+

बिहीबारदेखि बुढासुब्बा गोल्डकप, उद्घाटन खेलमा धरान र जर्जिया भिड्दै

२०८२ माघ  २१ गते १७:०२ २०८२ माघ २१ गते १७:०२

बुढासुब्बा गोल्डकपको २६ औं संस्करण धरान रंगशालामा बिहीबारदेखि सुरु हुँदैछ ।

बिहीबारदेखि बुढासुब्बा गोल्डकप, उद्घाटन खेलमा धरान र जर्जिया भिड्दै

२१ माघ, सुनसरी । अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २६ औं संस्करण धरान रंगशालामा बिहीबारदेखि सुरु हुँदैछ । आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले गोल्डकप सम्पन्न गर्न सबै तयारी पूरा भइसकेको जानकारी दिए ।

उनले मैदान, स्टेज, प्यारापिट र प्राविधिक टोली तयारीमा अवस्थामा रहेको बताए । ०५५ देखि धरान फुटबल क्लबले सुरु गरेको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता काठमाडौँ उपत्यका बाहिर पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता हो ।

प्रतियोगिताको उद्घाटन खेल नेपालबाट आयोजक धरान फुटबल क्लब र भारतको जर्जियन क्लब बीच हुनेछ । आयोजक क्लबले यसपटक धरानकै स्थानीय खेलाडीहरुलाई उतार्ने तयारी गरेको छ । भारतको जर्जियन क्लब भने बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागी हुँदैछ ।

‘आज (बुधबार) भुटान र भारतको टिम आउँदैछन् । प्रतिनिधिसभाको निर्वाचनको माहोल पनि भएको बेला प्रशासनले कार्यक्रमहरु आयोजनामा कडाइ गरेको छ,’ अध्यक्ष तामाङले भने, ‘तर पूर्व निर्धारित कार्यक्रम भएकाले प्रतियोगिताको लागि स्वीकृति पाएका छौं ।’

उनले प्रतियोगिता सञ्चालनको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीबाट केही सर्तसहित स्वीकृति पाएको बताए ।

चुनावी माहौलका कारण गएका बर्षमा झैं तामझामका साथ प्रतियोगिताको उद्घाटन नगर्ने पनि अध्यक्ष तामाङले बताए । यद्यपि, उद्घाटन खेलअघि दुवै टिमका खेलाडीहरु मैदान प्रवेश गर्दा सर्वसाधारणमा अटिज्मबारे सचेतना जगाउन र अटिज्म भएका बच्चाहरुलाई माया गर्न सन्देश दिनको लागि अटिज्म भएका बच्चालाई साथमा लिएर प्रवेश गर्ने अध्यक्ष तामाङले जानकारी दिए ।

प्रतियोगितामा साविक विजेता एनआरटी, उपविजेता चर्च ब्वाइज, जर्जियन क्लब, भारत, सातदोबाटो युथ क्लब, नेपाल पुलिस क्लब, पोखराको लालीगुराँस एशोसिएशन, झापा ११, रोयल थिम्पु, भुटान र आयोजक धरान फुटबल क्लब गरी १० वटा टिम सहभागी हुने आयोजकले जनाएको छ । यसअघि प्रतियोगिता ८ वटा टिम बीचमात्र सञ्चालन हुँदै आएको थियो ।

प्रतियोगितामा उपाधि विजेता टिमले ट्रफी र मेडलसहित नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउने छन् भने फाइनल खेल्ने दुई टिमबाट उत्कृष्ट खेलाडी छनोट गरेर उक्त पुरस्कार प्रदान गरिने छ ।

यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १० हजार पाउनेछन् भने उत्कृष्ट गोलरकक्ष, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार रुपैया पुरस्कार पाउनेछन् ।

सर्वाधिक गोलकर्ताले नगद ३५ हजार रुपैयाँ पाउनेछन् । धरान उपमहानगरपालिका संयोजक रहेको प्रतियोगिताको मुख्य प्रायोजक गोरखा ब्रुअरी प्रालि (गोर्खा वियर), सहप्रायोजक टेस्टी टेस्टी, चाउचाउ रहेको आयोजक क्लवले जनाएको छ ।

प्रतियोगितामा कुल १ करोड ७ लाख आय र ८७ लाख १५ हजार व्यय अनुमान गरिएको छ ।

बुढासुब्बा गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय