News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा विश्वविद्यालयमा आयोजना गरिएको 'हल्ट प्राइज' को ग्रान्ड फिनाले सफलतापूर्वक सम्पन्न भएको छ।
- ४६ भन्दा बढी टिम सहभागी भएको प्रतिस्पर्धामा 'टेड्स आइसक्रिम' टिमले उपाधि जित्दै राष्ट्रिय चरणका लागि छनोट भएको छ।
- प्रतियोगिताले उद्यमशील सोच, नवप्रवर्तन तथा नेतृत्व विकासलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको क्याम्पस निर्देशक अभिषेक सुवेदीले बताए।
१९ माघ, पोखरा । पोखरा विश्वविद्यालयमा आयोजना गरिएको ‘हल्ट प्राइज’ को ग्रान्ड फिनाले सफलतापूर्वक सम्पन्न भएको छ।
क्याम्पस निर्देशक अभिषेक सुवेदीको नेतृत्वमा सम्पन्न उक्त क्याम्पसस्तरीय आइडिया पिचिङ तथा स्टार्टअप प्रतिस्पर्धामा पोखरा विश्वविद्यालय अन्तर्गतका विभिन्न सम्बद्ध कलेजहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यार्थीहरूका लागि ‘नोबेल पुरस्कार’ सरह मानिने हल्ट प्राइज विश्वभरका कलेज तथा विश्वविद्यालयहरूमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय उद्यमशीलता प्रतियोगिता हो। यस सिजनमा कुनै पनि विषयमा आधारित (अनलिमिटेड थिम) प्रतिस्पर्धा आयोजना गरिएको थियो, जसमा ४६ भन्दा बढी टिमहरूले सहभागिता जनाएका थिए।
कडा प्रतिस्पर्धापछि ‘टेड्स आइसक्रिम’ टिमले उपाधि जित्दै राष्ट्रिय चरणका लागि छनोट हुन सफल भएको छ। तेरेशा भट्ट र मनिष रेग्मी सम्मिलित उक्त टिमले अन्तिम चरणमा सात टिमलाई पछि पार्दै विजेता बनेको हो। टिमले १० हजार रुपैयाँ नगद पुरस्कारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेको छ।
त्यस्तै, टिम प्रणादा दोस्रो स्थानमा र टिम रेमेम तेस्रो स्थानमा रहन सफल भए। पहिलो र दोस्रो स्थान हासिल गर्ने दुवै टिमका मेन्टर पूर्व विजेता विक्रम धामी रहेका थिए।
क्याम्पस निर्देशक छनोट पुरस्कार टिम डोको (सब्यता भुर्तेल) ले प्राप्त गरेको छ, जसका मेन्टर पनि विक्रम धामी नै रहेका थिए।
उद्यमशील सोच, नवप्रवर्तन तथा नेतृत्व विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थप प्रेरणा प्रदान गरेको क्याम्पस निर्देशक अभिषेक सुवेदीले बताए।
प्रतिक्रिया 4