News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलको पहिलो संस्करणको हिसाबकिताब सार्वजनिक हुन ६-८ महिना ढिला भएको स्वीकार गरे।
- क्यानले गत बिहीबार बोर्ड बैठकपछि हिसाबकिताबको केही विवरण सार्वजनिक गर्दै २ करोड ४६ लाख आम्दानी भएको खुलाएको छ।
- चन्दले नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा छनोट हुने विश्वास रहेको बताए।
१८ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणको हिसाबकिताब सार्वजनिक हुन ढिलाई भएको स्वीकारेका छन् ।
कैलालीको धनगढीमा आइतबार आयोजित एक कार्यक्रममा कुरा गर्दै चन्दले यस्तो बताएका हुन् । उनले एनपीएलको हिसाब सार्वजनिक हुन केही ढिला अवश्य भएको तर त्यसले सबै कुरा बिग्रिएको भन्नु चाहिँ जायज नहुने धारणा राखे ।
‘हिसाबकिताबको कुरा अलि ढिला चाहिँ भएको हो, ६-८ महिना ढिला भएको हो, यसको अर्थ हिसाबकिताब ढिला हुँदैमा सबै कुरा बिग्रेको भन्ने होइन’ उनले भने ।
‘बोर्डका केही साथीहरूले चाहिँ अध्ययन गरेर सुझाव दिनका लागि हामीलाई समय चाहिन्छ भनेर भन्दै गर्दा यसलाई अलिकति अध्ययनको समय दिएर अर्को बैठकमा पारित गर्ने गरी उहाँलाई चाहिँ समय दिएका हौं’ चन्दले अगाडि थपे ।
क्यानले गत बिहीबार बोर्ड बैठकपछि हिसाबकिताबको केही विवरण सार्वजनिक गर्दै क्यानलाई २ करोड ४६ लाख आम्दानी भएको खुलाएको थियो । उक्त कुरा पनि अनुमोदन हुन भने बाँकी छ ।
चन्दले एनपीएलको दोस्रो सिजनको तयारी सुरु भइसकेको बताए । ‘एनपीएलको अहिले पुरानै कमिटीले काम गरिरहेको छ। बोर्ड बैठक बाट अझै यसलाई चाहिँ द्रुत गतिमा अगाडि बढाउने, एनपीएल गभर्निङ काउन्सिलमा पनि अलिकति समावेशीता गर्ने लगायतका कुरा छन्’ उनले भने ।
त्यस्तै चन्दले नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा छनोट हुने विश्वास रहेको पनि उल्लेख गरे । ‘अहिल्यै ओभर कन्फिडेन्ट त नभनौं, हामीले गरेको तयारीका आधारमा चाहिँ हामी वर्ल्ड कप खेल्छौं भन्ने हो’ चन्दले भने ।
उनले यसपटकदेखि एसिया र इस्ट एसिया पेसिफिक छनोट संयुक्त रूपमा गर्ने कुरा पनि आफूहरूको प्रयासबाट भएको उल्लेख गरे । ‘पहिला एशिया पेसिफिक बाट एउटा अनि एसियाबाट दुइवटा टिम हुन्थ्यो। एक वर्ष पहिला हामी चाहिँ आइसीसीको श्रीलंका एजीएममा जाँदाखेरि हामीले एसियाका साथीहरूसँग कुरा गरेर हामीले चाहिँ एपी र एशियालाई एउटै बनायौं’ उनले भने, ‘किनभने त्यहाँ कम्पिटिसन थोरै थियो, अटोमेटिकली पीएनजी परिराखेको अवस्था भएको हुनाले एसियाबाट बढी प्रतिनिधित्व हुनुपर्यो भनेर त्यो गर्दाखेरि त्यसमा पनि मेरो पनि धेरै थोरै भूमिका थियो होला।’
प्रतिक्रिया 4