+
+
Shares

४ महिना पार्टी कोमामा थियो, लयमा फर्काएकोमा महामन्त्रीद्वयलाई सम्मान : चन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १६:२८

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले विशेष महाधिवेशनमार्फत परिवर्तित समयअनुसार पार्टीको समस्या समाधान गर्दै देश र जनताको हितमा काम गर्नसक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति चन्दले पार्टीभित्रका समस्या समाधान गर्ने नीति र समयअनुसार चल्नसक्ने नेतृत्व चयन गरिनुपर्ने बताएका हुन् ।

विगत चार महिना कांग्रेस कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै पुनर्जीवित बनाउन भुमिका खेल्ने सबैलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।

‘झन्डै चार महिना नेपाली कांग्रेस कोमामा थियो । कोमामा रहेको नेपाली कांग्रेसीलाई वायु दिएर जसले पुनर्जीवित गर्ने प्रयास गर्नुभयो सबैलाई सम्मान गर्दछु । अब नेपाली कांग्रेस यो देशको अभिभावक पार्टी बन्दैछ । इतिहासमा सधैं यो देशलाई अभिभाकत्व दिएको पार्टी विगत चार महिनामा पछारिएको थियो, लछारिएको थियो त्यसलाई लयमा फर्काउने अभियानका अभियन्ता महामन्त्रीद्वयलाई सम्मान गर्न चाहन्छु,’ उनले भने ।

मुलुकले ठूलो परिवर्तन खाजेको भएपनि अन्य दुई ठुला दलहरू समयसापेक्ष रुपमा चल्न नसकेको पनि आरोप पनि उनले लगाए ।

‘देशले ठूलो परिवर्तन खोजेको छ । अन्य दुई ठूला दलहरूले परिवर्तनको आवाज दिन सकेन । समयसापेक्ष मुलुकलाई अगाडि बढाउन नेपाली कांग्रेसले मात्र सक्छ भन्ने अठोट र विश्वासका साथ हामी यहाँ आएका छौं । कांग्रेसभित्रका सबै विकृतिहरूको अन्त्य हुने गरेर यो विशेष महाधिवेशन नीति पास गरोस् । परिवर्तित समयअनुसार पार्टीलाई अगाडि बढाउँदै मुलुकको हितका लागि लागिपर्ने नेतृत्व चयन गरौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?