+
+
Shares

बैंकहरूको कर्जा असुलीमा सुधार आएपछि नोक्सानी फिर्ता १७ अर्ब माथि

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको मंसिर महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा ३४ प्रतिशतले बढेको छ।
  • मंसिरसम्म बैंकहरूले कर्जा नोक्सानी व्यवस्थाबाट १७ अर्ब १० करोड रुपैयाँ फिर्ता गरेका छन्।
  • चालु आवको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाले २८ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेका छन्।

१ माघ, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा सुधार देखिएको छ । कर्जा असुलीमा सुधार आएसँगै कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता हुने रकममा समेत उच्च सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको मंसिर महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा ३४ प्रतिशत बढेको छ । बैंकहरूको नाफा बढ्नुको मूख्य कारण कर्जा नोक्सानी व्यवस्थाबाट उल्लेख्य रकम फिर्ता हुनु तथा कर्जा अपलेखन हुनु हो । चालु आवको मंसिरमा बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानी व्यवस्थाबाट मात्रै १७ अर्ब १० करोड रुपैयाँ फिर्ता गरेका छन् ।

बैंकहरूले सो शीर्षकबाट फिर्ता गरेको रकम सिधै नाफामा गणना हुने हो । त्यो शीर्षकको रकम बैंक तथा वित्तीय संस्थाले नाफाबाटै छुट्याउने गर्छन् ।

चालु आवको मंसिरमा बैंक तथा वित्तीय संस्थाका गैर बैंकिङ सम्पत्ति कर्जा नोक्सानी नगर्दा तथा विदेशी मुद्राको कारोबार र उतारचढावका कारण भएको आम्दानीले नाफामा थप सुधार आएको हो ।

मंसिरसम्म बैंक तथा वित्तीय संस्थामा विदेशी विनिमयको कारोबारका कारण हुने आम्दानी कात्तिकको तुलनामा २८.९१ प्रतिशतले बढेको छ । सो अवधिमा कर्जा नोक्सानी ३.८ प्रतिशतले बढेको छ । न्यून कर्जा नोक्सानी हुनु भनेको कर्जा डिफल्ट रेट न्यून हुनु हो ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा अपलेखन पनि बढेर २१ करोड बराबरको पुगेको छ । चालु आवको मंसिरमा बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी २३.२५ प्रतिशतले बढेको छ । तर, सो अवधिमा ब्याज खर्च २२.६३ प्रतिशत बढेको छ ।

बैंकहरूले निक्षेपकर्तालाई दिने ब्याजदर दिन प्रतिदिन घटेको हुनाले पनि ब्याजमा कमी आई नाफामा सुधार आएको एक बैंकरले बताए ।

पछिल्लो समयमा आर्थिक गतिविधि विस्तार नभएपनि बैंक तथा वित्तीय संस्थाको असुलीमा सुधार देखिएको ती बैंकरले बताए ।

‘नयाँ कर्जा लगानी भएको छैन, कर्जा अपलेखन बढिरहेको छ, पुरानो कर्जा असुली भएसँगै नोक्सानी फिर्ता पनि सोही अनुपातमा भएकाले नाफामा सुधार आएको हो,’ ती बैंकरले भने, ‘नयाँ बिजनेस गर्ने अवस्था नभएपनि पुरानै बिजनेस पनि उठेको खण्डमा बैंक तथा वित्तीय संस्थाको नाफामा सुधार सम्भव छ ।’

चालु आर्थिक वर्षको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाले २८ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा कात्तिकसम्मको तुलनामा ३३.७६ प्रतिशतले धेरै हो । कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाको खुद नाफा २१ अर्ब ३१ करोड रुपैयाँ थियो । तर, गत आर्थिक वर्षको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको खुद नाफा ३३ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो ।

त्यसैगरी गत आवको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा नोक्सानी फिर्ता रकम पनि १८ अर्ब २५ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आवको मंसिरसम्म वाणिज्य बैंकहरूको मात्रै खुद नाफा २५ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । त्यसैगरी विकास बैंकहरूको २ अर्ब ५७ करोड र फाइनान्स कम्पनीहरूले २२ करोड रुपैयाँ खुद नाफा गरेको केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?