, अर्को पक्षलाई सामाजिक अभियान चलाइराख्ने हुटहुटी।
कुनै बेला नेपाल बन्द छँदा दुई–चार युवा बोकेर नेपाल खुला छ भन्ने पोस्टर प्रदर्शन गर्दै हिँडेका थिए । ज्याला पूरा लियौ, अब संविधान देऊ भन्ने अभियान चलाएका थिए ।

दलको भ्रातृ संस्थामा आबद्ध नभएका यति धेरै युवालाई प्रश्न उठाउने स्कुल तयार पारेका थिए उज्वलले । अकुपाइ बालुवाटार जस्ता सामाजिक अभियानहरूलाई बिस्तारै राजनीतिक मुद्दाहरूमा केन्द्रित गर्न थाले । प्रधानमन्त्री सुशीला कार्कीले भने जस्तै प्रदीप गिरि, उज्वल थापा जस्ता सादगी अभियानीहरूको अभाव यो देशलाई सधैं खड्किन्छ ।
प्रदीप र उज्वल किनभने– दुवैजना अलग दल, अलग पुस्ताका थिए तर भविष्यको नेपालतर्फ दुवैको झुकाव थियो । इतिहास पढ्ने, तर इतिहासमा रमाएर बस्नेवाला थिएनन् उनीहरू ।
उज्वलले एउटा अन्तर्वार्तामा भनेका थिए– नेपालमा जुन शासकीय गतिरोध व्याप्त छ, अब आउने युवाहरूले यस गतिरोधको पर्खाललाई जगैदेखि भत्काएर फाल्नेवाला छन् ।
त्यो दिन २०८२ को भदौमा आएर छाड्यो । यद्यपि, प्रश्न बाँकी छ, जगैदेखि भत्कियो कि त्यो संरचना अझै बाँकी छ । तर युवाहरूले विद्रोह गरिछाडेको भने पक्का हो । लोकतन्त्र वा राष्ट्रियताको नाम दिएर कुशासनलाई छोप्न सम्भव छैन भनेर जेनजीले प्रमाणित गरे ।
विगतमा उज्वल थापासँग जोडिएका थुप्रै युवा अनुहारहरू यो विद्रोहको केन्द्रमा हुनु आफैंमा इतिहासको उपहार हो ।
समग्रमा, उज्वल थापालाई नेपाली भन्ने होइन, नेपाली बन्ने हुटहुटी थियो ।
कतिपयले उज्वल अनि विवेकशील नेपाली दललाई शहरीया उच्च वर्गको राजनीतिक उफान भनी उडाए पनि यथार्थमा बदलिँदो नेपाली समाजको जीवन्त आवाज त्यस भित्र लुकेको थियो भनी फिल्मले उजागर गरेको छ ।
सुदीप भाजुले निर्देशन गरेको रनटाइम ११० मिनेट भएको यो डकुमेन्ट्री फिल्म केही छोटो अवश्य हुन सक्थ्यो । उज्वलको जीवनयात्रासँग निर्देशक स्वयं मज्जाले प्रभावित देखिन्छन् । तर उज्वल, उनलाई बुझ्ने परिवार, जीवनसंगी एरिका, समवयी, अग्रज, अनि सामाजिक राजनीतिक अभियानीहरूको विचार बुझ्नका लागि पनि यो डकुमेन्ट्री तपाईंहरू अवश्य हेर्नुहोला ।
कुनै कुनै डकुमेन्ट्रीले हलकै विशेष समय माग गर्छन्, अनि व्यापक सामाजिक बहस पनि । ‘दिमाग घोच्ने मान्छे’ यस्तै एउटा प्रयास हो ।
डकुमेन्ट्री सकिँदा धेरै युवाहरूले पालैपालो भन्छन्, म उज्वल हुँ । उज्वल थापा बितेर गए पनि उनले छाडेका नेपालसम्बन्धी राष्ट्रिय धारणाले हामीलाई पनि म उज्वल हुँ भन्न मन लाग्ने गरी प्रभावित पार्छन् । उज्वलका सीमा अवश्य थिए । दुरदराजका बस्तीलाई उनले प्रभावकारी संवाद गर्ने गरी नबुझेका पनि हुन सक्छन् । तर तिनलाई काठमाडौं मात्रै नेपाल होइन भन्ने चेत प्रष्ट थियो भन्ने कुरा उनकै बुवाले फिल्ममा बोलेको संवाद सुन्दा लाग्छ ।
काठमाडौंमा जन्मे, हुर्केका उज्वलले आफूले बाँचेजति जीवनमा नेपाललाई जति बुझ्ने प्रयास गरे, त्यो हामी जोकोहीको प्रयासभन्दा बढ्ता थियो । फिल्मले हामीलाई यही सिकाउँछ ।
र, नयाँ वैकल्पिक राजनीतिको फल चाख्न पाइने बेला राजनीतिमा छिर्दै गरेका जोकोहीलाई उज्वलको बारेमा बनेको यो फिल्मले सिकाउँछ– बाली उठाउन मात्रै राजनीतिमा आएका हौ भने यो पेसा तिम्रा लागि होइन । तिमी अन्तैका लागि ठिक छौ ।
उज्वलले उद्यमशिलताको वकालत र सामाजिक सेवाको सन्तुलन मिलाएर राजनीतिक बाटो देखेका थिए । चन्दा उठाएर, नेपाल बन्द गरेर, निषेधकारी राजनीति गरेर माथि जाने सटकट रोजेका थिएनन् । दिमाग घोच्ने मान्छे फिल्मले यही विचारको प्रखर वकालत गर्छ ।
प्रतिक्रिया 4