News Summary
Generated by OK AI. Editorially reviewed.- अर्चना थापाको कृति 'अग्निगर्भा' मा तेजश्रीको जीवन संघर्ष र सम्बन्धको अस्तित्वमाथि केन्द्रित कथा प्रस्तुत गरिएको छ।
- कथामा तेजश्रीको पति अमन विदेशमा बस्ने र बहुसम्बन्धमा रहेको तथ्यले परिवारमा विश्वास र प्रेमको संकट देखाइएको छ।
- लेखकले पात्रहरूको जीवनमा गहिरो सामाजिक र मानवीय समस्याहरू समेट्दै यथार्थपरक कथा र भाषा प्रयोग गरेका छन्।
तेजश्रीको जीउमा कसरी आगो लाग्यो ? सुरुआतमै कौतूहल जाग्छ। कुरा धेरै बेरसम्म खुल्दैन। जतिखेर खुल्छ झसंग बनाउँछ। खङरङ्ग बनाउँछ। मान्छेको जीवनमा आगोको ठूलो महत्व छ, बाहिर बल्ने आगोभन्दा शरीरभित्र लुकेको आगो।
मलाई नाम सुन्दै रोचक लागेको थियो अग्निगर्भा ! कठपुतलापछि किन अग्निगर्भा ? शीर्षकको “आकार” मोह सोचविचार सहितको छ। यहाँ शब्दमा लिङ्ग र व्यक्ति अस्तित्वको कुरा छ। गर्भमा अग्नि, अग्निगर्भा ! त्यसो त अग्निगर्भा एककिसिमको फूल पनि रहेछ। पृथ्वी पनि रहेछ। अझ संयोग; नाम अर्चना, थर थापा; कृतिमा इमोजीको पनि अर्थ छ। अनुश्रीले इमोजी प्रयोग गर्छे र भाषामा नयाँ पुस्ताको स्वभाव देखिन्छ। त्यो पछि कुरा गरौंला। यहाँ कृतिको नामले अनेक अर्थ लाग्छ तेजश्रीको सकस र संघर्षसँग।
तेजश्री जुन घरमा, जुन अवस्थामा छिन् त्यसले उकुसमुकुस बनायो मलाई। तेजश्रीहरू देखिरहेको उहिल्यैदेखि। श्रीमतीलाई घरमै छोडेर श्रीमान् परदेश वा अर्को शहरमा भएका, साथमै भएका वा श्रीमान् बितिसकेका तेजश्रीहरू वरिपरि छन्। बाध्यताले छोडिएका र अन्य अस्पष्ट कारणले एक्लै पारिएका धेरै श्रीमतीका उकुसमुकुस र संकट तेजश्रीबाट एकहदसम्म थाहा लाग्छ। कथानकमा अनेक कुरा जोडिएर आए पनि कुरा “अस्तित्व”कै छ। प्रेममा वा सम्बन्धमा ऊ हुनुको।
लोग्नेले सासू–ससुरासँग छोडेर गएको वर्षौं भयो। अमन लोग्ने हो। तर, लोग्ने जस्तो लाग्दैन। वा भनौं खाँट्टी लोग्ने जस्तो भैदियो। अमेरिका बस्ने अमन स्विडेन बस्ने नमन जस्तो, क्यानडा बस्ने सागर जस्तो वा अष्ट्रेलिया बस्ने शिशिर जस्तो लाग्छ। वा बानेश्वरको बलराम जस्तो लाग्छ। ऊ बहुसम्बन्धमा छ, अमनलाई चिन्नेहरूले भनेको।
तर, अमनका बारे धेरै कुरा थाहा पाउनै बाँकी छ, एक किसिमले उसका बारेमा धेरै थाहा नहुनु स्वाभाविक छ उसको स्वभावका कारणले। एकछोरीकी आमा तेजश्रीले गाउँमा यसबेला के गरोस् ? कसको भरोसा गरोस् ? सासू–ससुराको स्याहार, छोरीको हेरचाह। एउटा सन्तानकी आमा होस् वा ३ वटा सन्तान वा सन्तान नभएकी तेजश्रीहरू उही संकटमा छन्। मूल कुरा परिवारमा सम्बन्धहरू बीच व्यक्तिको अस्तित्वकै कुरा हो जस्तो लाग्छ। आवश्यकता कि अस्तित्व ? तर, धेरै पटक म अलमलमा पर्छु।
खासमा मान्छेको आधारभूत आवश्यकता के हो ? जीवनमा मान्छेका अनेक दु:ख छन्। बम र बारूदबाट मान्छे बाँच्न तड्पिरहेको छ। अनेकौं हिंसा, विभेद वा गरिबीले मान्छे थिचिएको छ। राम्रै खान–लाउन पुग्ने मध्यम वर्गीय मानिसहरूका दु:ख के हुन् ? जक्तिसिंह टोलका मानिसका जीवन बाँच्ने अनेक जुक्तिले देखाउँछन्। हाम्रो टोलछिमेकमा झैं जक्तिसिंह टोलका मान्छे आफ्नै उल्झन र झमेलामा छन्।
माथि जक्तिसिंह र जुक्ति मिले झैं कृतिभित्र धेरै च्याप्टरमा अक्षरको अनुप्रास मिलेको छ। कृतिभित्र प्रशस्त च्याप्टर छन्। जस्तो कि साङ्ला संहारको सकस, अनादि अनन्त, रात राम्रो जूनले पोइ राम्रो गुनले, कोपी कथा। र, यी च्याप्टरका शीर्षक धेरैजसो गहिरा अर्थ बोकेर पात्रहरूको जीवनमा जोडिएर आउँछन्। तर केही शीर्षक हल्का लाग्छन्। जस्तै: हजुरीको हैकम, आशाको बीउ। तर अरिष्ट शीर्षक कस्तो गहिरो अर्थ बोकेर आउँछ।
कथा भन्ने संरचना मन पर्यो। कृतिभित्र सिधै नजोडिएका जस्ता लाग्ने तर गहन अर्थ बोकेका ३ वटा किंवदन्तीहरूको प्रयोगले कथा भन्ने तरिकालाई फरक बनाएको छ। भर्खरै शहरका सिनेमा घरहरूमा हिन्दी फिल्म धुरन्धर लागेको थियो। ८ च्याप्टर भएको फिल्ममा “पुरानो समाचार” स्क्रोलिङ पनि रोचक तरिकाले राखिएको थियो।
यो कृतिमा च्याप्टरहरूको प्रयोग पनि लेखकको “डेयरिङ” काम हो। छोटाछोटा तर धेरै च्याप्टर पढ्दा अल्छी नलाग्ने। एउटै लफडा के भने अति धेरै पात्रहरू बीचबीचमा आउँछन् र हराइजान्छन्।
म एकछिन क्राफ्टतिर लागें अब कथातिर आउँछु। खासमा प्रेम के हो ? प्रेम हो चाहिं के ? अग्निगर्भामा युवाहरूको प्रेम र प्रेमिल सम्बन्धमा रुचि कम छ। अमनप्रति सिमोनको जति रुचि, मोह र आकर्षण छ यत्ति हो मैले अग्निगर्भामा भेटेको प्रेम, यदि त्यसलाई प्रेम भनिन्छ भने। अमन प्रेम र सम्बन्धबारे के सोच्छ, थाहा छैन। किनभने ऊ देखै पर्दैन, विदेशमा छ।
कथाको लोकेसन स्वदेश छ। जसरी जक्तिसिंह टोलका मान्छे वा त्यहाँ आउने मान्छेका बारेमा थाहा छ अमनका बारेमा थाहा पाउँदिनँ। र, कौतूहल हुन्छ अमनले घरमा श्रीमती छोडेर विदेशमा अर्कै केटीसँग किन सम्बन्धमा छ ? कतिसँग छ ? उसको कुरा के हो ? सम्बन्ध र सेक्समा उसको विश्वास के हो ? मैले शहरमा भेटेका पुरुषहरू जस्तै हो कि फरक छ अमन ?
यो सबै देखेर वा बुझेर यस्तो पनि लाग्छ, प्रेम भ्रम हो। मेरो लागि त “साँचो प्रेम” वा “झुटो प्रेम” दुवै गलत शब्दहरूको प्रयोग जस्तो लाग्थ्यो। हरेक मान्छे निश्चित स्वार्थ, सन्तुष्टि, आनन्द र आवश्यकताका लागि छ। अग्निगर्भाले “प्रेम” वा “अप्रेम”लाई बुझ्न मलाई झन् सहयोग गरेको छ।
पश्चिमी आधुनिकता र विकासको कुरा गर्ने सिमोनले घरीघरी महिलाका पक्षमा सिमोन दि वुआर जस्तै कुरा गर्छे। “यहाँका लोग्नेमान्छेले आफैं चिया बनाएर पिउन सक्दैनन् ?” भन्छे। स्वतन्त्रताको कुरा गर्छे। र, प्रेममा चाहिं अमन र मायामा साँचो प्रेम छ कि छैन, जान्न चाहन्छे। सिमोनले पहिलो पटक अमनलाई भेट्दा ऊ मायासँग “प्रेम”मा थियो जस्तो लाग्छ। पछि कहाँ कसरी अमन र सिमोनको सम्बन्ध भयो होला जान्न मन लाग्छ। तर, लेखकले कुरा गोप्य राखेको देख्छु।
अमेरिकी सिमोनले जब तेजश्री र अमन लोग्ने–स्वास्नी भन्ने थाहा पाउँछ, ऊ चकित पर्छे तर म जति ऊ पर्दिनँ, जति उसले थाहा पाउँदा म परेको थिएँ। त्यस हिसाबले पनि मलाई सिमोन झन् रोचक लाग्छे। अलिअलि डिट्याच्ड जस्तो अलिअलि अट्याच्ड जस्तो। तेजश्रीप्रति सिमोनको रुचि त्यस्तो किन छ! छ भने त्यति थोरै किन छ ?
अमन विवाहित भन्ने थाहा पाएर पनि ऊ छोरो लिएर अमनसँग नेपाल आउन चाहन्छे। छोरा कसको हो म भन्दिनँ। मलाई यहाँ सबै कथा भन्नु छैन। साँच्ची, सिमोन नेपाल आएर तेजश्रीलाई भेट्न चाहन्छे कि चाहन्न ? उसले भन्न त भनेकी थिई, बिर्सें। यहाँ त्रिकोणात्मक वा चौकोणात्मक वा बहुकोणात्मक सम्बन्ध छ ? भन्न सक्दिन। श्रीमान–श्रीमती बीच केके कुरामा विश्वासको संकट होला ? धेरै कुरामा होला तर मूलत: सेक्समै होला ? सँगै सुत्ने कुरामा होला। सँगै हुने कुरामा होला। समभावमा होला। एकले अर्कालाई गर्ने सम्मानमा होला।
दुवैले आफ्नो पार्टनरले अर्कोसँग शारीरिक सम्बन्ध राखेको मन पराउने कुरै भएन। सयौं वर्षदेखि यसले निम्त्याउने सम्बन्धसंकट चलिरहेको छ तर मान्छेले यो संकट भोग्न तयार छ र बहुसम्बन्धमा रमाएकै देखिन्छ। कि कसो हो ? अमन र सिमोन अझ यसबारे जानकार छन्।
तर, तेजश्रीको प्रेमप्रति वा यौनप्रतिको चाहना के हो ? तेजश्रीले आफ्नो अन्तरमुखी स्वभावसँगै लुकाएकी छन्। कि तेजश्रीको कथा भन्नेले कुरा लुकाएको हो ? अर्कै केटी लिएर बसेको भन्ने थाहा पाएर पनि के उसलाई अमन बेगर कोही केटा मन परेन ? उसको मन विचलित भएन ? त्यो जेल जस्तो घर छोडेर नयाँ जीवन शुरू गर्ने कल्पना समेत आएन ? उसैगरी होस्टलमा बसेर कलेज पढ्ने छोरी अनुश्रीको साथी सर्कल, प्रेम र आकर्षण बारे पनि केही सुईंको पाइँदैन। अचम्म त के लाग्छ भने कलेज पढ्ने नातिनी अनुश्री हजुरबा दिग्विजयसिंहसँग नयाँ क्याफेको उद्घाटनमा जान चाहन्छे।
अनुलाई बुझ्न गाह्रो छ, ऊ फरक छे। उमेरजन्य पनि होला ? अनुको मनोविज्ञान फरक छ। त्यो हुर्काइको स्थितिमा उसको सोच बुझ्न गाह्रो छ। अझ आश्चर्य त चिन्दै नचिनेको बाउ “अमन”प्रति उसको मोह के हो ?
बाउ विदेशबाट नेपाल आउने कुराले किन ऊ खुसी हुन्छे ? अनि आमा हैन बाउकै पक्षमा बोल्छे ! एउटा सन्तानलाई देख्दै नदेखेको बाउप्रतिको मोह के हो ? के यो समाजले सिर्जना गरेको “बाउ भ्रम” हो ? छोरीका बारे अझै धेरै जान्ने मन हुन्छ तर अरू कम महत्वका पात्रहरूले उसलाई बोल्ने ठाउँ दिंदैनन्।
अनु डायरी लेख्छे। डायरीसँगको उसको संवाद रोचक छ। उसलाई चिन्ने पनि यसरी नै हो। शहरिया प्रभावमा हुर्किएका जेनअल्फा जेनेरेसनको स्वभाव अनु हो। सेक्सुअल्ली उ “ए सेक्सुअल” जस्तो लाग्छ। कुनै वाईफ्रेण्ड वा गर्लफ्रेण्डको चाहना नभएकी। उसको बुझाइ र ज्ञानको स्रोत के हो ? उसका साथी कस्ता छन् ?
फेरि सिमोनको कुरा ! नेपालमा डल्फिनमाथि खोज गर्न आएकी सिमोनको जीवन कथा नै रोचक छ र थाहा पाउँपाउँ लाग्नेछ। आफ्नी आमा जोसलिनलाई एल्बमका फोटाहरूमा मात्रै देखेकी सिमोनको हुर्काइ बुबा र हजुरआमासँग भएछ। आफूलाई सानैमा छोडेर निकै कान्छो केटाको प्रेममा बिलाइगएकी आमाको बारेमा सिमोन के सोच्छे ? अझ कौतूहल त गौरी बारे हुन्छ। गौरी सिमोनको अनुसन्धान सहयोगी हो नेपालमा। जसको श्रीमान् हिरक विवाह भएको ३ वर्षमै सवारी दुर्घटनामा मर्छ। एक्लो बाँचिरहेकी गौरीको कथा पनि रोचक होला ! तर कथा भन्नेले कथा लुकाएको स्पष्ट थाहा हुन्छ।
खासमा तेजश्री मूल पात्र जस्तो देखिए पनि अरू पात्र पनि उसरी नै जीवन भोगेर आएका छन् जसका भित्री कथा थाहा पाउन मन लाग्छ तर ती पात्र बीचैमा छुटी जान्छन्। एकहदसम्म गौरी र तेजश्रीका दु:ख समान लाग्छन्। पात्रहरूको संघर्षको सकस के भने कुनै पनि पात्रहरूको जीवनमा जादुमय परिवर्तन हुँदैन। हरेक पात्र आफ्नै दु:खको भारी बोकेर हिंडेका छन्। तेजश्रीले आफ्नो लोकेसनबाट अलिकति हलचल गर्न पनि निकै समय लाग्छ। त्यसका लागि कथाकारले निकै तारतम्य मिलाएको छ। तेजश्रीले माइती गाउँका लवसेर मामाको चर्तिकला सम्झन्छे “के म पनि बेनामे पानीदुल्है जस्तै हो ?” उनलाई यस्ता धेरै पानीदुल्है उदाहरणले आफ्नो सकसपूर्ण स्थानबाट हलचल गर्न प्रेरित गरको छ।
आगोले पोलिएकी तेजश्री त्यही आगोसँग कसरी आफ्नो भविष्य खोज्छे भन्ने कुराले क्रान्ति आफ्नै सीप र लोकेशनबाट मात्रै सम्भव छ भन्ने कुरा प्रमाणित गर्छ। मान्छेको पीडाको मुक्ति त्यही पीडाका बीचबाटै खोज्दा यथार्थपरक लाग्छ। तर, लेज्बियन सम्बन्ध पनि छोटो तर बलियोसँग आएको छ। तेजश्रीले आफ्नो आगो घर अर्थात् भान्सा घरमा वर्थ डे पार्टी गर्न आएका दुई युवती किस गरेको देख्दा यसको धरातलबाट अलिकति हलचल गर्न मद्दत गर्छ। महिलालाई नयाँ सम्बन्धको सपना देख्न पनि यो समाजमा कति सकस छ भन्ने त बुझिन्छ। तर लेखकले निर्माण गरेको तेजश्रीको “नैतिक धरातल”ले झन् सकस बनाउँछ।
त्रहरूको भाषा लोकल र एकअर्कामा छुट्टिने किसिमको छ। यसमा निकै मिहिनेत देखिन्छ। हजुरीको बोल्ने तरिका र भाषा मिठो छ। कति नयाँ शब्दहरू भेट्छु मज्जा लाग्छ। अरिष्टको अर्थ नबुझेर गुगल गरें। कस्तो मिठो अर्थ रहेछ। कवि विप्लव प्रतीकले यही शीर्षकमा कविता लेखेका रहेछन्। ब्लेड, कैंची लेखेपछि नेलकटर किन भएन र नङ कटर भयो ? “बेसुद” हो कि “बेसुध” हो ? “बाहिरको तिमिराच्छन्न आकाश मौन थियो।” पूरै च्याप्टरको गहिरो भाव बोकेको मिठो वाक्य। तिमीराच्छन्नको अर्थ थाहा थिएन, खोजें। यस्ता धेरै कम चलनचल्तीका शब्दले भाषालाई रोचक बनाएको छ। “गजिबो” त्यसैगरी आएको छ। गजेबो हो कि गजिबो ? यो लेखकको विशेषता पनि हो। अघिल्लो कथासङ्ग्रहमा पनि हिन्दी र संस्कृत शब्दहरू रोचक ढङ्गले आएका थिए। “पानी पकाएर बाक्लो हुँदैन, लोग्ने फकाएर आफ्नो हुँदैन !”
“कुनै बुढो डाक्टरसँग लसपस छ रे ! तलको… आगो निभाउन दमकल त चाहिन्छ नै।”
“सिमोनका लागि आमा बतास र बादल थिइन्।” यस्ता धेरै उक्ति र वाक्य कृतिमा आउँछन्। मिठा लाग्छन्। तेजश्री किन फरक व्यवहार गर्छे सिमोनलाई ? रहस्य छ। तेजश्रीले सिमोनलाई भन्छे- “मैले पकाएका परिकार मार्फत संवाद गर्छु।” एक ठाउँमा उसले पिरो खुर्सानी झैं संवाद गर्छे। कस्तो गजबले लेखेको छ यहाँ। तर, मैले सबै कुरा यहाँ भन्न नमिल्ने।
पुप कफी…को कुरा कृतिमा अर्थ लाग्दैन। हजुरी र भँगेरीको गन्थन पनि लामो छ। कृति बेलाबखत लिक छोडेर बरालिन्छ। म “मल्टिलेनियर” कृति (कथा, उपन्यास, नाटक, फिल्म) नै मन पराउँछु जस्तो लाग्छ। केही कुरा एक पत्रे हुन्न। तर, कथा बराल्लिएको वा फरकफरक कथा कहीं जोडिन्छन् ? त्यो पाठकले थाहा पाउँछ। मलाई धेरै चिन्ता र चासो लवसेरकी १६, १७ वर्षकी कान्छी स्वास्नीको छ। अण्डा बेच्न हाट गएको सेरसँग त्यो केटी किन स्वास्नी बनेर आउँछे ? यस्ता केही प्रश्न बाँकी छन्।
अब कृतिको अर्को गुदी कुरा गर्छु। मलाई लाग्छ धेरै खराब मानिसहरू सानसँग मरेका छन्। र, धेरै असल मानिस कष्टकर मरेका छन्। तर, अर्चना थापाको कृतिमा मलाई मन पर्ने कुरा: जवानी र उमेरमा कति कठोर, दम्भी र अन्धविश्वासी पात्रहरू उमेर र समय बित्दै जाँदा कमजोर हुँदै, मक्किंदै र गल्ती महसुस गर्दै जान्छन्। म आफ्नै हजुरबाको अन्तिम क्षण सम्झन्छु। उनी राजनीतिमा लागेका पुराना पुरेत र ज्योतिष। शासक जस्ता थिए गाउँ र घरमा पनि। तर, उमेर ढल्किंदै र अनेक उल्झनमा पर्दै जाँदा विस्तारै मक्किए। यो कृतिमा ठुल्काजी त्यसरी नै मक्किएका छन्।
यो कृति पढ्नुस्, तपाईंलाई सोच्न बाध्य बनाउँछ। मलाई लाग्छ केही कमजोरीका बाबजुद फिक्सनमा यथार्थवादी कथाभित्र कसरी शिल्प र चेतना खेल्न सकिन्छ, नमूना कृति हो। यो कृति भान्साघरभित्रको कथा हैन। भान्सा त सानो बिम्ब मात्रै हो। त्यसबाहेक कृतिमा अन्य धेरै कुरा छन्। कृतिलाई एउटै विषय वा बिम्बबाट हेर्दा धेरै कुरा ओझेलमा पर्ने रहेछ ! कुरा तेजश्रीहरूको डिभोर्सको छ।
प्रतिक्रिया 4