१४ माघ, सप्तरी । सप्तरीका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको विभिन्न स्थानमा राखिएका झण्डा, पोस्टरसहितका प्रचार सामग्री हटाउन निर्देशन दिएको छ ।
जिल्लामा आचारसंहिता उल्लंघन भइरहेको गुनासो बढेपछि राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो ।
उक्त छलफलमा मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न आग्रह गर्दै आचारसंहिता विपरीतका प्रचार सामग्री २४ घण्टाभित्र हटाउन निर्देशन दिए ।
उनले आचारसंहिता विपरीत दल वा उम्मेदवारले राजविराजसहित जिल्लाको अन्य स्थानमा झुण्याएको प्रचारप्रसार सामग्री आफैले हटाउन आग्रह गर्दै नभए कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।
२४ घण्टा पछि अनुगमन समितिले सबै ठाउँमा अनुगमन गर्ने र आचारसंहिता विपरीत भेटिए कारबाही अगाडी बढाउने राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आचारसंहितामा फागुन ४ गते देखि १८ गते सम्म मात्र प्रचारप्रसार सामग्री झुण्डयाउन सकिने उल्लेख रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए ।
छलफलमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार र सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
– लोकेन्द्र यादव
प्रतिक्रिया 4