९ माघ, काठमाडौं । नेपाली कांग्रेसले नवलपरासी पश्चिम प्रतिनिधिसभा क्षेत्र नं. २मा आधिकारिक उम्मेदवार देवेन्द्रराज कँडेल भएको जानकारी दिएको छ । पार्टी सभापति गगनकुमार थापाले निर्वाचन आयोगलाई पत्र लेखेर आधिकारिक उम्मेदवारबारे जानकारी गराएका हुन् ।
यसअघि निर्वाचन आयोगले बिहीबार भीमबहादुर थापाको उम्मेदवारी कायम रहेको जानकारी दिएको थियो । दुवै जनाले पार्टीबाट टिकट ल्याएर उम्मेदवारी दर्ता गरेपछि आधिकारिकता विवाद उत्पन्न भएको थियो । थापाले सुरुमा उम्मेदवारी दर्ता गराएका थिए । उनको प्रस्तावकमा केन्द्रीय सदस्य राधेश्याम पाठक र समर्थक यमलाल भुसाल थिए ।
निर्वाचन अधिकृतको कार्यालयले थापाको उम्मेदवारीलाई ७ नम्बरमा दर्ता गरेको थियो । कँडेलले केही समयपछि उम्मेदवारी दर्ता गरेका थिए ।
दुवै जनाले आफूलाई आधिकारिक उम्मेदवार दाबी गरेपछि जिल्ला मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले दुई दिनको समय लिएर अध्ययन गरी बिहीबार थापालाई आधिकारिकता दिएका थिए ।
कँडेल कांग्रेसमा शेरबहादुर देउवा निकटका नेता हुन् भने थापा सभापति गगनकुमार थापा निकट मानिन्छन् । तर आज सभापति थापाले आयोगलाई पत्र लेखेर कँडेल आधिकारिक भएको जानकारी गराएका हुन् ।

प्रतिक्रिया 4