News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङका तीन क्षेत्रहरूमा ५ हजार १७७ सुरक्षा जनशक्ति परिचालन गर्ने योजना बनाएको छ।
- दाङ–१ क्षेत्र खुला सीमा र भौगोलिक बिकटताका कारण मतपत्र र मतपेटिका हवाई मार्गबाट ल्याउने सुरक्षा योजना बनाइएको छ।
- दाङ–२ मा अराजक गतिविधि र साइबर सुरक्षा चुनौती मानिएपछि सुरक्षा निकायले संवेदनशील भएर निर्वाचन सुरक्षा व्यवस्था गरेको छ।
५ माघ, दाङ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले दाङका तीन वटै क्षेत्रमा सुरक्षा योजना बनाएको छ । निर्वाचनमा दाङ जिल्लाभर ५ हजार १७७ सुरक्षा जनशक्ति परिचालन गरिने भएको छ ।
नेपाली सेना ६०९, सशस्त्र प्रहरी ४६९, नेपाल प्रहरी १ हजार ३१८, निर्वाचन प्रहरी २ हजार ४१५ र निर्वाचन प्रहरी सशस्त्रतर्फ ३०३ जना परिचालन गरिने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।
सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रमा विशेष सुरक्षा जनशक्ति परिचालन गर्ने तयारी भएको उनले बताए ।
दाङ भारतीय सीमासँग जोडिएको र बिकट दुर्गम पहाडी भौगोलिक क्षेत्र पर्ने भएकाले निर्वाचन सुरक्षा व्यवस्था र योजना भौगोलिक अवस्थाअनुुसार तयार पारिएको जिल्ला कमान्ड पोस्ट तथा निर्वाचन सेलका संयोजक समेत रहेका प्रजिअ अर्यालले जानकारी दिए ।
उनका अनुसार सुरक्षा संवेदनशिलताको आधारमा दाङमा १५९ मतदान स्थलमध्ये ९ मतदानस्थल अति संवेदनशील, १३४ संवेदनशील र १६ सामान्य स्थलका रूपमा वर्गीकरण गरिएको छ ।
क्षेत्र नम्बर १ : खुला सीमा र भौगोलिक बिकटता
दाङ–१ मा लमही नगरपालिका र राप्ती गाउँपालिका ९÷९, राजपुर ७, गढवा ८ र घोराही उपमहानगरपालिका ४ वटा वडा पर्छन् । जसमा सबैभन्दा धेरै दुर्गम र खुला सीमा राजपुर गाउँपालिका १, ६ र ७ नम्बर वडा पर्छन् ।
गढवा गाउँपालिका–२ र ८ खुला सीमा र भौगोलिक रूपमा बिकट नै मानिन्छ । निर्वाचन क्षेत्र नम्बर १ खुला सीमा र भौगोलिक बिकटता निर्वाचन सुरक्षाका लागि चुनौती रहेको सुरक्षा संयन्त्रको आकलन छ ।
रापुर–१ मा गुरुङ, सिरिया, सुकौली बटौली, वडा नम्बर ७ भैसाही, सुनपत्री, डगरा, चिउरे, मृगिया नाका पर्छन् । यो क्षेत्र भौगोलिक रूपमा पनि बिकट मानिन्छ । जहाँ कतै कच्ची सडक त कतै ट्र्याक मात्रै खुलेका छन् ।
खुुला सीमा र सडक सञ्जाल नभएका कारण दाङ–१ लागि मतपत्र र मतपेटिक ल्याउन–लैजान हवाई मार्ग प्रयोग गर्ने गरी सुरक्षा व्यवस्था सहितको योजना तय भएको छ । खुला सिमानाका कारण भारतीय नागरिक प्रवेश गर्नसक्ने र अप्रिय घटना निम्त्याउन सक्ने आकलन गर्दै सीमा सुरक्षामा पनि विशेष योजना र जनशक्ति व्यवस्थापन सहितको योजना बनाएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
क्षेत्र नम्बर २ : अराजक गतिविधि
दाङ–२ मा घोराही, तुलसीपुर उपमहानगरपालिकाका १९ र बंगलाचुली गाउँपालिकाका ८ वटा वडा गरी २७ वटा वडा रहेका छन् । घोराही र तुलसीपुर शहरी क्षेत्र र बंगलाचुुली गाउँपालिका पहाडी क्षेत्र रहेकाले यहाँ निर्वाचनका क्रममा अराजक गतिविधि हुनसक्ने आकलन सुरक्षा निकायको छ ।
प्रमुख जिल्ला अधिकारी अर्याल भन्छन्, ‘साइबर सुरक्षा र अराजकता दाङ–२ का लागि चुनौती मानिएको छ ।’ शहर केन्द्रित जमात र सँगै जोडिएको पहाडी भूगोलमा केही अराजक गतिविधि हुनसक्ने अनुमान रहेको उनको भनाइ छ ।
‘हामीले दाङ–२ लाई हामीले निर्वाचन सुरक्षाका हिसाबले महत्वपूर्ण क्षेत्रका रूपमा लिएका छौं,’ उनले भने ।
दाङ–२ विगतदेखि नै हेभिवेट नेताहरूको निर्वाचन क्षेत्र रहेकाले प्रतिस्पर्धा स्वच्छ बनाउन सुरक्षा निकाय संवेदनशील बन्नुपर्ने उनको भनाइ छ ।
क्षेत्र नम्बर ३ : सडक सञ्जालको अभाव
दाङ–३ मा तुलसीपुर उपमहानगरपालिका, बबई, शान्तिनगर र दंगिशरण गाउँपालिका रहेका छन् । तुलसीपुर बाहेक अन्य तीन पालिका दुुर्गम नै छन् । सबैभन्दा दुर्गम बबई गाउँपालिकाका–१ गंगटे र सिमलकुना अति विकट र अति संवेदनशील क्षेत्रमा पर्छन् ।
त्यस्तै, शान्तिनगर गाउँपालिका–१ बाघखोर पनि अति बिकट क्षेत्रमा पर्छ । जहाँ कच्ची सडकको टङ्याक मात्रै खुलेका छन् ।
सडक असुविधा र भौगोलिक रूपमा दुर्गम यी ठाउँमा विशेष सुरक्षा प्रदान गरी निर्वाचन सम्पन्न गर्न आवश्यक योजना बनाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।
सडक मर्मत र मतपेटिक ल्याउन आवश्यक हवाई यातायातको व्यवस्थासमेत सुरक्षा योजनामा समावेश गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया 4