८ माघ, खोटाङ । खोटाङमा निर्वाचन प्रहरीका लागि माग गरिएभन्दा कम आवेदन परेको छ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ हजार २८२ जना निर्वाचन प्रहरी भर्नाका लागि आह्वान गरिएको थियो । तर फाराम भर्नेको संख्या जम्मा १ हजार १७३ जनाको मात्रै भयो ।
निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्ति उपसमिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार मागअनुसारको आवेदन नआएपछि दिनसमेत थपिएको थियो ।
यहाँ दरखास्त दिनका लागि पुस २५ देखि माघ १ गतेसम्मका लागि समय तोकिएको भए पनि माघ ३ सम्म लम्ब्याइएको थियो ।
दर्खास्त दिएकाहरूमध्येबाटै आज (माघ ८)दिक्तेलको माटिकोरे खेलमैदानमा लिखित तथा मौखिक परीक्षा गरिएको छ ।
माघ १२ गतेभित्र निर्वाचन प्रहरी छनोटको नतिजा सार्वजनिक गर्नुपर्ने कार्यतालिका छ ।

प्रतिक्रिया 4