१८ माघ, विराटनगर । वीरेन्द्रसभा गृहमा कोशी प्रदेशसभाको हिउँदे अधिवेशन सञ्चालनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच सम्झौता भएको छ । वीरेन्द्र सभागृहमा प्रदेशसभा बैठक सञ्चालनका लागि आइतबार सम्झौता भएको हो ।
महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र प्रदेशसभा सचिवालयका तर्फबाट प्रदेशसभा सचिव सुदर्शन खड्काले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार १८ माघदेखि १७ साउन २०८३ सम्म ६ महिनाका लागि वीरेन्द्र सभागृह प्रदेशसभा सञ्चालनका लागि प्रयोग गरिनेछ । सो अवधिमा प्रदेशसभा सचिवालयले महानगरपालिकालाई मासिक ८ लाख रुपैयाँ भाडा बुझाउनेछ ।
सम्झौताको अवधि समाप्त हुनुभन्दा एक महिना अगावै दुवै पक्षको सहमतिमा करार अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ । प्रदेशसभा सचिवालयले सम्झौता अवधि सकिनुअघि नै करार अन्त्य गर्न चाहेमा एक महिना अगावै सूचना दिनुपर्नेछ ।
गत २४ भदौको जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवनमा आगजनी हुँदा भवन पूर्ण रूपमा ध्वस्त भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालय र भवन विराटनगरसँगै जोडिएको कृषि बजारमा सारिएको थियो । कृषि बजारमै संरचना बनाउन ढिलो भएपछि प्रदेशसभा सञ्चालनका लागि वीरेन्द्र सभागृह भाडामा लिइएको थियो । प्रदेशसभा बैठक २५ माघदेखि सुरु हुनेछ ।
प्रतिक्रिया 4