१८ माघ, खोटाङ । खोटाङमा निर्वाचन प्रहरीका लागि १० दिने तालिम सुरु भएको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटाइने निर्वाचन प्रहरीका लागि माघ १८ गतेदेखि तालिम सुरु गरिएको हो ।
निर्वाचन प्रहरीको तालिम माघ २७ गतेसम्म सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए ।
खोटाङमा कुल १ हजार २८२ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । नेपाल प्रहरीमार्फत १ हजार १८६ जना र शसस्त्र प्रहरी अन्तरगत ९६ जना निर्वाचन प्रहरी भर्ना भएका हुन् ।
नेपाल प्रहरी अन्तरगत भर्ना भएका निर्वाचन प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय, प्रहरी निरिक्षक कार्यरत रहेको इलाका प्रहरी कार्यालय हलेसी, ऐसेलुखर्क, खोटाङबजार र चिसापानी लगायतका इकाईमा तालिमको व्यवस्था मिलाइएको छ ।
सशस्त्र प्रहरी अन्तरगत भर्ना भएका निर्वाचन प्रहरीलाई भने शसत्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक्वाटर हलेसी, मझुवागढीमा तालिमको व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दिक्तेलको माटिकोरे, कबर्ड हल लगायतका स्थानमा निर्वाचन प्रहरीलाई तालिम दिने व्यवस्था गरेको जनाएको छ ।


प्रतिक्रिया 4