News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय बढी प्रतिनिधि सहभागी भएर नीति र नेतृत्व परिवर्तनमा सामूहिक छलफल भइरहेको छ।
- महाधिवेशनले वर्तमान केन्द्रीय समिति विघटन गरी नयाँ कार्यसमिति चयन गर्ने प्रस्ताव पेस गरेको छ।
- महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई नेतृत्व सम्हाल्न दबाब दिँदै पुस्तान्तरण र समन्वय आवश्यक रहेको प्रतिनिधिहरूले बताएका छन्।
२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पछि नहट्न बन्दसत्र हलबाट दबाब बढाएका छन् ।
बन्दसत्रमा नीति र नेतृत्वबारे सामूहिक छलफल चलिरहेको छ । छलफलमा पार्टीमा पुस्तान्तरण र हस्तान्तरण हुनुपर्नेमा प्रतिनिधिहरू एकमत छन् ।
‘हलले नेतृत्व परिवर्तन भनिरहेको छ । अग्रजलाई पाखा नलगाई जेनजीलाई सम्बोधन गरेर नेतृत्व चयन हुनुपर्छ । कांग्रेसलाई जोगाउन यतिबेला सबै पक्षको समन्वय आवश्यक छ,’ झापाबाट आएकी प्रतिनिधि चन्द्राकुमारी खड्काले भनिन्, ‘पार्टीलाई सक्षम बनाउन गगन-विश्व अगाडि बढ्नुपर्छ । बन्दसत्र हलले यही चाहेको छ ।’
जेनजी आन्दोलनपछि स्थिति बदलिएकाले नयाँ नेतृत्वसहित कांग्रेस चुनावमा होमिनुपर्ने धारणा प्रतिनिधिको छ । ‘निर्वाचनमा जाँदा परिवर्तनको आभास दिनुपर्छ,’ उनले भनिन् ।
महाधिवेशन प्रतिनिधि नीति र नेतृत्व नै परिवर्तनको पक्षमा उभिएका छन् । ‘नीति पनि नयाँ र नेतृत्व पनि नयाँ हुनुपर्छ । सधैं एउटै अनुहार भयो । जेनजी आन्दोलले पनि परिवर्तन खोजेको छ,’ सोलुखुम्बुबाट आएका मनोज खड्काले भने, ‘यो बन्दसत्रको हलमा पुस्तान्तरणको आवाज उठिरहेको छ । महामन्त्रीद्वयले नेतृत्व सम्हाल्नुपर्छ । उहाँहरूलाई अब ब्याक हुने छुट छैन ।’
नयाँ-पुराना र जेनजीको मिश्रित अवधारणामा नेतृत्व चयन हुनुपर्ने मत पनि हलमा जाहेर भइरहेको छ ।
बाग्लुङबाट आएका महासमिति सदस्य सीताराम रसाइली भने यो विशेष महाधिवेशनले नीति र नेतृत्वमाथि बहस गरिरहेकोले अहिले नै निचोडमा पुग्न हतार हुने बताउँछन् । उनका अनुसार अहिले वार्ता र संवाद चलिरहेकाले कोर्स कता अघि बढ्छ थाहा छैन ।

‘अहिले महामन्त्रीको प्रतिवेदन आएको छ । त्यसमै हाम्रो छलफल हुन्छ । यो विशेष महाधिवेशनले नीति त फेर्छ नै, नयाँ नेतृत्व छान्ने सम्भावना पनि धेरै छ,’ उनले भने ।
देश-विदेशबाट आएका यत्रा प्रतिनिधिको महत्त्व बुझेर ससम्मान विशेष महाधिवेशनमा नआएकाहरूलाई पनि सहभागी हुन रसाइलीले अनुरोध गरे ।
उनले भने, ‘यत्रा मान्छे आएका छौँ । यहाँ नेताभन्दा नीतिको विषयमा धेरै छलफल छ । नेतृत्वको हकमा कसरी अघि बढ्छ थाहा छैन । जेहोस् सकेसम्म सबै पक्षलाई मिलाएर लानुपर्नेमा हाम्रो जोड छ ।’
कुवेतबाट विशेष महाधिवेशनको लागि भृकुटीमण्डपमा आइपुगेका छन्, महासमिति सदस्य/महाधिवेशन प्रतिनिधि राजेन्द्र रसाइली । उनी पार्टीले विशेष अवस्थामा विशेष महाधिवेशन बोलाएकाले छुट्टि लिएरै काठमाडौं आइपुगेका हुन् ।
उनका अनुसार हलले जसरी पनि नीति र नेतृत्व बदल्नुपर्छ । सोहीअनुसार बन्दसत्रमा छलफल पनि भइरहेको छ । जे भनेर हस्ताक्षर गरेर आह्वान गरियो, त्यहीअनुसार अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ ।
‘नीति र नेतृत्व बदलिनुपर्छ भनेर विशेष महाधिवेशन माग गरिएको हो । जति पनि विश्वभरका प्रतिनिधि छौँ, यसकै लागि आएका हौँ,’ उनले भने, ‘पार्टी फुट्ने सम्भावना छैन । भरसक सहमति गरेरै जानुपर्छ । तर उहाँहरू (देउवा पक्षधर) यता आएर यत्रा प्रतिनिधिको सम्मान गरिदिनुपर्छ र एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’
के हुँदैछ बन्दसत्रमा ?
बन्दसत्रमा नयाँ कार्यसमिति चयनको प्रस्ताव पेस भइसकेको छ । वर्तमान केन्द्रीय समिति विघटन भएको छ । यसले नयाँ नेतृत्व चयनको बाटो खुलेको छ ।
कांग्रेसको चौधौं महाधिवेशन २०७८ (मंसिर २४ देखि २८) बाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकोले समिति विघटन गर्ने र नेपाली कांग्रेसको १५औं महाधिवेशन सम्पन्न नहुँदासम्मको लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचनको प्रस्ताव पेस भएको हो ।
समसामयिक राजनीतिक समीक्षा, राजनीतिक तथा पार्टीको नीति, विधानमा आवश्यक संशोधन, परिमार्जन र पार्टीको संरचनागत र सांगठनिक सुधारको प्रस्ताव पनि पेस भएको छ ।

बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक र गगन थापाले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बन्दसत्रमा २६ सय बढी प्रतिनिधि रहेको आयोजक कमिटीले जनाएको छ । तर ५९.२ प्रतिशत प्रतिनिधि सहभागी भएको कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको दाबी छ ।
‘हिजो उद्घाटनमा ठूलो उत्साह देखियो । दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म मान्छे बसे । त्यो नै पुनर्जागरण हो, ‘केसीले भने, ‘महाधिवेशनमा ५९.२ प्रतिशत प्रतिनिधि सहभागी छन् । अब नीति र नेतृत्वबारे महाधिवेशनले निर्णय गर्छ ।’
वैधानिकतामा प्रश्न उठेको छ नि भन्ने प्रश्नमा केसीले विशेष महाधिवेशन वैधानिक र विधिसम्मत भएको दाबी गरे ।
तस्वीरहरू: विकास श्रेष्ठ/अनलाइनखबर





प्रतिक्रिया 4