२९ पुस, काठमाडौं । पार्टी रुपान्तरणको एजेण्डामा संस्थापन पक्ष तयार नभएपछि बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले बोलाएको विशेष महाधिवेशन निर्णायक मोडतर्फ अघिबढेपछि अब कांग्रेस विभाजनको संघारमा पुगेको छ ।
महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा पेश गरेको पार्टीको आम संरचनात्मक सुधार लागयतका प्रस्ताव मंगलबार साँझ पारित भएका छन् । यी प्रस्ताव पारित हुँदै गर्दा महामन्त्री गगन थापाले आफूहरु विद्रोहमा सामेल भएकाले अब यही सन्देश लिएर जाने उद्घोष गरेका छन् ।
उनले अब कुनै पनि निर्णयहरू जारी महाधिवेशनको हल भन्दा बाहिरबाट नहुने भन्दै बाहिर चलिरहेको सहमतिको कोशिसले निष्कर्षमा पुन जटिल रहेको संकेत गरेका छन् ।
यता अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई कांग्रेसको भावी नेतृत्व र भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेका छन् । उनले पार्टी नवीन उर्जा लिएर आउने पनि उद्घोष गरेका छन् ।
विशेष महाधिवेशनमा बन्दसत्र चलिरहँदा मंगलबार दिउँसोबाट नै नेतृत्व चयनको लागि चुनावी प्रक्रिया अघि बढेको छ । नेतृत्वदायी पदमा आउनका लागि आकांक्षीहरूले फारम लिइरहेका छन् ।
महामन्त्री थापाले विशेष परिस्थितिमा अहिले विद्रोह अन्तर्गत महाधिवेशन भएकाले नेतृत्वका आकांक्षीहरूलाई अहिले उदार बन्न अपिल गरेका छन् ।
‘अब प्रक्रिया अघि बढिसकेको छ । कसैले यसलाई दखल अन्दाज गर्न मिल्दैन । हामीले छोटो समयका लागि यो नेतृत्व हाँक्ने हो । यसपछि नियमित महाधिवेशन गर्ने हो । यो बेलामा यो आन्दोलन अभियान र विद्रोह हो । सबैले म यो पदमा जानुपर्छ भन्ने सोच्न छोड्दिनुभयो भने यहाँ आउनुको अभियानको सार्थकता हुन्छ’ महामन्त्री थापाले महाधिवेशन प्रतिनिधिहरूलाई भने ।

संस्थापन पक्षसँग सहमतिका लागि सोमबार दिउँसोबाट नै प्रयास भएको थियो । आज दिनभर पनि संस्थापन पक्ष, शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षधरहरूबीच वार्ता भएको थियो । तर वार्तामा संस्थापन पक्ष विशेष महाधिवेशन पक्षधरहरूले राखेको प्रस्तावमा टसमस भएन ।
विशेष महाधिवेशन पक्षधरले पार्टी सुधारका प्रस्तावहरू पारित गर्नुपर्ने, शेरबहादुर देउवाले सभापति छोड्नुपर्ने, महाधिवेशनलाई स्वामित्व लिएर जानुपर्ने लगायतका प्रस्तावहरू राखेका थिए । तर यो प्रस्तावमा संस्थापन पक्ष तयार भएन ।
महाधिवेशनलाई नै संस्थापन पक्षले अवैधानिक भन्दै आएको छ । कांग्रेसले मंगलबार दिउँसोका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो । यता विशेष महाधिवेशन पक्षधरले के गर्छन् भन्ने पर्ख र हेरको नीतिमा रहेर संस्थापन पक्षका नेताहरूले बैठक गरेनन् । साँझ छोटो समयका लागि बैठक राखेर बुधबार बिहानका लागि बैठक सारिएको छ ।
यता विशेष महाधिवेशन पक्षधरहरूले पनि संवादलाई टुटाएका चाहिँ छैनन् । विशेष महाधिवेशन पक्षधरबाट गुरुराज घिमिरे, प्रदीप पौडेल, देवराज चालिसेले कुरा गरिरहेका छन् । तर, कुराकानी महाधिवेशनलाई अल्झाउने खालको रणनीतिमा मात्र केन्द्रित भएको देखिएपछि विशेष महाधिवेशन आफ्नो प्रक्रियामा भने रोकिएको छैन ।
मंगलबार विशेष महाधिवेशनस्थलमा वार्ताको नाममा अल्झिन नहुने भन्दै प्रतिनिधि र समर्थकहरूले नाराबाजी समेत गरेका थिए । यस कारण पनि अब विशेष महाधिवेशन नीति र नेतृत्वबारे निर्णय नगरी नहुने विन्दुमा पुगेको छ । नीतिबारे त दुई जना महामन्त्रीहरू प्रस्ताव पारित भएपछि टुंगिइनै सकेको छ । अब नेतृत्वबारे भने बुधबार टुंगो लाग्दै ।
यो बीचमा रातारात संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरको माग पुरा गर्ने गरी कुनै स्वीकार्य प्रस्ताव ल्याउला कि भन्ने झिनो आश त छ । तर विभाजनको स्पष्ट रेखा कोरिइसकेकाले सामान्य प्रस्तावले अब रोक्ने जस्तो देखिएको छैन ।
विशेष महाधिवेशनले कस्तो स्टेप चाल्छ त्यसको आधारमा महाधिवेशन आयोजनकहरूलाई के गर्ने भन्ने संस्थापन पक्षको रणनीति देखिन्छ । पार्टी कार्यालयमा पुगेका संस्थापन निकट केही नेताहरूले अब प्रक्रिया गगन थापा लगायतका नेताहरूलाई कारबाही निर्णय हुनसक्ने बताएका छन् । आज राती नै कुनै सहमतिको विन्दु नभेटे भोलि बस्ने बैठकले त्यो निर्णय गर्न सक्छ ।
प्रतिक्रिया 4