२१ माघ, काठमाडौं । नेकपा (एमाले)ले पार्टीको चुनाव चिह्न परिवर्तन भएको भन्दै एआई प्रविधिबाट भ्रामक सामग्री तयार गरी प्रशारण गरिएकोप्रति आपत्ति जनाउँदै त्यस्ता कार्यमा संलग्नलाई तत्काल कानूनी कारबाही गर्न माग गरेको छ ।
पार्टीले बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचन लक्षित गतिविधिमा प्रविधिको गैरजिम्मेवार प्रयोग र भ्रामक प्रचारप्रति आपत्ति जनाएको हो ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले यसबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए ।
देशभर सञ्चालन भइरहेका निर्वाचनसम्बन्धी गतिविधि, प्रचार–प्रसारका शैलीमा प्रविधिको गैरराजनीतिक र गैरजिम्मेवार ढंगले प्रयोग भइरहेको भन्दै पार्टी यसको विरोधमा रहेको पनि उनले बताए ।
‘निर्वाचन प्रक्रियाअन्तर्गत देशभर सञ्चालन भइरहेका गतिविधिहरू, प्रचारप्रसारका शैली र अभिव्यक्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक मूल्य मान्यता, मर्यादा र निर्वाचन आचारसंहिता पालनको पुर्ण सुनिश्चितता गर्न पार्टी स्पष्ट रहेको प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ । प्रविधिको प्रयोग गैरजिम्मेवार र गैरराजनीतिक ढंगले भइरहेकोले नेकपा (एमाले) उक्त कार्यको विरोध गर्दछ,’ उनले भने ।
विभिन्न राजनीतिक दल, उम्मेदवार तथा पार्टीका निर्वाचन चिन्हबारे भ्रम फैलाउने उद्देश्यले कलाकारको प्रयोग र प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गर्ने प्रयास भइरहेको आरोप पनि उनले लगाए ।
‘विभिन्न राजनीतिक दलहरू, तिनका उम्मेदवारहरु तथा पार्टीका निर्वाचन चिन्हको बारेमा भ्रम फैल्याउने उद्देश्यले कलाकारहरुको प्रयोग तथा प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमणको प्रयासप्रति नेकपा (एमामले)को गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘पार्टीको चुनाव चिह्न परिवर्तन लगायतका भ्रामक समाचार सामग्रि तयार पारी प्रशारण गरी कलाकार लगायत जोसुकैलाई पनि कानूनी दायरामा ल्याउन हामी जोडदार माग गर्दछौँ । नेकपा (एमाले)को चुनाव चिन्ह सूर्य परिवर्तन भएको छ भन्नेसम्मका एआईद्वारा सिर्जना गरिएका सामग्रीप्रति हामी घोर आपत्ति जनाउन चाहन्छौँ ।’
प्रतिक्रिया 4