नीति र नेतृत्व बदल्ने घोषणासहित नेपाली कांग्रेसको विशेष महाधिवेशन अहिले काठमाडौंको भृकुटीमण्डपमा जारी छ। आइतबारको उद्घाटन सत्रमा नेताहरूले पार्टीले लिएका नीतिका त्रुटिहरू औँल्याउँदै यसलाई बदल्ने उद्घोष गरे। उनीहरू यत्तिमै सीमित भएनन्, नीतिसँगै नेतृत्व बदल्नेसम्मका विषय सहभागीहरूबाट उठे।
महाधिवेशनले नेतृत्व बदल्ला वा नबदल्ला, विकसित घटनाक्रमले थप प्रष्टता ल्याउलान्। तर, नीतिगत बदलावको भने पक्कै संकेत देखिएको छ। विशेष महाधिवेशन पक्षधरहरूको नेतृत्व र नीति दुवै बदल्ने अठोट र संस्थापनको मध्यमार्ग खोज्ने प्रयत्नका बीच यसले निकाल्ने निष्कर्ष के रहला? यस विषयलाई भविष्यको गर्भमै छाडेर यस आलेखमा कार्यकर्ता र आम नागरिकको मनोविज्ञानबाट विशेष महाधिवेशनका गतिविधिलाई केलाउने प्रयत्न गरिएको छ।
गत भदौ २३ गते देशमा जेनजी आन्दोलन भयो। मूलतः सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको आन्दोलनले भ्रष्टाचारको विरोध र सुशासन कायम गर्न आवश्यक परिवर्तनको वकालत गर्यो।
आन्दोलनको उठानका सन्दर्भमा सदैव ‘षडयन्त्र सिद्धान्त’ देख्ने नेपाली समाजमा यस विषयलाई लिएर विभाजन पनि देखिन्छ। तर पनि कलिला किशोर–किशोरी सहभागी आन्दोलन र त्यसपछि समाजबाट प्राप्त प्रतिक्रियाले हाम्रो वर्तमान व्यवस्थाप्रति असन्तोष व्यक्त गरेको तथ्यलाई लुकाउन मिल्दैन।
यस सन्दर्भमा तत्कालीन सत्ता सहयात्री दल नेकपा एमालेको षडयन्त्र सिद्धान्तको ठीक विपरीत नेपाली कांग्रेसले जेनजी आन्दोलनको मर्म र परिवर्तनलाई मुखर भएर स्वीकार गरेको सत्य हो। चाहे ती दुई महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा हुन् वा नेता डा. शेखर कोइराला। अथवा तत्कालीन सरकारमै सहभागी नेता प्रदीप पौडेलसम्मले प्रष्ट शब्दमा आन्दोलनकारी मात्र नभई आम नागरिक र आफ्नै दलका कार्यकर्तामा रहेको परिवर्तन चेतको सार्वजनिक प्रशंसा गरेकै हुन्।
त्यति मात्र नभएर, सांघातिक आक्रमणको सिकार भई मृत्युको मुखबाट उम्किएर स्वास्थ्य लाभ गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाको लिखित भाषणमा कतै पनि परिवर्तनको यो चेतविरुद्ध आक्रोशका शब्द थिएनन्। बरु आफ्नै ज्यान जोखिममा पर्दासमेत देउवाले दिएको प्रष्ट सन्देश थियो— ‘देशमा परिवर्तनको खोजी भइरहेको छ र त्यसमा मेरो समर्थन छ।’
सायद यही कुरा बुझेरै उनले आफू अब पार्टी नेतृत्वको दौडबाट बाहिर रहेको सार्वजनिक सन्देश दिए, भलै नेतृत्व हस्तान्तरणअघिको उनको बोली र व्यवहारबारे फरक बहस गर्न सकिएला।
मूलतः लोकतान्त्रिक दल नेपाली कांग्रेसको नेतृत्वले नागरिक र आफ्नै कार्यकर्ताले परिवर्तन खोजेको स्वीकार गरेकै हो। तर, जेनजी आन्दोलनपछि एक महिना लामो ऐतिहासिक पार्टी बैठकमै आफूलाई रुमल्याएको दलले परिवर्तनको चेत अनुरुपको व्यवहार आम रूपमा प्रदर्शन गर्न सकेन।
षडयन्त्र सिद्धान्तमा विश्वास गर्ने तत्कालीन सत्ता सहयात्री एमालेले जेनजी आन्दोलनलाई नै आरोपित गर्दै सडक तताइरहँदा नेपाली कांग्रेस भने ‘म्याराथन बैठक’ अनि अति आवश्यक भनिएको महाधिवेशन हुने/नहुने वा कहिले हुने भन्ने अन्योलकै वरिपरि रुमल्लिइरह्यो।
एकातिर पार्टी महाधिवेशनको अन्योल र अर्कोतिर दुई लाइनको संघर्षका बीच प्रमुख प्रतिस्पर्धी वैकल्पिक तथा अन्य दलहरू चुनाव केन्द्रित बनिरहँदा आम कार्यकर्तामा समेत विभाजनको धार प्रष्ट देखियो। वैकल्पिक शक्ति रास्वपा प्रमुख चुनावी चुनौती बन्ने आकलनका बीच कार्यकर्तामाझ कुनै कार्यक्रम नपुग्दा त्यसले अन्योल, दोमन अनि निराशा पैदा गर्यो।
एउटा जीवन्त राजनीतिक दलका मुटु कार्यकर्ता हुन्। कार्यकर्तामाझ कुनै पनि कार्यक्रम लामो समयसम्म नपुग्दा जेनजी आन्दोलनपछिको कांग्रेसमा कार्यक्रमगत शून्यता तथा वैचारिक विभाजनको खाडलका बीच निराशा र असुरक्षा महसुस भएको थियो।
अहिले पार्टीका महामन्त्रीसहितको संस्थापनइतर समूहबाट आयोजित विशेष महाधिवेशनमा पार्टी विभाजनको खतराका बीच पनि ठूलो संख्यामा नेता–कार्यकर्ता आबद्ध हुनुले विगतमा देखिएको कार्यक्रमको खाडल पूर्ति गरेको देखिएको छ। नेताहरूबाट प्रष्ट रूपमा जेनजी आन्दोलनको पक्षमा मत जाहेर भए पनि भावी चुनावी मुद्दाका रूपमा त्यसलाई लैजाने वा एमाले जस्तै ‘षडयन्त्र सिद्धान्त’ कै रूपमा अघि बढ्ने भन्ने नीति नआउँदा त्यसको सोझो प्रभाव पार्टी गतिविधि र कार्यकर्ताको मनोविज्ञानमा पर्यो।
प्रचार युद्धमा आक्रामक प्रतिस्पर्धीहरू एमाले तथा रास्वपासँग लड्नुपर्ने कार्यकर्तालाई कुन धारमा उभिने भन्ने अन्योल कार्यक्रम शून्यताले नै दियो। आम कांग्रेस कार्यकर्ताले नीतिगत परिवर्तन र आफू आबद्ध हुने कार्यक्रम खोजिरहेको तथ्य विशेष महाधिवेशनस्थलको भौतिक उपस्थिति र सामाजिक सञ्जालका प्रतिक्रियाले पुष्टि गरेका छन्। यसबाहेक देशको ठूलो लोकतान्त्रिक दल वैचारिक प्रष्टता र कार्यक्रमको अभावमा रुमल्लिँदा त्यसको असर बौद्धिक वृत्त र तटस्थ नागरिकमा समेत परेको देखिन्छ।
जारी विशेष महाधिवेशनले पार्टीका दुई धारबीचको संघर्षमा आम निर्वाचनअघि सहमतीय मध्यमार्ग तय गरेर कार्यकर्ताको अपेक्षाअनुसार नीतिगत परिवर्तन मात्र गर्ला वा एक कदम अघि बढेर नेतृत्वसमेत बदल्ने गरी अघि बढ्ला, त्यो समयले नै बताउनेछ। तर, विशेष महाधिवेशनले पाएको वजनका पछाडि ऐतिहासिक जेनजी आन्दोलनपश्चात् कार्यकर्ता चलायमान बनाउने कार्यक्रम दिन नेतृत्व चुकेको विषय भने प्रष्ट हुन्छ।
नीतिगत प्रष्टता र विपक्षीको आक्रामक प्रचारका बीच निरन्तर संलग्न गराउने कार्यक्रमका पक्षमा ठोस नतिजा दिने गरी निर्णय हुने हो भने आम निर्वाचनको मुखमा यसले कार्यकर्तामा आशाको सञ्चार गराउनेछ। विपक्षीहरू चुनावी कार्यक्रम लिएर घरदैलोमै आइपुग्दा आफ्नो दलभित्र महाधिवेशन हुने वा नहुने, टिकट कसले बाँड्ने र के नीति लिएर नेतृत्वको प्रतिरक्षा गर्ने भन्ने प्रष्टता नहुँदा कार्यकर्तामा देखिएको असुरक्षा र कमजोर मनोविज्ञानलाई नेतृत्वले बुझ्न आवश्यक छ।
अर्कोतिर, कार्यकर्ताहरूमा नेतृत्वबीचको विभाजनको साटो एकता भएर बलियो मनका साथ परम्परागत र नयाँ वैकल्पिक दलको प्रभाव कम गर्ने चाहना पनि उत्तिकै छ। कार्यकर्ताको यही मनोविज्ञान बुझेर नेतृत्वले गर्ने सहमतिले नै आगामी चुनावमा कांग्रेसको पुनरुत्थान वा अवनति निर्धारण गर्नेछ।
प्रतिक्रिया 4