२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ राजनीतिक दलहरूलाई लक्षित गर्दै लोकतन्त्र कुनै चमत्कार नभएको बताएका छन् ।
कांग्रेसको काठमाडौंमा जारी दोस्रो विशेष अधिवेशनको दोस्रो दिन सोमबार समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक संस्था सक्षम र सबल हुनुपर्नेमा जोड दिएका हुन् ।
उनले प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी र यसका नेताहरू रवि लामिछाने र बालेन शाहको नाम उल्लेख नगरीकन प्रियतावादको चुनौती सामना गर्दै उदार लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको रहेको बताएका छन् ।
‘विश्वव्यापी रूपमा देखिएको पपुलिजम र अराजकतावादको लहरपछि नेपालमा पनि प्रवृत्ति र पात्रहरूले लोकतान्त्रिक प्रणाली, उदारवाद, बहुलवादी सिद्धान्त तथा मूल्य र मान्यताको अवमूल्यन गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ’ उनले भनेका छन्, ‘यस्ता पात्र र प्रवृत्तिहरूले गर्दा लोकतान्त्रिक प्रणाली र संस्थालाई बलियो बनाएर होइन चमत्कारबाट हुन्छ भन्ने भ्रम सिर्जना भइरहेको छ।’
प्रतिवेदनमा अगाडि भनिएको छ, ‘यस्तो प्रवृत्तिलाई रोकी उदार तथा समावेशी लोकतन्त्र र बहुलवादी समाजको संवर्द्धन र प्रवर्द्धन गर्नु नेपाली कांग्रेसको ऐतिहासिक दायित्व हो । लोकतन्त्र भनेको चमत्कार होइन, यो प्रणाली, पद्धति र प्रक्रिया हो ।’
पपुलिजम (प्रियतावाद ) को चुनौती सामना गर्दै उदार लोकतन्त्रको रक्षा भन्ने शीर्षकमा उनले यसबारे प्रतिवेदन पेस गरेका हुन् ।
यस्तो छ उनको भनाइ
विश्वव्यापी रूपमा देखिएको पपुलिजम र अराजकतावादको लहरपछि नेपालमा पनि प्रवृत्ति र पात्रहरूले लोकतान्त्रिक प्रणाली, उदारवाद, बहुलवादी सिद्धान्त तथा मूल्य र मान्यताको अवमूल्यन गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यस्ता पात्र र प्रवृत्तिहरूले गर्दा लोकतान्त्रिक प्रणाली र संस्थालाई बलियो बनाएर होइन चमत्कारबाट हुन्छ भन्ने भ्रम सिर्जना भइरहेको छ।
यस्तो प्रवृत्तिलाई रोकी उदार तथा समावेशी लोकतन्त्र र बहुलवादी समाजको संवर्द्धन र प्रवर्द्धन गर्नु नेपाली कांग्रेसको ऐतिहासिक दायित्व हो । लोकतन्त्र भनेको चमत्कार होइन, यो प्रणाली, पद्धति र प्रक्रिया हो । लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक संस्था सक्षम र सबल हुनुपर्छ र सरकार र राजनीतिक पार्टीहरू जनताप्रति उत्तरदायी हुनुपर्छ । लोकतान्त्रिक संस्थाहरू कार्यमूलक र प्रभावकारी भए पद्धतिको विकास हुन्छ र पद्धतिको विकास भए मात्रै प्रणालीको विकास हुन्छ ।
त्यसैले लोकतन्त्रको अर्थ केवल शासन प्रणाली मात्रै होइन, जीवन पद्धति हो । लोकतन्त्र प्रणालीप्रधान तथा संस्थाप्रधान हुन्छ । लोकतन्त्र विधिसम्मत र प्रक्रियामुखी हुन्छ । त्यसैले पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूबाट सचेत हुँदै लोकतन्त्र र संविधानको रक्षा गर्न सम्पूर्ण नेपाली जनतालाई नेपाली कांग्रेसको यो महाधिवेशन विशेष आह्वान गर्दछ |
प्रतिक्रिया 4