१५ माघ, विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको खर्चको सीमा र बैंक खाता सम्बन्धी प्रावधानप्रति साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले असन्तुष्टि जनाएका छन् । बिहीबार विराटनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वपक्षीय छलफलमा उम्मेदवारहरूले आफूहरूसँग चुनाव लड्ने पैसा नै नभएको भन्दै बैंक खाता खोल्ने र खर्च विवरण बुझाउने प्रक्रिया झन्झटिलो भएको गुनासो गरे ।
छलफलमा मोरङ क्षेत्र नंम्बर ६ का स्वतन्त्र उम्मेदवार उत्तम दाहालले आफूले चुनावमा एक रुपैयाँ पनि खर्च नगर्ने बताए । उनले भने, ‘आयोगले कति खर्च गर्नुहुन्छ भनेर सोध्छ, तर मसँग खर्च गर्न पैसा छैन । मलाई जनताले उठाएका हुन् ।’
जनमत पार्टीका तर्फबाट मोरङ क्षेत्र नं. ४ का उम्मेदवार जीवनकुमार गुप्ताले बैंक खाता अनिवार्य गर्ने प्रावधान व्यवहारिक नभएको बताए । ‘म एउटा सामान्य उम्मेदवार हुँ, जनताको घरमा खाली हात भोट माग्न जाँदैछु,’ उनले प्रश्न गरे, ‘खर्च गर्न पैसा नै नभएपछि बैंकमा कसरी देखाउने ?’
क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेकी प्रिति झाले भनिन्, ‘खर्च गर्ने पैसा छैन, दल तन्त्रको अन्त्यका लागि उम्मेदवार बन्दैछु । बैंकबाट गर्ने खर्च कहाँबाट ल्याउनु ।’
छलफलमा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा पनि कुरा उठाएका थिए । जनता समाजवादी पार्टी (जसपा) मोरङका अध्यक्ष मो. नसरुल, उज्यालो नेपाल पार्टीका देवराज कार्की र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिक्सम मिभकले निर्वाचन प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न माग गरे ।
नेकपा एमाले मोरङका अध्यक्ष अजम्बर राईले निर्वाचनको समयमा पर्ने ‘होली’ पर्वले सुरक्षा चुनौती थप्न सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरे । उनले होलीको अवसरमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना बनाउन सुझाव दिए ।
साना दलका उम्मेदवारहरूले सञ्चार माध्यमहरूले ठूला दललाई मात्र प्राथमिकता दिएको भन्दै साना दल र स्वतन्त्रका एजेण्डाहरूलाई पनि उचित स्थान दिन आग्रह गरे ।
खर्चको सीमा र आचारसंहितामा कडाइ
मोरङका मुख्य निर्वाचन अधिकृत भीष्म प्रसाइँले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे । उनले मोरङका निर्वाचन क्षेत्र अनुसार खर्चको सीमा तोकिएको जानकारी दिए । उनका अनुसार क्षेत्र नं. १, २ र ३ का उम्मेदवारका लागि अधिकतम ३१ लाख रुपैयाँ सीमा छ । क्षेत्र नं. ४, ५ र ६ का उम्मेदवारका लागि अधिकतम २९ लाख रुपैयाँ सीमा छ ।
उम्मेदवारहरूले अनिवार्य रूपमा छुट्टै बैंक खाता खोली सोही खातामार्फत मात्र चुनावी खर्च गर्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराए । प्रसाइँले मतदानको १७ दिन अघि अर्थात् फागुन ४ गतेदेखि मात्रै प्रचारप्रसार गर्न पाइने स्पष्ट पार्दै सुरक्षा व्यवस्था चुस्त बनाइएको जानकारी दिए ।
प्रतिक्रिया 4