+
+
Shares
सन्दर्भ : शहीद दिवस :

जंगबहादुरको निरङ्कुशता विरुद्ध लखन थापाको त्यो विद्रोह

लखन थापाको स्मृतिसँगै उनी सहित मृत्युदण्ड भोगेका अन्य ६ जना सहयोद्धाहरूको पनि सम्झना र उनीहरूको परिवारको खोजीका लागि प्रतिबद्धता हुनसके सुनमा सुगन्ध हुनेथियो ।

राजकुमार दिक्पाल राजकुमार दिक्पाल
२०८२ माघ १६ गते १३:२९

राजालाई खोपीको देवता बनाएर आफ्नो पारिवारिक शासनलाई मजबुत बनाउँदै गइरहेका बेला निरङ्कुश शासक जंगबहादुर राणा उदाए । तत्कालीन राजा राजेन्द्रविक्रम शाहकी कान्छी रानी राज्यलक्ष्मीको योजनामा आफूलाई मारेर सत्ता हात लिन काजी वीरध्वज बस्नेत अघि सर्दा उनी लगायत उनका अनुयायीहरूको समेत ज्यान हरण गरी रानीलाई नै देश निकाला गरेपछि जंगबहादुर झन् शक्तिशाली भए ।

बेलायत भ्रमणबाट फर्केपछि आफ्नै भाइ बद्रीनरसिंहले पनि उनको ज्यान लिई सत्तामा पुग्ने योजना बनाएका थिए । तर, अर्का भाइ बमबहादुरबाट त्यो गोप्य योजना खुलासा भएपछि बद्रीनरसिंह लगायतलाई उनले इलाहावादको जेलमा कोच्न पठाए ।

यस्तै, कालीबहादुर पल्टनभित्र एक जना गुरुङ जमदारले आफूलाई मार्ने योजना बनाइरहेको थाहा पाएपछि ती जमदारलाई पनि टुँडिखेलमा कालीबहादुर पल्टनकै सेना लगाएर टुक्रा–टुक्रा हुने गरी कटाइदिए ।

यी सबै घटनाहरूपछि पनि जंगबहादुरको हत्या गरी उनको निरङ्कुश शासन सत्ताको तख्ता पल्टाउने योजना भने रोकिएन । गोरखामा सुकदेव गुरुङले आफूलाई ‘नौ सरकार बौद्ध बादशाह’ घोषणा गरेर समानान्तर सत्ता बनाई विद्रोह मच्चाएका थिए । पक्राउ परेका सुकदेवको जेलमै मृत्यु भएको थियो ।

त्यति नै बेला गोरखाको बुङ्कोटमा लखन थापा मगरले सशस्त्र समूहलाई संगठित रूपमा विद्रोह सुरु गरेका थिए । आफूलाई सिद्ध लखन थापाको अवतार घोषणा गरेर ‘जंगबहादुरलाई मारी नेपालमा सुनौलो युग सुरु गर्न मनकामना माताले आफूलाई आशीर्वाद दिएको’ भन्दै उनले सशस्त्र समूह खडा गरेका थिए । लखन थापाको विद्रोह त्यो समयको सबैभन्दा व्यवस्थित र सशक्त विद्रोह थियो ।

त्यसै विद्रोह र लखन थापा लगायत उनका सहयोद्धाहरूको शहादतबारे तयार पारिएको एक इतिहास अनुशीलन यो लेख मार्फत प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

जंगबहादुरका छोराका बयान

लखन थापाको विद्रोह कस्तो थियो भन्ने विषयमा सबैैभन्दा भरपर्दो स्रोतका रूपमा हामी स्वयम् जंगबहादुर राणाका छोरा पद्मजंगको बयानलाई लिन सक्छौं । लखन थापाले विद्रोह गरिरहेका बेला उनी एक जवान युवा मात्र होइन, तत्कालीन सरकारको एक रोलवाला जर्नेल पनि थिए ।

पद्मजंग राणाले लेखेको आफ्ना बुबाको जीवनी ‘जंगबहादुरको जीवनयात्रा’ (२०७४: २८३–८४) मा लखन थापाको विद्रोह प्रकरण पढ्न पाइन्छ । पद्मजंगले अंग्रेजी भाषामा लेखेको ‘लाइफ अफ सर महाराज जंगबहादुर राणा’ शीर्षकको यो पुस्तकको पहिलो संस्करण वि.संं. १९६६ मा छापिएको थियो ।

लखन थापाले सशस्त्र विद्रोहको तयारी गरिरहेका बेला सातौं पटक भारत भ्रमण आएका वेल्सका राजकुमार एडवर्डलाई खुशी पार्न जंगबहादुरले पश्चिम नेपालको जंगलमा शिकार यात्रा गराएका थिए ।

शिकार यात्रापछि जंगबहादुर सन् १८७६ मार्च ३१ (वि.सं. १९३२ चैत २० गते) थापाथली आइपुगेको राणा (२०७४:२८२) ले पुस्तकमा उल्लेख गरेका छन् ।

त्यसैबेला एक भूतपूर्व सैनिक लखन थापाले सर्वसाधारणलाई प्रभावमा पारेर जंगबहादुरको सरकार उल्ट्याउन आफ्नो दलमा सम्मिलित हुनका लागि आह्वान गरिरहेका थिए । आफू सिद्ध लखन थापाको अवतार भएको र जंगबहादुरलाई सत्ताच्यूत गर्न आफूलाई मनकामना माताले धर्तीमा अवतरण गराएको भन्दै आफ्नो विनित र अनुनयी भाषाका कारण छिट्टै लखन थापा १५०० सङ्ख्यामा सेना पनि जम्मा गर्न सफल भएका थिए ।

उनले नेपाली सेनाको नेतृत्व गर्ने, राजधानी प्रवेश गर्ने र जंगबहादुरको हत्या गरेर सरकार आफ्नो अधीनमा लिई त्यसै दिनदेखि नेपाली इतिहासको स्वर्णयुग आरम्भ गर्ने घोषणा गरेका थिए । उनको विद्रोहलाई दमन गर्न जंगबहादुरले काठमाडौंबाट देवीदत्त पल्टन पठाए ।

उनीहरूलाई पक्राउ गरी सिक्रीले बाँधेर गोरखाबाट काठमाडौं हिंडाएर ल्याइयो । उनका १५०० समर्थकलाई पनि बन्धक बनाएर राजधानी ल्याइयो । उनीहरूबाटै खुलासा भएअनुसार जंगबहादुर शिकारबाट फर्केर आउँदा पहाडको बाटोमै उनको हत्या गर्ने र विरोधी जति सबैलाई निर्ममतापूर्वक समाप्त गर्ने योजना बनाइएको रहेछ ।

साविती बयानपछि पक्राउ गरेर ल्याइएकामध्ये लखन थापा र उनका ६ जना कट्टर सहयोगीलाई मृत्युदण्ड दिइयो भने प्रत्यक्ष र परोक्ष सहयोग गर्नेहरूलाई क्षमादान दिई आ–आफ्नो घर फर्कने अनुमति दिइयो ।

त्यसअघि पनि लखन थापा पक्राउ परेका थिए । त्यसबेला जंगबहादुरले उनलाई क्षमादान दिएका थिए (राणा, २०७४:२८३–८४)

यस्तो लेख्ने पद्मजंग जंगबहादुरका विवाहिता रानी तिरबाट जन्मेका रोलवाला उत्तराधिकारी थिए । उनकी आमा चौतरिया खलककी छोरीचेली विष्णुकुमारी देवी हुन् ।

लखन थापा सम्बन्धी ऐतिहासिक तथ्यबारे विचार गर्दा १९३३ सालमै गोरखकाली मन्दिरमा चढाइएको ठूलो घण्टबारे उल्लेख हुनु पनि जरूरी देखिन्छ ।

वि.सं. १९२४ मा जंगबहादुरले भावी श्री ३ महाराजा तथा प्रधानमन्त्रीहरूको रोलक्रम बनाउँदा पद्मजंगले जनरल पाएका थिए । त्यस समय उनी केवल १० वर्षका थिए । पत्थरघट्टामा बुबा जंगबहादुरको देहान्त हुँदा दागबत्ती दिन पुगेका उनी त्यसपछि कमान्डिङ जनरल भएका थिए (पुरुषोत्तमशमशेर जबरा, ‘जंगबहादुर र राणाकालीन दर्पण’–२०८०:३०–३१)

पहिले जंगबहादुरले आफ्ना भाइ र छोराहरूका लागि श्री ३ महाराज र प्राइममिनिस्टर हुने गरी उत्तराधिकारीहरूको मर्यादाक्रम मिलाउँदा छोराहरू जनरल जगतजंग र जीतजंगले पनि उक्त पद पाउने गरी रोलक्रम निर्धारण गरिएको थियो । त्यसको केही समयपछि विवाहिता रानीतर्फबाट पद्मजंगको जन्म भयो । त्यसपछि जगतजंगका छोरा युद्धप्रतापजंग जन्मिए । यी बालक छोरा र नवजात नातिलाई पनि रोलक्रममा राख्न जंगबहादुरले वि.सं. १९२४ माघ १० गते नयाँ रोलक्रम घोषणा गरेका थिए । (बाबुराम आचार्य, ‘अब यस्तो कहिल्यै नहोस्’–२०६८:१५९–६०)

यसरी मुलुकको भावी श्री ३ महाराज र प्रधानमन्त्रीको पालो कुरेर बसेको बेला जंगबहादुरका छोरा पद्मजंगको हैसियत निकै माथि थियो । वि.सं. १९३० को कम्पु पल्टनको रेकर्डमा पहिलो नम्बरमा श्री ३ महाराज र प्रधानमन्त्रीको हैसियतले जंगबहादुरको नाम छ भने उनको छोरा जनरल पद्मजंगको वरीयता सातौं नम्बरमा रहेको छ । (पुरुषोत्तमशमशेर जबरा, ‘श्री ३ हरूको तथ्यवृत्तान्त’–२०६५:१६१)

यति शक्तिशाली अवस्थामा रहेका जनरल पद्मजंगको जन्म वि.सं. १९१४ कात्तिक २८ गते भएको हो । (दिनेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क ९३–वैशाख २०५५:३५) । लखन थापाले विद्रोह गरिरहेको समय उनी १९ वर्षका थिए । त्यो समय नै राज्यका एक जिम्मेवार र राजनीतिक सुझबुझ भएका रोलवाला जनरल भएकाले आफ्ना बाबु विरुद्धको विद्रोहका बारेमा उनी पूर्ण रूपमा जानकार नहुने कुरै भएन ।

लखन थापाको विद्रोहको विषयमा साक्षात् जानकार जंगबहादुरका यी उत्तराधिकारी छोराको बयान अनुसार वि.सं. १९३२ को चैत महिनामा लखन थापाले जंगबहादुर विरुद्ध सशस्त्र विद्रोहको अन्तिम तयारी गरेका थिए भन्ने थाहा हुन्छ ।

विद्रोहका लागि पाँचतले किल्ला

लखन थापा प्रकरणबारे भेटिएको अर्को महत्त्वपूर्ण ऐतिहासिक प्रमाण हो, तत्कालीन मेजर कप्तान शमशेरजंग थापा क्षेत्री, सुब्बा वीरमान थापा क्षेत्री, सुवेदार बदलसिंह बस्न्यातले लखन थापाको विद्रोहको तयारी सम्बन्धी प्रसादसिंह थापा, खड्ग थापा लगायत व्यक्तिबाट प्राप्त सूचनाको आधारमा सरकारलाई पठाइएको पत्र । महेशचन्द्र रेग्मीले ‘रेग्मी रिसर्च सेरिज’ वर्ष १२ अङ्क ५ (डिसेम्बर १९८०:७४) मा यो पत्र प्रकाशित गरेका छन् । वि.सं. १९३२ चैत सुदी १ लेखिएको यो ऐतिहासिक पत्रको व्यहोरा यस्तो छ:

‘लखन थापा एउटा किल्लाजस्तो घरमा बस्छन् । वि.सं. १९३२ फागुन २६ गते बन्दुक र तरबारधारी ठूलो सङ्ख्यामा आएका भोटे सेना लखन थापाप्रति बफादारी देखाउँदै जंगबहादुरको टोलीमा मिसिन पश्चिमतिर लागे । तर उनीहरूको भित्री उद्देश्य भने जंगबहादुरको हत्या गर्नु थियो । यस्तो सूचना पाएपछि मेजर कप्तान शमशेरजंग थापा क्षेत्रीलगायत सरकारी सैन्य अधिकारीहरूले लखन थापाको घरमा छापा मारी अजपसिंह थापालगायत उनका मानिसहरूलाई पक्राउ गरी सोधपुछ गरे ।

सोधपुछका क्रममा उनीहरूले दिएको बयान अनुसार लखन थापाले जहरे चुमीलाई जर्नेल, विराज थापा मगर, जुठ्या थापा मगर र जितमान गुरुङलाई कर्नेल पदमा नियुक्त गरेका थिए । यस्तै राजकुमार उपेन्द्रविक्रम शाहलाई राजा बनाउने र आफूलाई उपेन्द्रविक्रमको उत्तराधिकारी बनाउने योजना लखन थापाको थियो ।

उपयुक्त समयमा तार्कु वा मनाङ बेसीमा आएको बखत जंगबहादुरको हत्या गर्ने योजना बनाइएको थियो । यदि यो योजना असफल भए लखन थापा आफू तिब्बत जाने र त्यतैबाट विद्रोहलाई अझ व्यवस्थित गर्ने योजना लखन थापाको थियो ।

मेजर कप्तान शमशेरजंग थापा क्षेत्रीबाट यस्तो प्रतिवेदन बुझेपछि जंगबहादुरले पाल्पामा रहेका सेनाको कमाण्ड बलियो बनाई लखन थापा र उनका सहयोगीहरूलाई पक्राउ गर्न कर्णेल टेकबहादुर राणालाई आदेश दिए । उनीहरूलाई पक्राउ गरी काठमाडौं ल्याएर इन्द्रचोक प्रहरी चौकीमार्फत आफूलाई यसबारे थप जानकारी दिन जंगबहादुरले आदेश दिएका थिए ।

लखन थापालाई मृत्युदण्ड पुस महिनामै दिइएको भन्ने तर्कलाई स्थापित गर्न लखन थापा लगायतको स्मृतिमा गरिंदै आएको भँयरी पूजालाई स्मृतिमा राख्न जरूरी छ ।

लखन थापा र उनका ६ जना अनुयायीलाई मृत्युदण्ड दिइएको जंगबहादुरको छोरा पद्मजंगको बयानमा परेको छ । रेग्मी (सन् १९८०:७४) ले प्रकाशित गरेको पत्रमा लखन थापाले ठूला पदहरूमा नियुक्त गरेकाहरूमा जहरे चुमी, अजपसिंह थापा, विराज थापा मगर, जुठ्या थापा र जितमान गुरुङ नाम परेकोले लखन थापा सहित मृत्युदण्ड पाउने विद्रोहीहरू उनीहरू नै हुन् भन्ने अनुमान गर्न सकिन्छ । अर्का एक जना चाहिं अछामी थापा मगर हुन् भन्ने आफूले पत्ता लगाएको लेखक तथा प्रथम शहीद लखन थापा स्मृति प्रतिष्ठानका पूर्व उपाध्यक्ष उमेश राना ‘गोर्खाली’बाट यो लेखकले जानकारी पाएको छ ।

लखन थापाले जंगबहादुरको शासनसत्ता विरुद्ध विद्रोहका लागि बनाएको किल्लाको बनावट र त्यसबेला हुने गरेका गतिविधिबारे पुरातत्त्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ सङ्ख्या २७ (वैशाख २०३१:१५–१६) मा उल्लेख छ ।

लखन थापाले गोरखा, बुङ्कोटमा आफू बसेकै घरबाट मनकामना देवीको पूजा चलाउन सुरु गरेका थिए । त्यो घर पाँचतलाको थियो । यताबाट हेर्दा लखनले सुरु गरेको विद्रोह व्यवस्थित थियो भन्ने बुझ्न गाह्रो पर्दैन । यो ठाउँमा उनले आफ्ना मानिसहरूलाई परिचालन गरी हातहतियार, बन्दुक, धनुकाँडहरू जम्मा गर्न लगाएका थिए । पछि जंगबहादुरले सेना परिचालन गरेर लखन र उनका समर्थकहरूलाई पक्राउ गरी थापाथली दरबार ल्याए । उनीहरूले विद्रोहको तयारी गरेको स्वीकार गरेपछि लखन थापा लगायतलाई झुण्ड्याएर मारियो भने केहीलाई कारावासमा कोचियो । लखन थापाले पूजा गर्ने गरेको जुन पाँचतले घर थियो, त्यसलाई मैदान हुने गरी भत्काइयो ।

लखन थापाले बनाएको त्यस किल्ला जस्तो पाँचतले घर कहाँ थियो, त्यसको लागि थप अध्ययनको आवश्यक पर्दछ ।

विद्रोहमा अध्यात्मको आड

लखन थापा आध्यात्मिक थिए । उनले आफूलाई राम शाहकालीन सिद्ध लखन थापाको अवतार घोषणा गरी मनकामना माताबाट आफूलाई जंगबहादुरको हत्या गरी नेपालमा सुनौलो युग सुरु गर्न आदेश भएको प्रचार गर्थे ।

त्यो बेला परिस्थिति कस्तो पनि भइसकेको थियो भने उनले आफू जुन घरमा बस्थे, त्यहींबाट मनकामना देवीको पूजा चलाउन सुरु गरेका थिए । उनले ‘अब मनकामनामा गई पूजा गर्न पर्दैन, म यहीं पूजा गरिदिन्छु’ भनी आफूले बनाएको पाँचतले घरमा मौलो गाडी पञ्चबलि, बीसासय बलि र कोरा पूजा समेत गर्न थाले । उनले जनसाधारणमा कतिसम्म प्रभाव पारेका थिए भने मनकामनाका भक्तजनहरू मूल मन्दिरमा जान छाडी लखन थापाले स्थापना गरेको मनकामना स्थानमा जान थाले (प्राचीन नेपाल, २०३१:१५)

यही आध्यात्मिक आडबाट लखन थापाले जनसाधारणको विश्वास जित्दै गइरहेका थिए । माथि उल्लेख भइसकेको जंगबहादुरका त्यस बेलाका बहालवाला जनरल छोरा पद्मजंगकै शब्दमा पनि त्यो बेला १५०० सङ्ख्यामा सशस्त्र सेनाको समूह बनाउन सक्नु चानचुने कुरा थिएन । यस्तै उनले भोटे सेनाको समूह समेत बनाएको तत्कालीन सरकारी सैन्य अधिकारीहरूको प्रतिवेदनको प्रसङ्ग पनि माथि परिसकेको छ । यताबाट हेर्दा लखन थापाको त्यो विद्रोहमा ठूलो जनसमर्थन प्राप्त थियो भन्ने प्रमाण मिल्छ ।

एक वर्ष लामो मुद्दामामिला

लखन थापाको नेतृत्त्वमा भइरहेको त्यो समयको जनविद्रोहलाई दबाउने क्रममा पक्राउ परेका लखन थापा र उनका सहयोद्धाहरूलाई तत्कालै मृत्युदण्ड दिइएको थियो कि भन्ने अनुमान पनि हुन्छ । तर ऐतिहासिक तथ्यहरू निफन्दा उनीहरूको मुद्दामामिला एक वर्षसम्म चलेको देखिन्छ ।

राणा (२०७४:२८२) ले लखन थापाको विद्रोह वि.सं. १९३२ को चैत महिनामा उत्कर्षमा पुगेको उल्लेख गरेको र रेग्मी (१९८०:७४) ले प्रकाशित गरेको लखन थापा प्रकरण सम्बन्धी सरकारी पत्रकोे मिति वि.सं. १९३२ चैत सुदी १ उल्लेख भएबाट त्यसै समय लखन थापा र उनका अनुयायीहरू पक्राउ परेको देखिन्छ । र, प्राचीन नेपाल (२०३१:१६)मा लखन थापा लगायतलाई वि.सं. १९३३ मा मृत्युदण्ड दिइएको उल्लेख भएकोले लखन थापालगायत तत्कालीन विद्रोहीहरूको मुद्दामामिलाको छिनोफानो हुन एक वर्ष लागेको स्पष्ट हुन्छ ।

लखन थापाको सालिक (स्रोत: उमेश राना ‘गोर्खाली’)

तर, लखन थापा लगायत उनका सहयोद्धाहरूलाई कहिले मृत्युदण्ड दिइएको थियो ? यसबारे ठ्याक्कै गते वा तिथि स्पष्ट भएको ऐतिहासिक प्रमाण चाहिं हालसम्म फेला पर्न सकेको छैन । यद्यपि २०४६ सालको परिवर्तनपछि हरेक वर्षको फागुन २ गते लखन थापालाई मृत्युदण्ड दिइएको भन्दै केही संघ–संस्थाले सोही दिनलाई शहीद लखन थापा स्मृति दिवसका रूपमा सम्पन्न गर्दै आएका छन् । तर, लखन थापा स्मृति दिवस फागुन २ गते नै हो त ? यसबारेमा बहस गर्न जरूरी छ । ऐतिहासिक तथ्यहरूलाई विचार गर्दा लखन थापाले फागुन २ गते शहादत प्राप्त गरेको देखिंदैन ।

कहिले मारिएका थिए लखन थापा ?

लखन थापा फागुन २ गते मारिएका थिए भन्ने तर्क हालसम्म प्रचलित छ । यसको आधार के हो त ? यसबारेमा यो लेखकले लखन थापाको मुहारचित्र बनाउन लगाउनेदेखि उनलाई शहीद घोषणा गराउने अभियानमा सक्रिय तत्कालीन ‘लाफा’ पत्रिकाका सम्पादक प्रदीप थापा मगर (अमेरिका निवासी उनी हाल: आफ्नो नाम प्रदीप परियार थापा लेख्छन्) सँग जिज्ञासा राखेको थियो । उनले बताए अनुसार लखन मारिएको साता दश दिनमा जंगबहादुर मरेको भन्ने किंवदन्तीको आधारमा फागुन २ मा लखन स्मृति दिवस मनाउन थालिएको हो ।

अहिलेसम्मको अनुश्रुति अनुसार लखन थापाले आफूले मृत्युदण्ड पाएको सात दिनपछि जंगबहादुरको मृत्यु हुनेछ भनी भविष्यवाणी गरेका थिए र जंगबहादुर मर्नुभन्दा सात दिनअघि लखन थापालाई झुण्ड्याएर मृत्युदण्ड दिएको हुन सक्छ भन्ने अनुमानको आधारमा लखन थापाले फागुन २ गते मृत्युदण्ड पाएको र त्यसैकोे आधारमा फागुन २ गतेलाई लखन थापा स्मृति दिवसका रूपमा स्थापित गरिएको देखिन्छ । यो अनुमानमाथि एकपटक विचार गरेर हेरौं ।

इतिहासकार दिनेशराज पन्तले ‘पूर्णिमा’ पूर्णाङ्क ३३ (भदौ २०३२:४६) मा उल्लेख गरे अनुसार जंगबहादुर राणाको मृत्यु वि.सं. १९३३ चान्द्रमास अनुसार फागुन शुक्लद्वादशी उप्रान्त त्रयोदशीमा भएको हो । यसलाई सौर्यमासमा गणना गर्दा उनको मृत्यु वि.सं. १९३३ फागुन १६ गते भएको देखिन्छ ।

“म मरेको सात दिनपछि जंगबहादुरको पनि मृत्यु हुनेछ” भन्ने लखन थापाको भविष्यवाणी पूरा भएकै हो भने पनि लखन थापाको मृत्यु फागुन ९ गते भएको हुनुपर्छ । तर भविष्यवाणी गरेकै आधारमा लखन थापाले शहादत पाएको मिति किटान गर्दा त्यो इतिहाससम्मत हुन सक्दैन ।

दिन र गते नै नतोके पनि केही इतिहासकारले लखन थापा र उनका सहयोगीहरूलाई वि.सं. १९३३ पुस महिनामा मृत्युदण्ड दिइएको उल्लेख गरेका छन् ।

इतिहासकार पुरुषोत्तमशमशेर जबराले ‘लुकेछिपेका प्रतिभाहरू’ (२०६८:२७) मा लखन लगायत उनका ६ जना साथीहरूलाई वि.सं. १९३३ पुस महिनामा झुण्ड्याएर मृत्युदण्ड दिइएको उल्लेख गरेका छन् ।

लखन थापा प्रकरणबारे इतिहासकार पुरुषोत्तमशमशेर राणाको सङ्ग्रहमा रहेको हस्तलिखित पाण्डुलिपि (स्रोत: उमेश राना ‘गोर्खाली’)

यसैगरी इतिहासकार ज्ञानमणि नेपालले पनि आफ्नो पुस्तक ‘नेपालनिरुपण’ (२०५५:३३९) मा लखन थापा लगायत उनका मुख्य अनुयायीलाई वि.सं. १९३३ पुस महिनामै मृत्युदण्ड दिइएको उल्लेख गरेका छन् ।

यताबाट हेर्दा लखन थापालाई मृत्युदण्ड दिइएको मिति वि.सं. १९३३ पुस महिना देखिन आयो । यस्तो मिति उल्लेख गर्ने पुरुषोत्तमशमशेर जबरा शासनको पारिवारिक अन्तरकथाहरूलाई पनि निफनेर इतिहास लेख्ने इतिहासकार भएका हुँदा उनले उल्लेख गरेको लखन थापाको मृत्युदण्डको मितिलाई गम्भीरतापूर्वक नियाल्नु जरूरी देखिन्छ । इतिहासकार नेपाल पनि तथ्यको गहिराइमा नपुगी लेख्ने इतिहासकार होइनन् ।

लखन थापा सम्बन्धी ऐतिहासिक तथ्यबारे विचार गर्दा १९३३ सालमै गोरखकाली मन्दिरमा चढाइएको ठूलो घण्टबारे उल्लेख हुनु पनि जरूरी देखिन्छ ।

तुलसीराम वैद्यले ‘प्रथम शहीद’ वर्ष १ अङ्क १ (२०६७:२७)मा र तुलसीराम वैद्य र धनबज्र बज्राचार्यले ‘गोरखाको ऐतिहासिक सामग्री’ (२०२९:३२–३३)मा उल्लेख गरेअनुसार लखन थापालाई मृत्युदण्ड दिइसकेपछि सरकारले गोरखाका जनतालाई पुरस्कारस्वरुप केही रुपैयाँ दिन खोजेको थियो । तर गोरखाका जनताले उक्त रकम बुझ्न चाहेनन्, बरु उनीहरूकै चाहनाअनुसार सो रुपैयाँबाट लखन थापाकै नाममा घण्ट बनाएर गोरखकाली मन्दिरमा चढाइयो । उक्त घण्ट लखन थापाकै नाममा चढाइएको भन्ने स्थानीय अनुश्रुतिलाई इतिहासकारहरू वैद्य र बज्राचार्यले आफ्नो ऐतिहासिक आधारका रूपमा उल्लेख गरेका छन् ।

घण्टमा उल्लेख भएको अभिलेख अनुसार मेजर कप्तान शमशेरजंग थापा क्षेत्री र सुब्बा वीरमान थापा क्षेत्री मार्फत गोरखा शहरका बासिन्दाको नाममा यो घण्ट चढाएको देखिन्छ । घण्टमा वि.सं. १९३३ माघ सुदी ८ रोज ४ तिथि उल्लेख छ । यी दुवै जना हिजो लखन थापाको विद्रोह दबाउन खटिने मुख्य सरकारी अधिकारी भएकाले यो घण्ट लखन थापालाई दिइएको मृत्युदण्डप्रति प्रायश्चित गर्न उनीहरूले नै चढाएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

एकातिर लखन थापालाई मृत्युदण्ड दिइएपछि घण्ट चढाइएको भन्ने स्थानीय अनुश्रुति हुनु र अर्कातिर घण्टमा वि.सं. १९३३ माघ सुदी ८ रोज ४ तिथि उल्लेख हुनुले लखन थापालाई फागुन २ गते नभई पुस महिनामै मृत्युदण्ड दिइएको थियो भन्ने तर्क निकै बलियो हुने देखिन्छ ।

लखन थापालगायतले शहादत प्राप्त गरेको मितिको किटानीका लागि उनीहरूकै स्मृतिमा गोरखा बुङ्कोटमा हरेक वर्ष गरिने आध्यात्मिक अनुष्ठानलाई पनि गम्भीरतापूर्वक नियालेर हेर्नुपर्ने हुन्छ ।

गोरखामा दिवंगत आत्माहरूलाई पूजा गर्ने प्रचलनअनुसार पुसको पहिलो पञ्चमीमा लखन थापालगायतको पूजा गर्ने चलन चल्दै आएको छ । गोरखाका मगरहरू मृत्युदण्डपछि लखन थापा र उनका सहयोद्धाहरू देवतामा परिणत भएको ठान्छन् । उनीहरूको स्मृतिमा गरिने पूजाको नाम हो, ‘भँयरी पूजा’ । यो पूजालाई ‘लखन्या पूजा’ पनि भनिन्छ । यो पूजामा लखन थापालाई भँयरी देवताका रूपमा पूजा गर्छन् ।

लखन थापाका सहयोद्धा जयसिंह (जहरे) चुमीका सन्तानले यो पूजा गर्दै आएका छन् (डा. हर्षबहादुर बुढामगर, ‘मगर जाति र उनको सामाजिक संस्कार’–२०५३:२३)

लखन थापालाई मृत्युदण्ड पुस महिनामै दिइएको भन्ने तर्कलाई स्थापित गर्न लखन थापा लगायतको स्मृतिमा गरिंदै आएको भँयरी पूजालाई स्मृतिमा राख्न जरूरी छ । त्यसैले भँयरी पूजा हुने दिन पुस महिनाको पहिलो पञ्चमीलाई शहीद लखन थापा मगरको स्मृति दिवसको रूपमा स्थापित गर्दा यसको ऐतिहासिक महत्त्व पनि भरपर्दाे हुने देखिन्छ ।

लखन थापाको स्मृतिसँगै उनी सहित मृत्युदण्ड भोगेका अन्य ६ जना सहयोद्धाहरूको पनि सम्झना र उनीहरूको परिवारको खोजीका लागि प्रतिबद्धता हुनसके सुनमा सुगन्ध हुनेथियो ।

पात्रोअनुसार वि.सं. १९३३ मा पुस महिनाको पहिलो पञ्चमी ८ गते परेको थियो ।

लेखक
राजकुमार दिक्पाल

राजकुमार दिक्पाल इतिहासमा रुचि राख्ने सञ्चारकर्मी हुन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?