News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी पुरुष टी-२० विश्वकप आगामी शनिबारदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ र सबै २० टोलीको अन्तिम १५ सदस्यीय टोली घोषणा भइसकेको छ।
- यसपटकको प्रतियोगितामा इटली पहिलोपटक सहभागी हुँदैछ भने ९ वटा एसोसियट राष्ट्रहरूको सहभागिता रहेको छ जसले विश्वकपको व्यापकता बढाएको छ।
- प्रतियोगितामा भारत, अमेरिका, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान, अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे, आयरल्यान्ड, ओमान, इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड, नेपाल, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई समूहमा विभाजित छन्।
२० माघ, काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप आगामी शनिबारदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ ।
प्रतियोगिताका लागि सबै २० टिमहरूको अन्तिम १५ सदस्यीय टोली पनि घोषणा भइसकेको छ ।
यसपटकको प्रतियोगितामा इटलीले पहिलोपटक सहभागिता जनाउँदैछ भने ९ वटा एसोसियट राष्ट्रहरूको सहभागिता रहेको छ ।
प्रतियोगितामा सहभागी सबै २० टोलीबारे संक्षिप्त परिचय अनि ती टोलीमा रहेका खेलाडीहरू यहाँ प्रस्तुत गरिएको छ ।
समूह ए
भारत

भारतले हालसम्म दुईपटक टी-२० विश्वकपको उपाधि जितेको छ । भारतले सन् २००७ को सुरुवाती संस्करण र २०२४ को पछिल्लो संस्करणको उपाधि जितेको थियो ।
भारतीय टोलीको कप्तानमा सूर्यकुमार यादव छन् । भारत टी-२०आई वरियतामा शीर्ष स्थानमा छ ।
पछिल्लो समय शानदार लयमा देखिएको भारतीय टोली लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक उपाधि जित्ने दाउमा छ ।
सन् २०१४ मा पनि फाइनल पुगेको भारतले उपाधि जित्न सकेको थिएन भने २०१६ र २०२२ मा सेमिफाइनलसम्म पुगेको थियो ।
भारतको टोली : सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, तिलक वर्मा, सञ्जु सामसन, शिवम दुबे, इशान किशन, हार्दिक पान्ड्या, अर्शदीप सिंह, जसप्रीत बुमराह, हर्षित राणा, वरुण चक्रवर्ती, कुलदीप यादव, अक्षर पटेल, वाशिङ्टन सुन्दर, रिंकु सिंह
अमेरिका

अमेरिकाले दोस्रोपटक टी-२० विश्वकप खेल्दै छ । अमेरिकाले गत संस्करण आफ्नै आयोजनामा भएको संस्करणमार्फत डेब्यू गरेको थियो ।
टी-२०आई वरियतामा १८औं स्थानमा रहेको अमेरिकी टोलीको कप्तानमा मोनांक पटेल छन् । अमेरिकाले गत संस्करणमा समूह चरण पार गर्ने क्रममा पाकिस्तानलाई हराएको थियो भने सुपर ८ मा प्रवेश गरेर यसपटक सोझै विश्वकपमा स्थान पक्का गरेको थियो ।
अमेरिकी टोली : मोनांक पटेल (कप्तान), जेसी सिंह, आन्द्रियस गौस, शेहान जयसूर्या, मिलिन्द कुमार, शयान जहांगिर, साइतेजा मुक्कामाला, सञ्जय कृष्णमूर्ति, हर्मीत सिंह, नोस्थुस केन्जिगे, शाड्ली भान शाकवाइक, सौरभ नेत्राभल्कर, अली खान, मोहम्मद मोहसिन, शुभम रञ्जाने
नामिबिया

नामिबियाले लगातार चौथोपटक आईसीसी पुरुष टी–२० विश्वकप खेल्न लागेको छ । अफ्रिका रिजनल छनोटबाट जिम्बाबेसँगै नामिबियाले आईसीसी टी-२० विश्वकपमा स्थान बनाएको हो ।
नामिबियाले सन् २०२१ देखि यता निरन्तर विश्वकप खेल्दै आइरहेको छ । सोही संस्करणमा सुपर १२ मा पुगेको नामिबिया त्यसयता भने समूह चरणमै सीमित छ ।
टी-२०आई वरियतामा १५औं स्थानमा रहेको नामिबियाको कप्तानमा जेरार्ड एरासमस छन् ।
नामिबियाको टोली : जेरार्ड एरास्मस (कप्तान), जेन ग्रीन, बर्नार्ड स्कोल्ट्ज, रुबेन ट्रम्पेलम्यान, जेजे स्मिट, जान फ्राइलिन्क, लरेन स्टिनक्याम्प, मलान क्रुगर, निकोल लफ्टी–इटन, ज्याक ब्रासेल, बेन शिकोङ्गो, जेसी बाल्ट, डिलन लाइकर, डब्ल्युपी मायबर्ग, म्याक्स हाइनगो, रिजर्भ: अलेक्जेन्डर भोल्सेन्क
नेदरल्यान्ड्स

नेदरल्यान्ड्सले यसअघि ६ पटक टी-२० विश्वकप खेलिसकेको छ । सन् २००९ मा पहिलोपटक टी-२० विश्वकप खेलेको नेदरल्यान्ड्सले समूह चरण पार गर्न सकेको थिएन ।
त्यसपछि नेदरल्यान्ड्सले सन् २०१४ देखि यताको हरेक संस्करणमा सहभागिता जनाएको छ भने सन् २०१४ र २०२२ को संस्करणमा समूह चरण पनि पार गरेको थियो ।
टी-२०आई वरियतामा १३औं स्थानमा रहेको नेदरल्यान्ड्सले युरोपियन छनोट पार गर्दै टी-२० विश्वकपमा स्थान बनाएको थियो । कप्तानमा स्कट एडवार्ड्स छन् ।
नेदरल्यान्ड्सको टोली : स्कट एड्वार्ड्स (कप्तान), कोलिन एकरम्यान, नोआ क्रोस, बास डे लिडे, आर्यन दत्त, फ्रेड क्लासेन, काइल क्लेन, माइकल लेभिट, जाक लायन–क्यासेट, म्याक्स ओ’डाउड, लोगन भान बिक, टिम भान डर गुग्टेन, रोलोफ भान डर मेरवे, पल भान मिकेरेन, साकिब जुल्फिकार
पाकिस्तान

पाकिस्तानले एक पटक टी-२० विश्वकपको उपाधि जितेको छ । सन् २००९ मा पाकिस्तानले विश्वकपको उपाधि जितेको थियो । गत संस्करण भने पाकिस्तान समूह चरणबाटै बाहिरिएको थियो ।
टी-२०आई वरियताको छैटौं स्थानमा रहेको पाकिस्तानले विश्वकपअघि अस्ट्रेलियासँगको घरेलु शृंखला क्लिन स्वीप गरेर आएको छ । टोलीको कप्तानमा सलमान अली आघा छन् ।
पाकिस्तानको टोली : सलमान अली आघा (कप्तान), अबरार अहमद, बाबर आजम, फहीम अशरफ, फखर जमान, ख्वाजा नफाय, मोहम्मद नवाज, मोहम्मद सलमान मिर्जा, नसीम शाह, साहिबजादा फरहान, साइम अयुब, शाहिन शाह अफ्रिदी, शादाब खान, उस्मान खान, उस्मान तारिक
समूह बी
अस्ट्रेलिया

टी-२०आई वरियताको दोस्रो स्थानमा रहेको अस्ट्रेलिया एकपटकको च्याम्पियन टोली हो । अस्ट्रेलियाले सन् २०२१ को संस्करणमा उपाधि जित्दै सबै आईसीसी प्रतियोगिताको उपाधि जित्ने टोली बनेको थियो ।
अस्ट्रेलिया गत संस्करणको टी-२० विश्वकपमा समूह चरण पार गरेर सुपर ८ सम्म पुगेको थियो भने त्यहाँबाट अगाडि बढ्न सकेन । अस्ट्रेलियन टोलीको कप्तानमा मिचेल मार्श छन् ।
विश्वकपअघि पाकिस्तानसँगको शृंखलामा अधिकांश दोस्रो रोजाइका खेलाडी खेलाएको अस्ट्रेलियाले कुनै पनि खेल जित्न सकेन ।
अस्ट्रेलियाको टोली : मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, कूपर कोनोली, टिम डेभिड, बेन डारशुइस, क्यामरन ग्रीन, नेथन एलिस, जोश हेजलवूड, ट्राभिस हेड, जोश इंग्लिस, म्याथ्यु कुहनेमान, ग्लेन म्याक्सवेल, म्याथ्यु रेन्शअ, मार्कस स्टोइनिस, एडम जाम्पा
श्रीलंका

श्रीलंका पनि एकपटकको च्याम्पियन टोली हो । श्रीलंकाले सन् २०१४ मा टी-२० विश्वकपको उपाधि जितेको थियो ।
टी-२०आई वरियतामा आठौं स्थानमा रहेको श्रीलंकाले विश्वकपअघि इंग्ल्यान्डसँग सिरिज खेलिरहेको छ जहाँ २ खेलमा पराजित भइसकेको छ ।
श्रीलंकन टोलीको कप्तानमा दसुन शनाका छन् ।
श्रीलंकाको टोली : दसुन शनाका (कप्तान), पथुम निसान्का, कमिल मिशारा, कुसल मेन्डिस, कमिन्दु मेन्डिस, कुसल जनिथ परेरा, चरिथ असालंका, जनिथ लियानागे, पवन रथनायके, वानिन्दु हसरंगा, दुनिथ वेल्लालागे, महीश थिक्शाना, दुश्मन्था चामेरा, मथीशा पाथिराना, इशान मालिंगा
जिम्बाबे

जिम्बाबेले यसअघि ६ पटक टी-२० विश्वकप खेलेको छ । सन् २००७ को पहिलो संस्करण खेलेको जिम्बाबेले २००९ को प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।
सन् २०२१ को विश्वकपका दौरान निलम्बित जिम्बाबेले सन् २०२२ को विश्वकप खेल्यो भने २०२४ का लागि छनोट हुन सकेन । यसपटक भने अफ्रिकन छनोटको च्याम्पियन बनेर विश्वकप खेल्दै छ ।
जिम्बाबेले हालसम्म समूह चरण पार गर्न भने सकेको छैन । टी-२०आई वरियतामा जिम्बाबे १२औं स्थानमा छ । कप्तानमा सिकन्दर राजा छन् ।
जिम्बाबेको टोली : सिकन्दर राजा (कप्तान), ब्रायन बेनेट, रायन बर्ल, ग्रेम क्रेमर, ब्राड्ली इभान्स, क्लाइभ माडान्डे, टिनोटेन्डा मापोसा, ताडिवानाशे मरुमानी, वेलिङ्टन मसाकाड्जा, टोनी मुन्योङ्गा, टाशिङ्गा मुसेकिवा, ब्लेसिङ मुजाराबानी, डिओन मायर्स, रिचार्ड एन्गाराभा, ब्रेन्डन टेलर
आयरल्यान्ड

आयरल्यान्डले सन् २००७ को सुरुवाती संस्करणबाहेक त्यसपछिका हरेक संस्करणमा सहभागिता जनाउँदै आएको छ ।
सन् २००९ मा समूह चरण पार गरेको आयरल्यान्ड २०२२ मा पनि दोस्रो चरणमा पुगेको थियो । अन्य संस्करणमा भने समूह चरण पार गर्न सकेको छैन ।
टी-२०आई वरियतामा ११औं स्थानमा रहेको आयरल्यान्डको कप्तानमा पल स्टर्लिङ छन् ।
विश्वकपअघि आयरल्यान्डले इटलीसँग शृंखला खेलेको थियो जहाँ सुरुवाती दुई खेल जित्दा अन्तिम खेलमा पराजित भयो ।
आयरल्यान्डको टोली : पल स्टर्लिङ (कप्तान), मार्क अडायर, रस अडायर, बेन कालिट्ज, कर्टिस क्याम्फर, ग्यारेथ डेलानी, जर्ज डकरेल, म्याथ्यु हम्फ्रिज, जोश लिटल, ब्यारी म्याकार्थी, ह्यारी टेक्टर, टिम टेक्टर, लोर्कान टकर, बेन ह्वाइट, क्रेग यङ
ओमान

टी-२० विश्वकप खेल्ने ९ एसोसियटमध्येको एक टिम हो ओमान । ओमानले चौथोपटक टी-२० विश्वकप खेल्दै छ ।
पहिलोपटक सन् २०१६ मा टी-२० विश्वकप खेलेको ओमानले सन् २०२१ र २०२४ मा विश्वकप खेल्दा २०२२ मा भने छनोट हुन सकेन ।
टी-२०आई वरियतामा ओमान २०औं स्थानमा छ । कप्तानमा जतिन्दर सिंह छन् ।
ओमानको टोली : जतिन्दर सिंह (कप्तान), विनायक शुक्ला, मोहम्मद नदीम, शकिल अहमद, हम्माद मिर्जा, वासिम अली, करण सोनावाले, शाह फैसल, नदीम खान, सुफ्यान मेहमूद, जय ओडेधरा, शफिक जन, आशिष ओडेधरा, जितेन रमणन्दी, आमिर कलीम
समूह सी
इंग्ल्यान्ड

दुईपटकको च्याम्पियन टोली इंग्ल्यान्ड यो समूहको सबैभन्दा बलियो टोली हो । आईसीसीको टी-२० वरियतामा इंग्ल्यान्ड तेस्रो वरियतामा छ ।
सन् २०१० र २०२२ मा टी-२० विश्वकपको उपाधि जितेको इंग्ल्यान्ड आक्रामक हिटर अनि उत्कृष्ट बलरहरू रहेको टिम हो ।
इंग्ल्यान्डको कप्तानमा युवा खेलाडी ह्यारी ब्रूक छन् । इंग्ल्यान्डले विश्वकपअघि श्रीलंकासँग ३ खेलको शृंखला खेलिरहेको छ जहाँ २-० को अग्रतामा छ ।
इंग्ल्यान्डको टोली : ह्यारी ब्रुक (कप्तान), रेहान अहमद, जोफ्रा आर्चर, टम ब्यान्टन, ज्याकब बेथेल, जस बट्लर, साम करान, लियाम डसन, बेन डकेट, विल ज्याक्स, जेमी ओभरटन, आदिल राशिद, फिल साल्ट, जोश टङ्ग, लुक वुड
वेस्ट इन्डिज

वेस्ट इन्डिज पनि दुईपटकको च्याम्पियन टोली हो । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को टी-२० विश्वकप उपाधि जितेको थियो ।
आईसीसी टी-२०आई वरियतामा वेस्ट इन्डिज सातौं स्थानमा छ । शाइ होपको कप्तानीमा रहेको वेस्ट इन्डिज पनि पावर हिटिङका लागि परिचित टोली हो ।
वेस्ट इन्डिजले विश्वकपअघि अफगानिस्तानसँग ३ खेलको शृंखला खेलेको थियो जहाँ २-१ ले पराजित भयो ।
वेस्ट इन्डिजको टोली : शाइ होप (कप्तान), शिमरोन हेटमायर, जोनसन चार्ल्स, रोस्टन चेज, म्याथ्यु फोर्ड, जेसन होल्डर, अकील होसिन, शमार जोसेफ, ब्रान्डन किङ, गुडाकेश मोटी, रोभमन पाउल, शेरफाने रदरफोर्ड, क्वेन्टिन स्याम्पसन, जेडन सिल्स, रोमारियो शेफर्ड
इटाली

इटली पहिलोपटक विश्वकप खेल्न लागेको टोली हो । युरोपियन छनोट पार गरेर विश्वकपमा डेब्यू गर्न लागेको इटली आईसीसी टी-२०आई वरियतामा २७औं स्थानमा छ ।
वायन म्याडसेनको कप्तानीमा रहेको इटलीले विश्वकपअघि आयरल्यान्डसँग टी-२०आई शृंखला खेलेको थियो जहाँ दुई खेल गुमाएपनि एक खेल जितेको थियो ।
एसोसियटकै अर्को बलियो टोली नामिबियालाई पनि हराइसकेको इटलीले अभ्यास खेलमा क्यानडालाई पराजित गरेको छ ।
इटलीको टोली : वायन म्याडसेन (कप्तान), मार्कस क्याम्पोपियानो, जियान पिएरो मिड, जैन अली, अली हसन, क्रिशान जोर्ज कालुगामागे, ह्यारी मानेन्ती, एन्थोनी मोस्का, जस्टिन मोस्का, सैयद नक्भी, बेन्जामिन मानेन्ती, जसप्रीत सिंह, जेजे स्मट्स, ग्रान्ट स्टुअर्ट, थोमस ड्राका
स्कटल्यान्ड

स्कटल्यान्ड यो विश्वकप खेल्ने सबैभन्दा भाग्यमानी टोली हो । आईसीसी टी-२०आई वरियतामा स्कटल्यान्ड १४औं स्थानमा छ ।
स्कटल्यान्ड युरोपियन छनोट पार गर्न नसक्दा विश्वकपमा छनोट भएको थिएन । तर बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा खेल्न जान अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई सहभागी नगराउने निर्णय गरेको थियो । यस्तोमा वरियताका आधारमा स्कटल्यान्डले मौका पाएको थियो ।
स्कटल्यान्डले सातौंपटक टी-२० विश्वकप खेल्दै छ । सन् २००७ र २००९ मा खेलेको स्कटल्यान्डले त्यसपछिका तीन संस्करण- २०१०, २०१२ र २०१४ मा छनोट हुन सकेन भने त्यसयता हरेक संस्करणमा खेल्दै आएको छ
गत संस्करणको टी-२० विश्वकपमा स्कटल्यान्डले समूह चरण पार गर्न नसक्दा नेपालजस्तै क्षेत्रीय छनोटमा खेलेको थियो ।
स्कटल्यान्डको टोली : रिची बेरिङ्टन (कप्तान), टम ब्रुस, म्याथ्यु क्रस, ब्राड्ली करी, ओलिभर डेभिडसन, क्रिस ग्रिभ्स, जैनुल्लाह इहसान, माइकल जोन्स, माइकल लिस्क, फिन्ले म्याकक्रेथ, ब्रान्डन म्याकमुलन, जर्ज मुन्सी, सफ्यान शरीफ, मार्क वाट, ब्राड्ली ह्विल
नेपाल

नेपाल यो समूहको तेस्रो एसोसियट राष्ट्र हो । नेपालले तेस्रोपटक टी-२० विश्वकप खेल्न लागेको हो ।
सन् २०१४ मा विश्वकप डेब्यू गरेको नेपालले त्यसपछि सन् २०२४ मा दोस्रोपटक विश्वकप खेलेको थियो । दुवै संस्करणमा समूह चरण पार गर्न सकेन ।
गत संस्करणमा नेपालले दक्षिण अफ्रिकासँगको खेलमा जितको नजिक पुगेर १ रनको हार बेहोरेको थियो ।
नेपाल आईसीसी टी-२०आई वरियतामा १६औं स्थानमा छ । टोलीको कप्तानमा रोहित पौडेल छन्।
नेपालको टोली: रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल, लोकेश बम
समूह डी
दक्षिण अफ्रिका

दक्षिण अफ्रिका गत संस्करणको उपविजेता टोली हो । आईसीसी टी-२०आई वरियतामा पाँचौं स्थानमा रहेको दक्षिण अफ्रिका एइडेन मार्क्रमको कप्तानीमा खेल्दैछ ।
हरेक संस्करणमा समूह चरण पार गरेको दक्षिण अफ्रिकाले एकपटक फाइनल खेल्दा दुईपटक सेमिफाइनलसम्मको यात्रा तय गरेको छ ।
दक्षिण अफ्रिका सन् २००९ र २०१४ को संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो । गत संस्करणको फाइनलमा भारतसँग पराजित हुँदै पहिलो उपाधिबाट चुकेको थियो ।
दक्षिण अफ्रिकाको टोली : एइडेन मार्करम (कप्तान), कोर्बिन बोश, डेवाल्ड ब्रेभिस, क्विन्टन डिकक, मार्को यानसेन, जर्ज लिन्डे, केशव महाराज, क्वेना माफाका, डेभिड मिलर, लुङ्गी एनगिडी, एनरिच नोर्त्जे, कगिसो रबाडा, रायन रिकेल्टन, जेसन स्मिथ, ट्रिस्टन स्टब्स
न्युजिल्यान्ड

न्युजिल्यान्ड आईसीसी टी-२०आई वरियतामा चौथो स्थानमा छ । टोलीको कप्तानमा मिचेल सान्टनर छन् ।
गत संस्करणबाहेक हरेक संस्करणमा न्युजिल्यान्डले समूह चरण पार गरेर अघि बढेको छ । तीनपटक सेमिफाइनलसम्मको यात्रा तय गरेको न्युजिल्यान्ड एकपटक फाइनल खेलेको भएपनि उपाधि जित्न सकेको छैन ।
न्युजिल्यान्ड सन् २०२१ को फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । सन् २००७ को सुरुवाती संस्करण, २०१६ अनि २०२२ मा सेमिफाइनलसम्म पुगेको थियो ।
न्युजिल्यान्डको टोली : मिचेल सान्टनर (कप्तान), फिन एलेन, माइकल ब्रेसवेल, मार्क चापमान, डेभोन कनवे, ज्याकब डफी, लकी फर्ग्युसन, म्याट हेनरी, काइल जेमिसन, डारिल मिचेल, जेम्स निशम, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, टिम सेफर्ट, इश सोधी
अफगानिस्तान

अफगानिस्तान पछिल्लो समय उत्कृष्ट क्रिकेटिङ राष्ट्रको रूपमा स्थापित भएको छ । टी-२०आई वरियतामा १०औं स्थानमा रहेको अफगानिस्तानको कप्तानमा राशिद खान छन् ।
सन् २०१० मा टी-२० विश्वकप डेब्यू गरेको अफगानिस्तानले त्यसयता हरेक संस्करणमा खेल्दै आएको छ । गत संस्करणको सुपर ८ मा अस्ट्रेलियालाई हराउँदै सेमिफाइनलसम्म पुगेको अफगानिस्तानले ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।
अफगानिस्तानले सन् २०१६ देखि यता हरेक संस्करणमा समूह चरण पार गर्दै आएको छ ।
अफगानिस्तानको टोली : राशिद खान (कप्तान), नूर अहमद, अब्दुल्लाह अहमदजाइ, सिदिकुल्लाह अतल, फजल हक फारुकी, रहमानुल्लाह गुरबाज, नवीन उल हक, मोहम्मद इशाक रहिमी, शाहिदुल्लाह कमाल, मोहम्मद नबी, गुलबदिन नइब, अजमतुल्लाह ओमरजाइ, मुजीब उर रहमान, दार्विश रसुली, इब्राहिम जद्रान
क्यानडा

क्यानडा यो समूहमा रहेको एसोसियट टोली हो । क्यानडाले पनि गत संस्करणको टी-२० विश्वकपमार्फत डेब्यू गरेको थियो ।
आईसीसी टी-२०आई वरियतामा क्यानडा १९औं स्थानमा छ । टोलीको कप्तानमा दिलप्रित बजवा छन् ।
क्यानडाको टोली : दिलप्रीत बजवा (कप्तान), अजयवीर हुन्डाल, अंश पटेल, डिलन हेइलिगर, हर्ष ठाकर, जसकरणदीप सिंह, कलीम सना, कंवरपाल ताथगुर, नवनीत धालीवाल, निकोलस किर्टन, रविन्द्रपाल सिंह, साद बिन जफर, शिवम शर्मा, श्रेयस मोभ्भा, युवराज साम्रा
यूएई

यूएई समूह ‘डी’ को अर्को एसोसियट राष्ट्र हो । यूएईले नेपालसँगै टी-२० विश्वकप एसिया-इएपी छनोट पार गरेर विश्वकपमा स्थान बनाएको थियो ।
यूएईले तेस्रोपटक टी-२० विश्वकप खेल्दै छ । सन् २०१४ मा पहिलोपटक टी-२० विश्वकप खेलेको यूएईले दोस्रोपटक २०२२ को विश्वकप खेलेको थियो । दुवैपटक समूह चरण भने पार गर्न सकेन ।
यूएई टी-२०आई वरियतामा १७औं स्थानमा छ । कप्तानमा मोहम्मद वासीम छन् ।
यूएईको टोली : मोहम्मद वसीम (कप्तान), अलिशान शरफु, आर्यांश शर्मा, ध्रुव पराशर, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, मयंक कुमार, मोहम्मद अरफान, मोहम्मद फारुक, मोहम्मद जवादुल्लाह, मोहम्मद जोहेब, रोहिद खान, सोहैब खान, सिमरनजीत सिंह
प्रतिक्रिया 4