+
+
Shares

निर्वाचनपूर्व गठबन्धन खारेज गर्ने गगनको उद्घोष

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले निर्वाचन अघि गरिने गठबन्धनलाई खारेज गर्ने उद्घोष गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनअघि गरिने गठबन्धनलाई खारेज गर्ने उद्घोष गरेका छन्।
  • कांग्रेसको दोस्रो विशेष अधिवेशनमा निर्वाचनपूर्व गठबन्धन संस्कृतिलाई अन्त्य गर्ने प्रस्ताव पारित भएको छ।
  • कांग्रेसले भविष्यमा हुने आवधिक निर्वाचनहरूमा निर्वाचनपूर्व गठबन्धन नगर्ने र आफ्नै मतदातामा निर्भर रहने निर्णय गरेको छ।

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले निर्वाचन अघि गरिने गठबन्धनलाई खारेज गर्ने उद्घोष गरेका छन् ।

कांग्रेसको काठमाडौंमा जारी दोस्रो विशेष अधिवेशनको दोस्रो दिन सोमबार समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले निर्वाचनपूर्व गठबन्धन संस्कृति अन्त्य गर्ने उद्घोष गरेका हुन् ।

‘पार्टीका आदर्श र सिद्धान्तलाई तिलाञ्जली दिएर राजनीतिलाई केवल सत्ता प्राप्ति र शक्तिको स्वार्थमा केन्द्रित गर्ने, सत्तालाई नै एकमात्र लक्ष्य ठान्ने र चुनाव जित्नुलाई नै अन्तिम विजय मान्ने चरम सत्तालिप्सा र सिद्धान्तहीन प्रवृत्तिलाई हामी पूर्णतः अस्वीकार गर्दछौँ,’ प्रस्तावमा अगाडि भनिएको छ ।

२०८० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट निर्वाचन अगाडिको गठबन्धनका सन्दर्भमा पारित नीतिलाई स्मरण गर्दै प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचनपूर्वको गठबन्धन संस्कृतिले पार्टीको आदर्श, लोकतान्त्रिक विचार र सङ्गठनलाई थप क्षति पुग्ने तथ्यलाई मनन गर्दै, पार्टीका सदस्य, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई विश्वास दिलाउँदै नेपाली कांग्रेसले भविष्यमा हुने आवधिक निर्वाचनहरूमा निर्वाचनपूर्व गठबन्धन गर्ने छैन।’

कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा एमालेसँग चुनावी गठबन्धनको लागि संवादमा रहेको खबर बाहिरिएको बेला कांग्रेस विशेष महाधिवेशनले चुनावी गठबन्धन नगर्ने संकल्प गरेको हो ।

के छ गगनको प्रस्तावमा ?

मूल्यमा आधारित राजनीति: निर्वाचनपूर्व गठबन्धन संस्कृतिको अन्त्य

नेपाली कांग्रेसको पहिचान भनेकै मूल्य र मान्यतामा आधारित राजनीति हो। नेपाली कांग्रेसले ३० वर्षसम्म सत्ताभन्दा बाहिर बसेर पञ्चायतसँग लड्यो, १० वर्षे हिंसात्मक द्वन्द्वमा सबै कुरा गुमाउन तयार भयो, तर आफ्नो मूल्य मर्न दिएन। जनमत सङ्ग्रहमा षड्यन्त्रपूर्वक पराजित गराइएको परिणामलाई समेत स्वीकार गर्‍यो, तर आफ्नो सिद्धान्तमा कहिल्यै सम्झौता गरेन।

तर पछिल्लो समय जसरी नेपाली कांग्रेस उद्देश्यविहीन सत्ता र शक्ति केन्द्रित राजनीतिमा रुमलियो, त्यसले ‘नेपाली कांग्रेस हुनु’ को सान्दर्भिकतामाथि नै गम्भीर प्रश्न उठ्ने परिस्थिति सिर्जना भयो। पार्टीका आदर्श र सिद्धान्तलाई तिलाञ्जली दिएर राजनीतिलाई केवल सत्ता प्राप्ति र शक्तिको स्वार्थमा केन्द्रित गर्ने, सत्तालाई नै एकमात्र लक्ष्य ठान्ने र चुनाव जित्नुलाई नै अन्तिम विजय मान्ने चरम सत्तालिप्सा र सिद्धान्तहीन प्रवृत्तिलाई हामी पूर्णतः अस्वीकार गर्दछौँ।

निर्वाचनमा विजय हासिल गर्ने प्रयोजनका लागि वा पराजित हुने त्रासले जोसँग जहाँ र जहिले पनि गठबन्धन वा सहकार्य गर्ने र अर्को पार्टीलाई मत माग्ने प्रवृत्तिको हामी अन्त्य गर्दछौँ र यसलाई खारेज गर्दछौँ।

नेपाली कांग्रेस दृढ संकल्प गर्दछ कि— कुनै पनि निर्णय गर्दा तत्काल जस्तोसुकै अप्ठ्यारा र चुनौती आए पनि वा पार्टीले क्षति नै व्यहोर्नु परे पनि लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र विधिको शासन लगायतका आधारभूत मान्यतामा कहिल्यै सम्झौता गरिने छैन।

२०८० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट निर्वाचन अगाडिको गठबन्धनका सन्दर्भमा पारित नीतिलाई स्मरण गर्दै नेपाली कांग्रेस दृढ संकल्प गर्दछ:

‘निर्वाचनपूर्वको गठबन्धन संस्कृतिले पार्टीको आदर्श, लोकतान्त्रिक विचार र सङ्गठनलाई थप क्षति पुग्ने तथ्यलाई मनन गर्दै, पार्टीका सदस्य, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई विश्वास दिलाउँदै नेपाली कांग्रेसले भविष्यमा हुने आवधिक निर्वाचनहरूमा निर्वाचनपूर्व गठबन्धन गर्ने छैन।’

हामी आफ्नै जनता र पार्टीको शक्तिको आधारमा एक्लै लड्नेछौँ र आफ्ना मतदातालाई हाम्रो चुनाव चिह्न ‘रुख’ मा मात्रै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ। नेपाली कांग्रेस चुनाव जित्न मात्र होइन, जित्न योग्य भएर चुनाव लड्नेछ। जसरी पनि जित्ने होइन, ‘सही बाटो हिँडेर जित्ने’ नीति नै नेपाली कांग्रेसको गौरवशाली विगत हो र त्यही नै भविष्यको संकल्प पनि हो। त्यो बाटो कठिन छ भने पनि नेपाली कांग्रेसले सजिलो सम्झौता होइन, सही विकल्प रोज्नेछ। अब नेपाली कांग्रेसले सत्ता र लेनदेनको राजनीति त्यागेर आदर्श, सिद्धान्त र मूल्यमा आधारित राजनीति गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?