+
+
Shares

परिवार संरचनामा बालबालिका संख्या निरन्तर घट्दै, जनसाङ्ख्यिक लाभमा जोखिम

एक चौथाइभन्दा बढी अर्थात् २९ प्रतिशत घरपरिवारमा एक जना पनि बालबालिका नरहेको देखिन्छ । बालबालिका नभएका घरपरिवारको अधिक संख्या बागमती र गण्डकी प्रदेशमा बढी देखिएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ माघ १ गते ९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदन अनुसार नेपालमा २०७८ को जनगणना अनुसार बालबालिका संख्या कुल जनसंख्याको ३४ प्रतिशतमात्र रहेको छ।
  • प्रतिवेदनले बालबालिका संख्या निरन्तर घट्दै गएको र २१०८ सालसम्म २२ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।
  • २०७८ को तथ्यांक अनुसार ५ प्रतिशत बालबालिकाको १६–१७ वर्ष उमेर समूहमा विवाह भइसकेको र बालश्रम झाँगिदै गएको देखिएको छ।

१ माघ, काठमाडौं । नेपालको परिवार संरचनामा बालबालिका (१८ वर्षभन्दा कम) संख्या निरन्तर घट्दै गएको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा आधारित रहेर राष्ट्रिय तथ्यांक कार्यालयले निकालेको ‘नेपालमा बालबालिकाको अवस्था’ विषयक प्रतिवेदन अनुसार परिवारमा बालबालिकाको अनुपात निरन्तर घट्दो छ ।

२०७८ को जनगणना अनुसार नेपालमा कुल ९८ लाख ६९ हजार ५ सय ८३ बालबालिका छन् । जुन कुल जनसंख्याको ३४ प्रतिशत हो । २०५८ सालको जनगणना अनुसार जनसंख्यामा बालबालिकाको हिस्सा ४६ प्रतिशत थियो । २० वर्षमा १२ प्रतिशत बिन्दुले बालबालिका संख्या घटेको छ । २०६८ सालमा ४२ प्रतिशत थियो ।

कार्यालयले गरेको प्रक्षेपणमा २१०८ सालसम्म बालबालिकाको प्रक्षेपित अनुपात २२ प्रतिशतमा सीमित हुने देखिएको छ ।

 

कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डिराज लामिछानेका अनुसार नतिजाले नेपालमा बालबालिकाको जनसंख्या स्पष्ट घट्दो क्रममा रहेको देखाएको छ । त्यसमा पनि बालबिवाह, गरिबी, आर्थिक सक्रियता, बसाइँसराइ र मानसिक स्वास्थ्यजस्ता चुनौतीसँग बालबालिका जुधिरहनुपरेको समेत देखिएको छ ।

यस्ता चुनौती समाधानका लागि लक्षित, समावेशी र प्रभावकारी नीतिगत हस्तक्षेप अपरिहार्य रहेको प्रतिवेदनको निष्कर्ष छ । बालबालिका संख्या निरन्तर घट्दा नेपाल निकट भविष्यमै अधिक उमेरको जनसंख्या धेरै रहेको मुलुकमा पुग्ने छ । यसले आर्थिक रूपमा सक्रिय जनसंख्या कम हुँदा मुलुकले जनसाङ्ख्यिक लाभ लिनबाट वञ्चित हुने स्पष्ट संकेत देखिएको छ ।

२९ प्रतिशत परिवारमा एक जना पनि छैनन् बालबालिका

तथ्यांक अनुसार नेपालका ७१ प्रतिशत घरपरिवारमा बालबालिका  छन् । कर्णाली प्रदेशमा सर्वाधिक ८१ प्रतिशत र बागमती प्रदेशमा सबैभन्दा कम ६२ प्रतिशत घरपरिवारमा कम्तीमा एक जना बालबालिका रहेको तथ्यांक छ ।

एक चौथाइभन्दा बढी अर्थात् २९ प्रतिशत घरपरिवारमा एक जना पनि बालबालिका नरहेको देखिन्छ । बालबालिका नभएका घरपरिवारको अधिक संख्या बागमती र गण्डकी प्रदेशमा बढी देखिएको छ ।

यी दुवै प्रदेश मानव विकास सूचकांक उच्च रहेका प्रदेश हुन् । कुल जनसंख्यामा हिसाब गर्दा सबैभन्दा धेरै बालबालिका मधेस प्रदेशमा २४ प्रतिशत र सबैभन्दा कम कर्णाली र गण्डकीमा ७/७ प्रतिशत छ ।

प्रतिपरिवार बालबालिका संख्या १.५

तथ्यांक अनुसार राष्ट्रियस्तरमा प्रतिपरिवार अहिले १.५ जना बालबालिका छन् । मधेस्मा भने प्रतिपरिवार २.१ जना बालबालिका रहेको तथ्यांक छ । बागमतीमा राष्ट्रिय औसतभन्दा पनि कम १.१ प्रतिशत बालबालिका रहेको देखिएको छ ।

राष्ट्रियस्तरमा आधाभन्दा बढी (५३ प्रतिशत) बालबालिका ०.९ वर्ष उमेर समूहको रहेको समेत तथ्यांकले देखाएको छ । नेपालका बालबालिकामध्ये ४५ प्रतिशत अतिविपन्न र विपन्न समूहभित्र पर्ने र यसले बालबालिकाको जोखिमजन्य अवस्था इङ्गित गर्ने समेत प्रतिवेदनले औँल्याएको छ ।

बालविवाह कायमै

तथ्यांक अनुसार ५ प्रतिशत बालबालिकाको १६–१७ वर्षको उमेर समूहमा विवाह भइसकेको देखिएको छ । यस्तो दर सबैभन्दा धेरै कर्णालीमा ९ र सबैभन्दा कम बागमतीमा ३ प्रतिशत छ ।

विवाहित किशोरीमध्ये २६ प्रतिशत कलिलो उमेरमै गर्भवती हुने र ३७ प्रतिशत बालिबालिका मात्र विवाहपछि पनि विद्यालय गइरहेको तथ्यांक देखाएको छ । अविवाहितमध्ये पनि ८९ प्रतिशत बालबालिका मात्र विद्यालय गइरहेको देखिएको छ ।

विवाहितमध्ये ५२ प्रतिशतले विद्यालय छाडेको र ११ प्रतिशत कहिल्यै विद्यालय नगएका बालबालिकाको संख्या छ । विवाहितमध्ये ६१ प्रतिशत बालबालिका आर्थिक रूपले सक्रिय रहेको देखिएको छ ।

बालश्रम झाँगिदै

तथ्यांकले नेपालमा बालश्रम समेत अझ झाँगिदै गएको संकेत गरेको छ । १० देखि १७ वर्ष उमेरमा आर्थिक रूपले सक्रिय बालबालिका संख्या ३२ प्रतिशत छ । त्यसमध्ये पनि १४ वर्षभन्दा कम उमेरका बालबालिका संख्या ३३ प्रतिशत छ । यस्तो संख्या कर्णालीमा सबैभन्दा बढी ४० प्रतिशत छ ।

आर्थिक रूपले सक्रिय बालबालिकामध्ये चार जनामा तीन भने अतिविपन्न र विपन्न वर्ग समूहभित्रका छन् । यसले गरिबी र सम्भावित बालश्रमतर्फ इङ्गित गरेको प्रतिवेदनमा देखिन्छ ।

देशभरि ३१ हजार ५ सय १२ बालबालिका घरमुलीको रूपमा छन् । यो ०.५ प्रतिशत हो । कुल बालबालिकामध्ये १ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता भएको देखिएको छ ।

२०७८ सालको जनगणना अनुसार एक चौथाइ बालबालिकाको जन्मदर्ता नै नभएको पाइएको छ । यो प्रवृत्ति सहरी क्षेत्रमा अधिक छ । यसो हुनुमा बालबालिकाका लागि उपलब्ध अनुदान हो । सोहीकारण कर्णाली र सुदूरपश्चिममा जन्मदर्ता दर अधिक छ ।

बसाइँसराइ मारमा बालबालिका

तथ्यांक अनुसार ७७.९ प्रतिशत बालबालिका आमा र बाबु दुवै जनासँगै बसिरहेको देखिन्छ । आमासँग मात्र बसिरहेका बालबालिका १७ र बुबासँग मात्र बसिरहेका बालबालिका १ प्रतिशत छन् । बालबालिकाको स्वदेश भित्रैको बसाइँसराइ दर १२ प्रतिशत छ ।

बागमतीमा यो सबैभन्दा धेरै १३ र मधेसमा सबैभन्दा कम १० प्रतिशत छ । बसाइँसराइ गरेका बालिबालिकाको ठूलो हिस्सा अर्धसहरी इलाकामा बढी (६६ प्रतिशत) देखिएको छ । अतिसम्पन्न र सम्पन्न परिवारमा बसाइँसराइ अधिक रहेको समेत तथ्यांकले देखाएको छ ।

विद्यालय कति जान्छन् ?

देशभरि औसत ९० प्रतिशतभन्दा अधिक बालबालिका विद्यालय गइरहेको र १० प्रतिशत विद्यालय बाहिर रहेको देखिन्छ । मधेसमा भने ८१ प्रतिशत बालबालिका मात्र नियमित विद्यालय जाने समूहमा परेका छन् । निरक्षर बालबालिका संख्या देशभरि ६ प्रतिशत छ । मधेसमा १४ प्रतिशत छ ।

बालबालिकामा आत्महत्याको डरलाग्दो प्रवृत्ति

स्वास्थ्य सुविधा र बालमृत्युमा समेत राज्यले गम्भीर कदम चाल्नुपर्ने अवस्थातर्फ प्रतिवेदनले संकेत गरेको छ । नेपालमा स्वास्थ्य सुविधा उपलब्धता एकसमान छैन ।

नेपालमा बालबालिकाको मृत्युमध्ये बालिका मृत्युको कारणमा ६ प्रतिशत हाराहारी आत्महत्या छ । बालकतर्फ ३ प्रतिशत यस्तो कारण देखिएको छ ।

गण्डकीमा सबैभन्दा धेरै ४ प्रतिशत र अन्य प्रदेशमा २ प्रतिशत बालमृत्युको कारण आत्महत्या देखिएको छ । यसले सम्बन्धित निकायको हस्तक्षेपकारी नीतिको आवश्यकता आँैल्याएको प्रतिवेदनमा उल्लेख छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?