८ माघ, नवलपुर । नवलपुर क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार बनेका छन् ।
यस क्षेत्रमा कांग्रेसबाट जिल्ला उपसभापति बालकृष्ण घिमिरे र महासमिति सदस्य गजेन्द्रबहादुर आलेको उम्मेदवारी परेको थियो । उनीहरूले पार्टी सभापति गगनकुमार थापाद्वारा हस्ताक्षरित पत्र ल्याएर उम्मेदवारी दर्ता गराएका थिए ।
घिमिरे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफैं उपस्थित भएर मनोनयन दर्ता गराएका थिए भने आलेले गणेश सापकोटाको वारेसमा उम्मेदवारी दर्ता गराएका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार घिमिरेको उम्मेदवारी १५ नम्बरमा र आलेको उम्मेदवारी १७ नम्बरमा दर्ता भएको थियो ।
दुवै जनाले आफूलाई आधिकारिक उम्मेदवार दाबी गरे पनि उम्मेदवारी दर्ता पहिलो भएका आधारमा घिमिरेलाई आधिकारिता दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए ।
गगन निकट मानिने घिमिरे जेनजी आन्दोलनपछि विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गराउँदै हिडेका थिए ।
आले भने शशांकको कमिटीका भए पनि विशेष महाधिवेशनको पक्षमा उभिएका थिए । आले यसअघि २०७४ सालमा गैंडाकोट नगरपालिकाको मेयर पदको निर्वाचनमा उपविजेता बनेका थिए ।
क्षेत्र नम्बर १ नेपाली कांग्रेसको गढ भनेर चिनिन्छ । यहाँ २०४८ सालदेखि निरन्तर कांग्रेसले विजय हाँसिल गर्दै आएको छ । २०६४ सालदेखि कांग्रेस नेता डा. शशांक कोइरालाले ४ पटक जितेका थिए ।
प्रतिक्रिया 4