२८ पुस, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताएका छन् ।
आयोगले सोमबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले शान्ति सुरक्षाबारे आशंका गर्नु नपर्ने बताएका हुन् ।
निर्वाचनमा शान्ति सुरक्षाका लागि करिब साढे पाँच लाख जनशक्ति परिचालन गरिने उनले जानकारी दिए ।
उनले २०४८ सालपछिका सबै निर्वाचन विभिन्न चुनौतीका बीच सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख गर्दै आगामी निर्वाचनललाई पनि भयरहित ढंगले सम्पन्न गर्ने बताए ।
विगतमा पनि निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने बहस निर्वाचनको अघिल्लो दिनसम्म हुनेगरेको उल्लेख गर्नुहुँदै उनले निर्वाचनबाहेक अर्को विकल्प नभएकाले तोकिएको समयमा नै निर्वाचन हुने बताए ।
निर्वाचन आयोगले शान्ति सुरक्षाको विषयमा सरकारका मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूसँग पटक–पटक छलफल गरिसकेको उनले जानकारी दिए ।
सरकार र सुरक्षा निकायका प्रमुखहरूले शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति दिएकोले यस विषयमा अब शंका–उपशंका गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
उनले विगतमा पनि निर्वाचन बिथोल्ने शक्ति र हतियार बाहिर भएको अवस्थामा पनि निर्वाचन गराएको स्मरण गरे । अहिले त्यस्तो गम्भीर खतरा आयोगले महशुस नगरेको उनको भनाइ छ ।
उनले निर्वाचनको व्यवस्थापनसम्बन्धी सम्पूर्ण काम आयोगले सम्पन्न गरेको पनि जानकारी दिए ।
हाल राष्ट्रिय सभा सदस्यको निर्वाचन, प्रतिनिधिसभाको समानुपातिक र प्रत्यक्ष तहको गरी ३ किसिमका निर्वाचनमा आयोग एकसाथ लागेको उनको भनाइ छ ।
उनले द्वन्द्व र अस्थिरता भोगेको समाजलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढंगबाट निर्वाचन गराएर लोकतान्त्रिक बाटोमा ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
प्रतिक्रिया 4