News Summary
Generated by OK AI. Editorially reviewed.- इटलीले पहिलो पटक टी-२० विश्वकपमा डेब्यू गर्दै नेपालकै समूहमा प्रतिस्पर्धा गर्नेछ।
- इटलीका कप्तान वायन माडसेनले दक्षिण अफ्रिकाको हक्की टिमबाट खेलिसकेपछि क्रिकेट विश्वकपमा कप्तानी गर्दै इतिहास रच्नेछन्।
- माडसेन टी-२० विश्वकपमा इटलीको नयाँ कप्तान चयन भएका हुन्।
२१ माघ, काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने १०औं संस्करणको आईसीसी टी-२० विश्वकपलाई लिएर अहिले एउटा टोलीको गज्जब चर्चा भइरहेको छ ।
फुटबलमा चार पटक विश्वकप जितिसकेको युरोपियन राष्ट्र इटली क्रिकेटमा यसै संस्करणबाट टी-२० विश्वकपमा डेब्यू गर्दैछ । पछिल्लो समय फुटबल विश्वकपमै छनोट हुन संघर्ष गरिरहेको इटलीले क्रिकेटको विश्वकपमा छनोट भएपछि नै इतिहास रचिसकेको छ ।
नेपालकै समूहमा रहेको इटलीले टी-२० विश्वकपका पूर्व विजेता इंग्ल्यान्ड र वेस्ट इन्डिज जस्ता टिमसँग खेल्नेछ ।
यही फेब्रुअरी ८ मा भारतको कोलकतास्थित एडेन गार्डेनमा स्कटल्यान्ड विरुद्ध खेल्नुअघि टसमा उत्रिँदा इटलीको लागि क्रिकेटमा नयाँ इतिहास रचिनेछ । यो टिमको इतिहास भयो ।
इटलीका कप्तान वायन माडसेनले पनि टी-२० विश्वकपमा अर्को इतिहास रच्दैछन् । उनी दुई फरक खेलको विश्वकप खेलेर इतिहास रच्ने संघारमा छन् ।
सन् २००६ मा २२ वर्षकै उमेरमा दक्षिण अफ्रिकाका लागि उनले हक्की विश्वकप खेलेका थिए । त्यसको दुई दशकपछि अर्थात ४२ वर्षको उमेरमा माडसेनले अर्को खेलको विश्वकप खेल्दैछन् । त्यो पनि फरक राष्ट्रबाट ।
उनी दुई फरक राष्ट्रबाट दुई फरक खेलको विश्वकप खेल्ने विश्वकै दुर्लभ खेलाडी बन्दैछन् । स्कटल्यान्ड विरुद्ध टी-२० विश्वकपमा टसका लागि मैदान उत्रिएपछि नै उनले त्यो इतिहास बनाउनेछन् ।

उनले दक्षिण अफ्रिकाको पुरुष राष्ट्रिय फिल्ड हक्की टिमका लागि ३९ खेल खेलेका छन् । उनले २००६ को कमनवेल्थ गेम्समा पनि दक्षिण अफ्रिकी हक्की टिमबाट खेलेका थिए ।
सन् २०१५ मा उनी बेल्पर हक्की क्लबको निर्देशक बनेका थिए । उनका भाई लोएड माडसनले पनि दक्षिण अफ्रिकाका लागि हक्की खेलेका छन् ।
माडसेन दक्षिण अफ्रिकाको नातल प्रोभिन्सको दर्बान बहरमा क्रिकेटिङ परिवारमै जम्नेर हुर्किएका हुन् ।
दायाँ हाते ब्याटर माडसेनले इटलीको राष्ट्रिय टिमबाट क्रिकेट खेलेका छन् भने दक्षिण अफ्रिकादेखि पाकिस्तान, युएई, इंग्ल्याण्ड, बंगलादेशमा फ्रेन्चाइज क्रिकेटहरु खेलेका छन् ।
उनले इटलीका लागि ७ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले २०५ रन बनाएका छन् भने अविजित ६१ रन उनको व्यक्तिगत उच्च स्कोर हो ।
यस्तै फस्ट क्लासमा २५३ खेल खेल्दै १७ हजार ६७ रन बनाएका छन् । अविजित २३१ उनको व्यक्तिगत उच्च स्कोर हो ।
लिस्ट ए मा ११७ खेलमा ३ हजार ८१९ रन बनाएका माडसेनले सबैखाले टी-२०मा गरी २१९ खेल खेलेका छन् भने ५ हजार ५१६ रन बनाएका छन् । टी-२० मा उनको व्यक्तिगत उच्च स्कोर अविजित १०९ छ ।
यी तथ्याङ्कले पनि उनी कस्ता खालको क्रिकेटर हो भन्ने पुष्टि गर्छ । उनले इंग्लयान्डको १०० बल क्रिकेट र भाइटालिटी ब्लास्ट दुवै प्रतियोगिता खेलेका छन् ।

काउन्टी क्रिकेटमा माडसेनको प्रदर्शन उत्कृष्ट छ । इंग्ल्यान्डको घरेलु क्रिकेटमा उच्च प्रदर्शन गरेपछि माडसेनले सन् इटालियन पासपोर्ट प्रयोग गर्दै इटलीका लागि सन् २०२४ को को टी-२० विश्वकपको युरोपियन क्वालिफायर खेलेका थिए । त्यसबेला इटली छनोटमा तेस्रो हुँदा अमेरिका र क्यारेबियन क्षेत्रमा भएको विश्वकपको टिकट काट्न असफल भएको थियो ।
यस पटक भने युरोपियन छनोटमा स्कटल्यान्डजस्तो बलियो टोलीलाई हराएर नेदरल्यान्ड्ससँगै युरोपियन छनोटबाट इटली टी-२० विश्वकपमा पुगेको हो ।
छनोटमा पूर्व अस्ट्रेलियन क्रिकेटर जो बर्न्सले इटलीका लागि कप्तानी गरेका थिए । तर इटलीले बर्न्सलाई विश्वकपअघि कप्तानबाट हटाएपछि माडसेनले भारत र श्रीलंकामा हुने टी-२० विश्वकपका लागि नयाँ कप्तान चयन गरेको हो ।
इटलीले क्रिकेट विश्वकपमा डेब्यु गर्दा माडसेनले पनि विश्वकपमा कप्तानी डेब्यु गर्नेछन् र दुई फरक खेल खेल्ने खेलाडीको इतिहास बनाउनेछन् ।
प्रतिक्रिया 4