News Summary
Generated by OK AI. Editorially reviewed.- गर्भावस्थामा इस्ट्रोजन र प्रोजेस्टेरोनको तीव्र वृद्धिले महिलाहरूमा मुड स्विङ्स, चिडचिडाहट र रुवाइ जस्ता भावनात्मक उतारचढाव हुन्छ।
- निरन्तर उच्च तनावले कोर्टिसोल हर्मोनको स्तर बढाएर बच्चाको मस्तिष्क विकास र रोगप्रतिरोधक क्षमतामा नकारात्मक प्रभाव पार्छ।
- गर्भावस्थामा धेरै रुनु, निरन्तर उदासी वा आत्महत्या विचार भए चिकित्सकसँग परामर्श लिनुपर्छ र तनाव नियन्त्रणका उपाय अपनाउनुपर्छ।
गर्भावस्थाको समयमा महिलाहरूमा मुड स्विङ्स, चिडचिडाहट, उदासी वा रुवाइ जस्ता भावनात्मक उतारचढाव धेरै सामान्य हुन्छन् । यो हर्मोनल परिवर्तन विशेष गरी इस्ट्रोजन र प्रोजेस्टेरोनको स्तरमा तीव्र वृद्धिका कारण हुन्छ ।
यस्ता हल्का र अस्थायी भावनात्मक परिवर्तनले सामान्यतया बच्चालाई हानि पुग्दैन । तर निरन्तर वा अत्यधिक तनाव, चिन्ता, डिप्रेसन वा उच्च स्तरको स्ट्रेस हर्मोन ‘कोर्टिसोल’ ले बच्चाको विकासमा नकारात्मक असर पार्न सक्छ ।
गर्भावस्थामा बढी भावुक हुनु वा रुनुका कारणहरू:
गर्भावस्थामा इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनको स्तर छिटो बढ्दा मस्तिष्कमा रासायनिक सन्तुलन बिग्रन्छ, जसले स–साना कुरामा पनि भावुक बनाउँछ । यो बेला शारीरिक थकान पनि बढ्छ । गर्भाशयको वृद्धि, निद्रा कम हुनु, थकान आदि समस्या पनि देखा पर्छ ।
बच्चाको स्वास्थ्य, प्रसवको चिन्ता, परिवारको दबाब, आर्थिक समस्या वा विगतका तनावपूर्ण घटना जस्ता मनोवैज्ञानिक कारणले पनि महिलाहरु इमोसनल हुन्छन् । हाँस्दा–हाँस्दै रुनु, कुनै कारणबिना रुन मन लाग्नु, चिडचिडाहट, मूड स्विङ्स आदि । यी धेरैजसो महिलामा देखिन्छन् र सामान्य मानिन्छन् ।
गर्भवती महिला रुनु वा तनावले बच्चालाई कसरी प्रभाव पार्छ ?
कहिलेकाहीँ हल्का रुनु वा भावनात्मक उतारचढाबले बच्चालाई हानि गर्दैन । यो प्राकृतिक र स्वाभाविक हो । तर निरन्तर उच्च तनावले समस्या निम्त्याउछ । तनावले आमाको शरीरमा कोर्टिसोल ‘स्ट्रेस हर्मोन’ को स्तर बढाउँछ । यो हर्मोन प्लासेन्टा अर्थात सालमार्फत बच्चासम्म पुग्न सक्छ र बच्चाको विकासलाई प्रभावित गर्छ ।
यसले बच्चाको मस्तिष्क विकासमा असर गर्छ । हिप्पोक्याम्पस र अमिग्डाला जस्ता भागहरू प्रभावित हुन्छन्, जसले भावनात्मक नियन्त्रण, स्मरण र तनाव प्रतिक्रियामा समस्या निम्त्याउछ ।
जन्मपछि दीर्घकालीन प्रभावको रूपमा बच्चामा बढी चिन्ता, डिप्रेसन, भावनात्मक कमजोरी, निद्रा समस्या, डर वा अस्वभाविक व्यवहारका समस्या देखिन सक्छ । समयपूर्व जन्मिने, कम तौल, बच्चाको वृद्धि सुस्त हुनुजस्ता शारिरिक प्रभाव पनि देखा पर्छ ।
साथै बच्चाको रोगप्रतिरोधक क्षमता कमजोर हुने, पछि गएर मोटोपन, पाचन समस्या वा अन्य स्वास्थ्य समस्या देखिन सक्छ । गर्भावस्थाको सुरुवाती चरणमा उच्च कोर्टिसोलले विकास सुस्त बनाउँछ, जबकि अन्तिम चरणमा यसले केही सकारात्मक प्रभाव पनि पार्न सक्छ जस्तै छिटो विकास, तर समग्रमा उच्च तनाव हानिकारक नै हुन्छ ।
सामान्य तथा चिन्ताजनक अवस्था
कहिलेकाहीँ रुनु, थोरै चिन्ता, मुड स्विङ्स, हल्का रिस वा भावुकता यो गर्भावस्थाको सामान्य समस्या हो, त्यसैले यसमा खासै चिन्ता लिनु पर्दैन ।
हरेक दिन धेरै रुनु, निरन्तर उदासीपन देखिनु, चिन्ता वा नकारात्मक विचार आउनु, निद्रा अत्यधिक कम वा बढी हुनु, केही गर्न मन नलाग्नु, भोक कम हुनु र आत्महत्या गर्ने वा आफूलाई हानि गर्ने विचार आउनु जस्ता देखियो भने यसलाई गम्भीर रूपमा लिनुपर्छ । यफ लक्षणहरू प्रेनाटल डिप्रेसन वा एन्जाइटी डिसअर्डर हुन सक्छ, जसलाई उपचार गर्न सकिन्छ ।
तनाव नियन्त्रण गर्ने प्रभावकारी तरिकाहरू
-दिनमा १०–२० मिनेट डाक्टरको सल्लाहमा हल्का हिँडाइ, योग, गहिरो श्वास लिने र फाल्ने अभ्यास र ध्यान गर्ने ।
-जीवनसाथी, परिवार वा साथीसँग खुल्ला रूपमा कुराकानी गर्नुपर्छ । आफ्ना भावना सेयर गर्नुपर्छ । भावना दबाउनु हुँदैन ।
-दैनिक ७ देखि ९ घण्टा राम्रो निद्रा, स्वस्थ खाना ‘फलफूल, तरकारी, प्रोटिन’ र पर्याप्त मात्रामा पानी पिउनुपर्छ ।
-किताब पढ्ने, संगीत सुन्ने, आर्ट÷क्राफ्ट गर्ने जस्ता सकारात्मक क्रियाकलाप गरेर प्रकृतिमा समय बिताउनुपर्छ । सोसल मिडियाको प्रयोग कम गरेर नकारात्मक समाचारबाट टाढा रहनुपर्छ ।
-यदि नियन्त्रण गर्न गाह्रो भए चिकित्सक, मनोचिकित्सक वा काउन्सिलरसँग परामर्श लिनुपर्छ । केही अवस्थामा औषधि सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ ।
प्रतिक्रिया 4