+

डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिप आइतबारदेखि

२०८२ माघ  ३ गते २१:२२ २०८२ माघ ३ गते २१:२२
डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिप आइतबारदेखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिप ४ र ५ माघमा धरान गल्फ क्लबमा दुई दिनसम्म हुने छ।
  • प्रतियोगितामा ९ वा कम ह्यान्डिक्याप भएका ३८ एमेच्योर खेलाडीले स्ट्रोक प्ले फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन्।
  • विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्, नेपालमा एमेच्योर गल्फमा पहिलो पटक नगद पुरस्कार दिइनेछ।

३ माघ, काठमाडौं । डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिप भोलिदेखि धरान गल्फ क्लबमा सुरू हुँदैछ। ब्रिटिश सेनामा कार्यरत धरानका गल्फर देवकुमार राई र दिपेन्द्र राईको प्रायोजनमा दुई दिने च्याम्पियनसिप हुन लागेको हो।

नेपाली गल्फ इतिहासमा यो च्याम्पियनसिपले विशेष महत्व राख्नेछ। एमेच्योर गल्फरको लागि पहिलो पटक नगद पुरुस्कार राशीको प्रतियोगिता हुँदैछ। त्यसैले यसलाई नेपाली गल्फको नयाँ अध्याय मान्न सकिन्छ। प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ।

एमेच्योर गल्फको प्रवर्द्धन तथा उदीयमान गल्फरहरूलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस च्याम्पियनसिपमा ९ वा सोभन्दा कम ह्यान्डिक्याप भएका एमेच्योर गल्फरहरूले सहभागिता जनाउन पाउने नियम रहेको छ। ३६ होलको कुल ३८ खेलाडीको हुनेछ। स्ट्रोक प्ले फम्र्याटमा प्रतियोगिता सञ्चालन हुनेछ।

प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो, चौथो र पाँचौं स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः २४ हजार, २० हजार र १६ हजार नगद हात पार्नेछन्। शीर्ष १० स्थानसम्म रहने खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।

पहिलो पटक एमेच्योर गल्फरलाई नगद पुरस्कारको सोच सहित हुने प्रतियोगिताको बारे प्रायोजक देवकुमार राईले नेपालमा एमेच्योर गल्फको विकासमा ठोस योगदान पुर्‍याउने उद्देश्यले च्याम्पियनसिप सुरु गरिएको बताए।

उनले एमेच्योर गल्फरहरूले प्रायः ट्रफी मात्र पाउने भएकाले आर्थिक भार कम गर्न नसक्ने बताउँदै नगद पुरस्कारले खेलाडीलाई सहयोग पुग्ने र खेल खेल्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।

अर्का प्रायोजक दिपेन्द्र राईले एमेच्योर गल्फरहरूको स्तर बढाउन, अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्न सक्ने बनाउनुका साथै भविष्यमा प्रोफेसनल खेलाडी बन्ने र खेलकै माध्यमबाट जीविकोपार्जन गर्न सक्षम बनाउने दीर्घकालीन लक्ष्य रहेको बताए। दिपेन्द्रले यो प्रतियोगिता कम्तीमा पाँच वर्षसम्म निरन्तर रूपमा आयोजना गर्ने प्रतिबद्ध रहेको पनि जानकारी दिए। उनले यसलाई सुरूवात मात्र भएको बताउँदै भविष्यमा प्रतियोगितालाई भव्य बनाउने योजना रहेको जिकिर गरे।

बेलायतमा रहेका नेपाली प्रवासीहरूबीच बलियो गल्फ समुदाय रहेको उल्लेख गर्दै उनले भविष्यमा यस च्याम्पियनसिपलाई राष्ट्रियस्तरको प्रतियोगितामा रूपान्तरण गर्ने लक्ष्य रहेको पनि बताए। उनका अनुसार आगामी वर्षहरूमा धरान बाहिर समेत प्रतियोगिता विस्तार गर्ने विषयमा सरोकारवाला निकायहरूसँग परामर्श गरिने समेत जानकारी दिए। प्रतियोगिताको सञ्चालनका लागि नेपाल गल्फ संघले प्राविधिक सहयोग गर्नेछ।

पहिलो पटक नगद पुरुस्कारको थालनी सहितको डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिपले उत्कृष्ट एमेच्योर गल्फरहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ र नेपालमा एमेच्योर गल्फ संरचना सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

डी एन्ड डी एमेच्योर गल्फ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय