१४ माघ, धनकुटा । तत्कालीन माओवादी केन्द्र (हालको नेपाली कम्युनिस्ट पार्टी) धनकुटाका मतदाताले १२ वर्षपछि प्रतिनिधि सभा निर्वाचनमा आफ्नै पार्टीको उम्मेदवारलाई भोट हाल्न पाउने भएका छन् ।
नेकपा माओवादी केन्द्र धनकुटाले २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेलाई सघाएको थियो । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा भने नेपाली कांग्रेसका उम्मेदवारलाई सघाएको थियो ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलबीच एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीबाट भने साविक माओवादीका उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली कम्युनिस्ट पार्टीले धर्मराज पौडेललाई उम्मेदवार बनाएको छ ।
पौडेल २०४९ सालमा एमालेबाट तत्कालीन जिल्ला विकास समितिको सभापति बनेका थिए भने २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा पनि प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला उनी माओवादीकै हरिराज खेवासँग पराजित भएका थिए ।
पौडेल एमालेबाट माधव नेपालसँगै विद्रोह गरेर नेकपा एकीकृत समाजवादीमा लागेका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दल मिलेर बनेको नेकपामा पौडेल केन्द्रीय सदस्य छन् ।
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. २ का पौडेलले ग्रामिण विकासमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । २०४० देखि २०४३ सालसम्म गाउँकै विद्यालयको प्रधानाध्यापक बनेका उनी २०४५ देखि २०४९ सालसम्म धनकुटा बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेर काम गरेका थिए ।
तत्कालीन माओवादी केन्द्रले २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचनको दुवै क्षेत्रमा एमालेका उम्मेदवारलाई सघाएको थियो । सो बेला एमालेका सबै उम्मेदवार विजयी बनेका थिए । माओवादी केन्द्रले २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका सुनिल बहादुर थापालाई र प्रदेश क क्षेत्रमा नेकपा एकीकृत समाजवादीका अर्जुन राईलाई सघाएर प्रदेश ख क्षेत्रमा पार्टी जिल्ला संयोजक कुुसुम कुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको थियो ।
२०७९ सालमा माओवादी केन्द्रबाट हेमराज भण्डारीले विद्रोह गरेर प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार बनेका थिए । २०७९ मा गठबन्धनलाई हराउँदै प्रतिनिधि सभा र प्रदेश सभामा एमालेका उम्मेदवार विजयी बनेका थिए । त्यो बेला माओवादी केन्द्रबाट विद्रोह गरेका भण्डारी अहिलेसम्म कतै खुलेका छैनन् भने उम्मेदवार पनि बनेका छैनन् ।
२०७९ मा प्रदेश क्षेत्र क बाट उम्मेदवार बनेका अर्जुन राई नेकपा एमालेमा फर्किसकेका छन् ।
सहकर्मीसँग प्रतिस्पर्धा
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेका हालका उम्मेदवार राजेन्द्र कुमार राईलाई सघाएका तत्कालीन माओवादी केन्द्र वा हालका नेकपाका कार्यकर्ताले २०७९ सालको स्थानीय तहको निर्वाचनमा हालका कांग्रेसका उम्मेदवार दिनेश राईलाई धनकुटा नगरपालिकाको प्रमुख पदमा सघाएका थिए ।
२०४९ सालमा एमालेबाट पौडेल धनकुटा जिल्ला विकास समितिको सभापति हुँदा अहिलेका एमाले उम्मेदवार राई जिल्ला विकास समितिका सदस्य बनेका थिए । विगतका निर्वाचनमा एमाले र कांग्रेस प्रतिस्पर्धी हुँदा जित–हारमा निर्णायक भएको दाबी गर्ने तत्कालीन माओवादी केन्द्र तथा हालको नेकपाका लागि विगतमा गठबन्धनमा रहेका दल मात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा लगायतसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ ।
यस्तै धनकुटामा नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, आम जनता पार्टीका प्रेमबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली, जनता समाजवादी पार्टीका निशान राई र नेकपा माओवादीका रविनकुमार राई उम्मेदवार छन् ।
यसैगरी, श्रम संस्कृति पार्टीका सान बहादुर राई, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बु, मंगोल नेशनल अर्गनाइजेसनका सागर राई र राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राई र स्वतन्त्रबाट मनकुमार योञ्जन, जितेन्द्र राई र लाक्पा तामाङ उम्मेदवार रहेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र धनकुटामा १ लाख १८ हजार ४ सय २५ जना मतदाता छन् । धनकुटामा १ सय १९ मतदानस्थलमा १ सय ६६ मतदान केन्द्र रहने भएका छन् ।
२०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ धनकुटामा नेकपा एमालेले २९ हजार ४ सय ७, नेपाली कांग्रेसले १८ हजार १ सय ३५, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ४ हजार ८ सय ३८ मत पाएका थिए ।
जनता समाजवादी पार्टी नेपालले ४ हजार १ सय ८२, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ हजार ९ सय ७९, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले २ हजार ४ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७ सय ९१ मत प्राप्त गरेका थिए ।
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. २ मारेकमा २०१७ साल असोज २४ गते जन्मिएका पौडेलले ग्रामिण विकासमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेका छन् । गाउँमै रहेको धर्मोदय निम्न माध्यमिक विद्यालयमा अध्यापन गरेका पौडेल २०४० सालदेखि २०४३ सालसम्म प्रधानाध्यापक समेत भएका थिए । उनले २०४५ सालमा धनकुटा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका पौडेलले २०४९ सालसम्म सभापतिको भुमिका निर्वाह गरेका थिए ।
देशमा आएको बहुदलीय व्यवस्था आएपछि बनेको स्थानिय निकायमा पौडेलले जिल्लाकै नेतृत्व गरेका थिए । पौडेल २०४९ सालमा तत्कालीन धनकुटा जिल्ला विकास समितिको सभापतिमा निर्वाचित भएका थिए ।
२०५४ सालसम्म सभापतिको सफलतापूर्वक कार्य सम्पन्न गरेका पौडेल २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन धनकुटा क्षेत्र नं. २ मा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । सो निर्वाचनमा तत्कालीन नेकपा माओवादीका हरिराज खेवासँग पराजित बनेका पौडेल निरन्तर एमालेमा रहेर काम गरेका थिए ।
२०७८ सालमा एमाले विभाजन भएपछि पौडेल नेकपा एकीकृत समाजवादीमा लागेका थिए । उनी हालै माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेका छन् ।
प्रतिक्रिया 4