२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टी गम्भीर अवस्थामा भएकाले विधि अनुसार अघि बढ्नुपर्ने बताएका छन् ।
महाराजगञ्जस्थित सभापति शेरबहादुर देउवासँग भेटपछि उनले यस्तो बताएका हुन् । देउवा निवासमा निरन्तर नेताहरू छलफलमा जुटिरहेका छन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले भने, ‘अहिले मुलुक गम्भीर अवस्थामा छ । पार्टी पनि त्यतिकै गम्भीर अवस्थामा छ । पार्टीको एउटा विधि अनुसार स्थापित मान्यता छन् । त्यस अनुसार पार्टी अघि बढ्नुपर्छ ।’
केन्द्रीय कार्यसम्पादन समिति बैठकले नै विशेष महाधिवेशनको सान्दर्भिकता नरहेको भन्दै उनले वैशाखकै महाधिवेशनमा केन्द्रित हुन पनि आग्रह गरे ।
‘जुन अहिले विशेष महाधिवेशन छ, हाम्रो केन्द्रीय कार्यसम्पादन समितिले यसको सान्दर्भिकता छैन र नियमित महाधिवेशन अहिले चुनावको संघारमा छौं, मुलुकलाई स्थिरता दिने निर्वाचन हो,’ उनले भने, ‘निर्वाचनपछि वैशाखमा हाम्रो नियमित महाधिवेशन पास गरिसकेको हुनाले त्यही अनुसार पार्टी अघि बढ्छ ।
साथै, सहमति र एकताको ढोका सधैं खुला गरिएको उनले बताए ।
‘हामी संस्थापन पक्ष सहमति संवाद र एकताको ढोका सधैं खुला छ । आज पनि कार्यबाहक सभापतिको नामबाट अपिल प्रकाशित भएको छ,’ उनले भने, ‘फेरि पनि भन्न चाहन्छु, पार्टीलाई एकजुट बनाएर देशलाई अहिलेको संकटबाट मुक्त गरेर जनताको चाहना अनुसार अघि बढाउन कांग्रेस एकजुट भएर अघि बढ्नुपर्छ ।’
प्रतिक्रिया 4