News Summary
Generated by OK AI. Editorially reviewed.- चार वर्षपछि बीटीएसले अप्रिल ९ मा दक्षिण कोरियाको गोयाङ स्टेडियमबाट विश्व भ्रमण सुरु गर्दैछ।
- मेक्सिकोमा तीन शोका टिकट ४० मिनेटमा सकिएपछि राष्ट्रपति क्लाउडिया सेनबाउमले थप शोको माग गरिन्।
- टिकट मास्टरमा टिकट कालोबजारी र मनपरी मूल्य निर्धारणको आरोपमा छानबिन भइरहेको छ।
४ वर्षको पर्खाइपछि चर्चित के-पप ब्यान्ड बीटीएस सांगीतिक टूरमा फर्कदैछ । अहिले यो टूरको टिकटलाई यति धेरै मारामार भएको छ कि मेक्सिकोकी राष्ट्रपतिले नै दक्षिण कोरियाली समकक्षीलाई आफ्नो देशमा अझै शो थपिदिन अनुरोध गरेकी छिन् ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले सोमबार भनिन्, ‘मैले कोरियाका राष्ट्रपतिलाई चिठी त लेखेकी छु… अहिलेसम्म जवाफ त आएको छैन, तर आशा गरौँ राम्रै सन्देश आउनेछ ।’
मेक्सिको सिटीमा हुने भनिएका ३ वटा शोका टिकट खुलेको ४० मिनेटभित्रै सकिएका थिए । बीटीएसले आफ्नो ७९ दिने विश्व भ्रमणका क्रममा मेक्सिकोमा मे महिनामा शो गर्दैछ ।
टिकटको मूल्यमा मनपरी गरिएको र कालोबजारी भएको भन्दै फ्यानले ‘टिकट मास्टर’ विरुद्ध उजुरी गरेपछि अहिले यसको छानबिन पनि सुरु भएको छ ।
आधिकारिक च्यानल ‘टिकट मास्टर’ मा टिकटको मूल्य झन्डै (नेपाली रकममा) १०,००० नेरुदेखि १ लाख ३५ हजार नेरुसम्म तोकिएको थियो । तर अचम्मको कुरा त के छ भने, ‘रिसेल’ (दोस्रो पटक बेचिने) साइटमा त्यही टिकटको भाउ ८५ हजारदेखि ७ लाख नेरुसम्म पुर्याइएको छ ।
टिकटको मारामार मात्र होइन, ठूलै आर्थिक चलखेल नै देखिएको छ । मेक्सिकोको उपभोक्ता हित संरक्षण गर्ने निकायले स्टबहब र भियागोगोजस्ता टिकट पुनः बिक्री गर्ने (रिसेल) प्लेटफर्महरूलाई कारबाही गरेको छ । टिकट बिक्री प्रक्रियामा “अन्यायपूर्ण र ठगीपूर्ण व्यवहार’ गरेको आरोपमा उनीहरूलाई कार्वाही गरिएको हो ।
यसको मुख्य कारण माग र आपूर्तिको ठुलो खाडल नै हो । राष्ट्रपति सेनबाउमले सोमबार भनिन्, ‘कन्सर्टका लागि जम्मा १ लाख ५० हजार टिकट उपलब्ध थिए, तर त्यसको होडबाजीमा चाहिँ करिब १० लाख युवाहरू लाइनमा थिए । मेक्सिकोका तन्नेरीमाझ यो ब्यान्ड साह्रै नै लोकप्रिय छ ।’
१० लाख मान्छेले डेढ लाख टिकटका लागि लुछाचुँडी गर्दा यस्तो समस्या आउनु स्वभाविकै पनि हो । यति ठूलो क्रेज देखेपछि नै राष्ट्रपतिले थप शोका लागि पहल गरेकी हुन् ।
सन् २०२२ को जुनदेखि बीटीएसले एउटा समूहको रूपमा कुनै नयाँ गीत निकालेका थिएनन् । सबैजना आ-आफ्नै सोलो करियरमा व्यस्त भए, अनि त्यसपछि पालैपालो सेनाको तालिममा गए । त्यसैले पनि अहिले यो ‘कमब्याक’ लाई लिएर संसारभरि यति धेरै हल्लाखल्ला भएको हो ।
यो वर्षकै सबैभन्दा ठूलो मध्येको एक मानिएको यो टूर अप्रिल ९ मा दक्षिण कोरियाको गोयाङ स्टेडियमबाट सुरु हुँदैछ । त्यसपछि उनीहरू एसिया, युरोप र अमेरिकाका विभिन्न सहरमा पुग्नेछन् ।
बीबीसीबाट ।
प्रतिक्रिया 4