+
+
Shares

भागदौड घटनाबारे तमिल सुपस्टार विजयले सीबीआईसँग के भने ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १९:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण भारतीय सुपरस्टार विजय सोमबार दिल्लीस्थित सीबीआई मुख्यालयमा करुर भागदौड प्रकरणमा बयान दिन पुगेका छन्।
  • विजयले भागदौड मच्चिनुमा आफू र आफ्नो पार्टी टीभीकेको कुनै संलग्नता नरहेको बताएका छन्।
  • सीबीआईले घटनाको अनुसन्धान गर्दै विजय र अन्य टीभीके पदाधिकारीहरूको बयान मिल्ने नमिल्ने जाँच गरिरहेको छ।

२८ पुस, दिल्ली । दक्षिण भारतीय सुपरस्टार तथा तमिलगा वेत्रि कझगम (टीभीके) का अध्यक्ष विजय सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) मा उपस्थित भएका छन् ।

तमिल सुपरस्टार विजय करुर भागदौड प्रकरणमा बयान दिन दिल्लीस्थित सीबीआईको केन्द्रीय मुख्यालय पुगेका हुन् ।

२७ सेप्टेम्बर २०२५ मा विजयले पार्टी घोषणा गर्न आयोजित वृहत् सभामा भागदौड मच्चिएको थियो । उक्त घटनामा ४१ जनाको मृत्यु भएको थियो भने ६० भन्दा बढी घाइते भएका थिए ।

चार्टर्ड विमानमार्फत् सोमबार सीबीआई मुख्यालय पुगेका विजयले बयानका क्रममा भागदौड मच्चिनुमा आफ्नो संलग्नता नरहेको भन्दै आरोप अस्वीकार गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साथै उनले घटनामा आफ्नो पार्टी टीभीके र पदाधिकारीको पनि भूमिका नरहेको बताएका छन् ।

विजयका समर्थकहरूको सम्भावित भीडलाई ध्यानमा रार्ख्दै सीबीआई मुख्यालय बाहिर बाक्लो मात्रामा दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

दक्षिण भारतमा अपार चर्चा कमाएका विजय उक्त पार्टी घोषणा सभामा हजारौं मानिस उपस्थित भइसक्दा पनि ढिलो पुगेका कारण भागदौड मच्चिएको आरोप लागेको थियो ।

उक्त आरोपमा जवाफ दिँदै सीबीआईसँग विजयले भनेका छन्, ‘कार्यक्रम स्थलमा मेरो उपस्थितिले झन् भागदौड र विवाद बढ्न सक्ने महसुस भएपछि म त्यहाँबाट बाहिरिएको हुँ ।’

यसअघि सीबीआई घटनाबारे बयानका लागि बोलाउँदा टीभीके पदाधिकारीहरूले पनि सोही अडान लिएका थिए । तर, घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूले पनि विजय सभामा ढिला पुग्दा भागदौड भएको निष्कर्ष उच्च अधिकारीहरू समक्ष राख्दै आएका छन् ।

सीबीआईले अनुसन्धान अधिकृतको विवरणसँग अभिनेता विजय र उनका पार्टीका अन्य पदाधिकारीहरूको बयान मिल्ने नमिल्ने जाँच गरिरहेको जनाएको छ ।

विजयसँगै पार्टी नेता आधव अर्जुन र निर्मल कुमार पनि सीबीआई मुख्यालय पुगेका थिए ।

सर्वोच्च अदालतको आदेश अनुसार पूर्वन्यायाधीश अजय रस्तोगीको निगरानीमा घटनाको छानबिन भइरहेको छ ।

घटनाको सोधपुछका लागि पूर्व एडीजी एस. डेविडसन देवासिरवाथमलाई पनि चाँडै सोधपुछका लागि बोलाउने सम्भावना रहेको बताइएको छ ।

यसअघि सीबीआईले यस प्रकरणमा टीभीकेका अन्य पदाधिकारीहरूसँग पनि सोधपुछ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?