+
+
Shares

नेपालमै लटरम्म काजु फलाउने ‘नमुना’ विद्यालय

धेरैले त काजुको दानामात्र देखेका छन्, यसको माथि झुन्डिने ‘क्यास्यु एप्पल’ (काजुको फल) देखेका छैनन् । तर, सिन्धुलीको एउटा विद्यालयले यो फल लटरम्म फलाउन सफल भएको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ माघ २२ गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको नमुना माध्यमिक विद्यालयले चार वर्षअघि भारतबाट ल्याएका काजुका बिरुवाबाट व्यावसायिक खेती सफल बनाएको छ।
  • विद्यालयले काजुका फलबाट जाम र जेली उत्पादन गरी विद्यार्थीहरूलाई कृषि व्यवहारिक ज्ञान दिइरहेको छ।
  • विद्यालयले २१ प्रजातिका फलफूल खेती गरी बिक्रीबाट ४० देखि ५० हजार रुपैयाँ आम्दानी गरेको छ र दुधौलीलाई काजु हब बनाउने योजना बनाएको छ।

२२ माघ, काठमाडौं । अहिलेसम्म धेरै नेपालीका लागि काजु भनेको विदेश– खासगरी भारत वा भियतनामबाट प्याकेटमा आउने वस्तुमात्र हो, यो कस्तो ठाउँमा फल्छ ? यसको रुख कस्तो हुन्छ ? यसको फल कस्तो हुन्छ ? भन्ने एउटा रहस्य वा कौतुहलताको विषय हो ।

धेरैले त काजुको दानामात्र देखेका छन्, यसको माथि झुन्डिने ‘क्यास्यु एप्पल’ (काजुको फल) देखेका छैनन् । तर, सिन्धुलीको एउटा विद्यालयले यो फल लटरम्म फलाउन सफल भएको छ ।

नेपालको तराई र भित्री मधेसका फाँटहरू प्राय: धान, गहुँ र उखुका लागि परिचित छन् । भित्री मधेसकै सिन्धुलीको दुधौली नगरपालिका–९ लदाभिरस्थित नमुना माध्यमिक विद्यालयको हाताभित्र छिर्ने हो भने दृश्य अलि पृथक र उत्साहजनक देखिन्छ ।

विद्यालयको आकर्षणको केन्द्र भनेको परिसरमा रहेको बगैँचा हो । र, यस बगैँचाको सबैभन्दा मुख्य र आकर्षक पक्ष भनेको त्यहाँ गरिएको काजुको सफल खेती हो ।

भारतबाट चार वर्षअघि ल्याइएका दुई विशेष जातका काजु– रातो रङको ‘भेनुर्ला’ र पहेँलो रङको ‘उल्लाल’ विद्यालयको प्रधान विशेषता बनेको छ ।

नेपालमा सामान्यतया काजु आयात गरेर खाइने गरिन्छ । नेपालमा काजु खेती अझै सुरुवाती चरणमा नै छ । मोरङको पथरी शनिश्चरे, झापा, सप्तरी र धनुषाका कतिपय घरबारीमा पनि काजु उत्पादन भएका उदाहरण पनि छन् ।

नेपालमा काजु खेतीको सम्भावनाबारे धेरै चर्चा हुने गरे पनि यसलाई व्यावसायिक र शैक्षिक रूपमा अघि बढाउने उदाहरण कमै छन् । व्यक्तिगत प्रयास र विद्यालयस्तरबाट सुरु भएका यी अभ्यासले नेपाललाई काजुमा आत्मनिर्भर बनाउने व्यावसायिक मार्गप्रशस्त गरेका छन् ।

यस्तै बिरलै उदाहरणमध्ये एक बनेको छ– नमूना माध्यमिक विद्यालय । विद्यालयले आफ्नै हाताभित्र काजु फलाएर यसको व्यावसायिक खेतीको नयाँ सम्भावना देखाएको छ ।

विद्यालय हाताभित्र पस्ने जो कोही अहिले त्यहाँको बगैँचा देखेर लोभिन्छन् । यो विद्यालय सिंगो जिल्लाकै लागि कृषिको प्रयोगशाला र व्यावसायिक सम्भावनाको एउटा जीवन्त पाठशाला बनेको छ ।

विद्यालयका प्रधानाध्यापक मोहन शाही ठकुरीका अनुसार करिब चार वर्षअघि भारतबाट १० वटा काजुका बिरुवा ल्याएर बगैँचामा रोपिएको थियो । ती बिरुवाहरू अहिले हुर्किएर फल्न सुरु गरेका छन् ।

‘हाम्रो यो भूगोलमा पनि काजु खेती सम्भव रहेछ भन्ने कुरा अहिले प्रमाणित भएको छ,’ प्रधानाध्यापक ठकुरीले अनलाइनखबरसँग भने, ‘अघिल्लो वर्ष ५–७ वटा फल लागेकामा यसपालि लटररम्मै फल्यो ।’

सबैभन्दा रोचक पक्ष त के छ भने काजुको फल वास्तवमा कस्तो हुन्छ र यो कसरी फल्छ भन्ने कुरा धेरैका लागि एउटा रहस्य जस्तै थियो ।

विद्यालयका वरिष्ठ कृषि प्रशिक्षक सुमन अधिकारीले समेत यस विद्यालयमा आउनुअघि व्यक्तिगत रूपमा काजुको बोट र यसको वास्तविक फल नजिकबाट देखेका थिएनन् । काजुको रुख आफूले पनि विद्यालय परिसरमै देखेको उनी बताउँछन् ।

उनका अनुसार विद्यालयको बगैँचामा रातो र पहेँलो रङमा लटरम्म फलेका काजु देख्दा अहिले त्यहाँ पुग्ने जो कोही उत्सुक हुने गर्छन् ।

स्थानीय समुदायमा त काजु खेतीलाई लिएर एक किसिमको उत्साह नै पैदा भएको छ । प्रशिक्षक अधिकारीका अनुसार गाउँका मानिसहरू दिनहुँजसो विद्यालयको बगैँचामा काजु हेर्न र यसको बारेमा बुझ्न आउने गर्छन् ।

उनीहरूमा आफ्नै घरबारीमा पनि काजु रोप्ने तीव्र इच्छा देखिएको छ । ‘मानिसहरूले यो कसरी रोप्ने ? कति वर्षमा फल्छ ? र बिरुवा कहाँ पाइन्छ ? भन्दै सोधखोज गर्ने गरेका छन्,’ उनले भने ।

हावापानी र माटो

काजु खेतीका लागि कस्तो हावापानी चाहिन्छ भन्ने धेरैको जिज्ञासा हुन सक्छ । कृषि प्रशिक्षक अधिकारीका अनुसार काजुका लागि उष्ण हावापानी उपयुक्त हुन्छ । समुद्री सतहदेखि करिब १ हजार २ सयदेखि १ हजार ५ सय मिटरसम्मको उचाइमा यसको खेती सफल मानिन्छ ।

‘हाम्रो दुधौलीको हावापानी निकै तातो छ, जुन काजुका लागि बरदान साबित भयो,’ प्रशिक्षक अधिकारी भन्छन्, ‘माटोको कुरा गर्दा, ‘स्यान्डी लोम’ अर्थात् बलौटे दोमट माटो काजुका लागि सबैभन्दा उत्तम हुन्छ, यसको पीएच मान ५.५ देखि ७ सम्म हुनुपर्छ, जुन नमुना माविको बगैँचामा उपलब्ध छ ।’

काजु एक ‘एभरग्रिन’ अर्थात् सदाबहार वनस्पति हो । यसका पातहरू अन्य पतझड बिरुवाजस्तो एकैपटक झर्दैनन्, जसले गर्दा बगैँचा सधैँ हरियो देखिन्छ । सिँचाइका हकमा बिरुवा सानो छँदा विशेष ध्यान दिनुपर्छ, तर एक पटक सप्रिएपछि यसले सुक्खापन पनि केही हदसम्म सहन सक्छ । रुखमा झुन्डिएका स्याउ जस्तै देखिने ‘क्यास्यु’ र त्यसको तल झुन्डिएको ‘नट’ ले यहाँ आउने जो कोहीलाई आकर्षित गर्ने गर्छ ।

पोषण र आर्थिक महत्त्व

काजुलाई ‘नट्स’ को राजा मानिन्छ, तर यसको फलको महत्त्व पनि कम छैन । प्रशिक्षक अधिकारीका अनुसार काजुको फलमा भिटामिन ‘सी’ प्रचुर मात्रामा पाइन्छ ।

‘अमलामा भन्दा पनि पाँच गुणा बढी भिटामिन सी काजुको फलमा पाइन्छ,’ उनी भन्छन्, ‘यसका साथै यसमा म्याग्नेसियम, आइरन, प्रोटिन र स्वस्थ फ्याटको राम्रो मिश्रण हुन्छ ।’

आर्थिक रूपमा पनि काजु खेती महँगो छ । अहिले बजारमा कच्चा काजुको मूल्य प्रतिकिलो ८ सय रुपैयाँ हाराहारीमा छ भने प्रशोधन गरिएको काजु १ हजार ६ सयदेखि १ हजार ७ सय रुपैयाँसम्म बिक्री हुन्छ ।

विद्यालयका वरिष्ठ कृषि प्रशिक्षक अधिकारी यस वर्ष बगैँचाका केवल ७ वटा बोटबाट ५० किलोभन्दा बढी काजु उत्पादन हुनुले यस क्षेत्रमा काजुको व्यावसायिक सम्भावना प्रमाणित गरिदिएको बताउँछन् ।

विद्यार्थीका लागि ‘खुला विश्वविद्यालय’

यो विद्यालय केवल सैद्धान्तिक शिक्षा दिने थलोमात्र होइन । यहाँ कक्षा ९ देखि १२ सम्म कृषि विषयको पढाइ हुन्छ । हाल विद्यालयमा १ सय १९ जना विद्यार्थी कृषि संकायमा अध्ययनरत छन् । यो विद्यालय प्राविधिक धारतर्फको भएकाले विद्यार्थीहरूलाई कृषिसम्बन्धी व्यवहारिक ज्ञान दिने क्रममा विभिन्न फलफूल र तरकारी खेती गरिँदै आएको छ ।

काजुका साथै विद्यालयले च्याउ खेती र मौसमी तथा बेमौसमी तरकारी खेतीमा पनि विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको छ ।

विशेषगरी कक्षा १० र १२ को परीक्षापछि विद्यार्थीहरूलाई तीनदेखि चार महिनाको ‘ओजेटी’ (अन द जब ट्रेनिङ) गराइन्छ ।

‘विद्यार्थीहरूले आफैँ काजु टिप्ने, त्यसको प्रशोधन सिक्ने र काजुको फलबाट जाम तथा जेली बनाउने काम गर्छन्,’ प्रशिक्षक अधिकारीले भने, ‘विद्यार्थीहरूले बनाएको जाम र जेलीको स्वाद र गुणस्तर बजारमा पाइनेभन्दा कम छैन ।’

शिक्षण सिकाइ प्रभावकारी बनाउन विद्यालयले विद्यार्थीहरूलाई सहुलियतमा बिरुवा पनि उपलब्ध गराउँदै आएको छ । बाहिरका मानिसलाई २ सय ५० देखि ३ सय रुपैयाँमा बिक्री गरिने काजुको बिरुवा विद्यार्थीहरूलाई भने ५० प्रतिशत छुटमा उपलब्ध गराइन्छ ।

२१ प्रजातिका फलफूल र आम्दानी

विद्यालयको स्वामित्वमा रहेको जग्गामा २१ प्रजातिका फलफूल खेती गरेर विद्यालयले व्यावसायिक उत्पादन र बिरुवा बिक्रीबाट आम्दानी गर्न थालेको छ ।

विद्यालयका प्रधानाध्यापक ठकुरीका अनुसार विद्यालयसँग विद्यालय हाताभित्र ३ बिघा र बाहिर २४ बिघा गरी ठूलो परिमाणमा जग्गा छ । जसमध्ये विभिन्न खण्डमा धान, बेसार र फलफूल खेती भइरहेको छ । फलफूलका ठूला बोटहरूका बीचमा खाली रहेको ठाउँमा विद्यालयले ‘इन्टिग्रेटेड कल्टिभेसन’ (एकीकृत खेती) मार्फत लहरे बाली र तरकारीहरू पनि लगाउने गरेको छ ।

काजुका अतिरिक्त यो बगैँचा फलफूलको एउटा सानो संग्रहालय जस्तै बनेको छ । बगैँचाको एक लहरमा आँपको ठूलो बगैँचा छ भने अर्कातिर कटहर, नरिवल र सुपारीका रुख छन् । लिची, अम्बा, र अमिलो जातका कागती यहाँ लटरम्म छन् ।

अझ विशेष त यहाँ अंगुर, बयर र सापोटा जस्ता फलले पनि ठाउँ पाएका छन् । बगैँचाको अर्को महत्त्वपूर्ण पाटो यहाँ रहेको नर्सरी र पोलिहाउस (प्लास्टिक टनेल) हो । यहाँ कृषि संकायका विद्यार्थीहरूले आफ्नै हातले बिरुवाहरू उत्पादन गर्छन् ।

प्रधानाध्यापक ठकुरीले गत वर्ष फलफूल र बिरुवा बिक्रीबाट ४० देखि ५० हजार रुपैयाँसम्म आम्दानी भएको जानकारी दिए । ‘हामीले ४ क्विन्टलजति आँप मात्रै बेच्यौं, त्यसबाहेक कटहर र कागतीका बिरुवा तथा फल पनि बिक्री भइरहेको छ,’ उनले भने ।

चुनौती र ‘दुधौलीलाई काजु हब बनाउने सपना’

काजु खेती सफल भए पनि प्रशोधनका लागि भने अझै केही चुनौती छन् । काजुलाई दानाबाट निकालेर खानयोग्य बनाउन विशेष प्रविधिको आवश्यकता पर्छ । अहिले विद्यालयले धेरैजसो काजु कच्चा रूपमै बिक्री गरिरहेको छ । ‘यदि हामीले प्रशोधन गर्ने मेसिन ल्याउन सक्यौं भने यसको मूल्य दोब्बर हुन्छ,’ कृषि प्रशिक्षक अधिकारी भन्छन् ।

हाल नमुनाका रूपमा विद्यालयकै केही शिक्षक र कर्मचारीलाई काजु बिक्री सुरु गरिएको छ । कर्मचारीका लागि प्रतिकिलो ८ सय रुपैयाँ मूल्य तोकिएको छ ।

उत्पादित बाँकी काजु भने विद्यालयले तत्काल बिक्री नगरी बाहिरबाट आउने पाहुनालाई देखाउन, प्रदर्शनी गर्न र थप अनुसन्धानका लागि नमुनाका रूपमा सुरक्षित राखेको अधिकारीले बताए ।

आगामी दिनमा उत्पादन परिमाण बढेपछि व्यवस्थित प्रशोधन केन्द्र स्थापना गरी व्यावसायिक रूपमा बजार पठाउने विद्यालयको लक्ष्य  छ ।

विद्यालयमा फलेका काजुका दानाबाट अहिले नयाँ बेर्ना (बिरुवा) उत्पादन गर्ने काम भइरहेको छ । आफ्नै विद्यालयमा उत्पादित बिरुवालाई स्थानीय किसानसम्म पुर्‍याएर काजु खेतीलाई औद्योगिक र व्यावसायिक रूप दिने विद्यालयको योजना छ । प्रशिक्षक अधिकारी र विद्यालय प्रशासनको अबको लक्ष्य दुधौलीलाई नेपालकै ‘काजु हब’ को रूपमा विकास गर्ने हो ।

‘हामीले अहिले नर्सरीमा २ सय ३८ नयाँ बिरुवा उत्पादन गरेका छौं,’ अधिकारीले सुनाए, ‘असार (बर्खा) का बेला रोप्दा पानीको समस्या नहुने भएकाले सोही समयमा बिक्री गर्ने लक्ष्य राखेका छौं, काजुका बिरुवाका लागि अहिलेदेखि नै स्थानीयस्तरबाट माग आउन थालिसकेको छ ।’

बागमती प्रदेश सरकार र स्थानीय नगरपालिकासँग समन्वय गरेर व्यावसायिक काजु खेतीलाई गाउँ–गाउँ पुर्‍याउने उनीहरूको योजना छ ।

सिन्धुलीको नमुना माध्यमिक विद्यालयले देखाएको यो बाटो नेपालको शिक्षा प्रणाली र कृषि क्षेत्रका लागि एउटा प्रेरणा हो । विद्यालय स्थानीय सम्भावना पहिचान गरी समृद्धिको संवाहक बन्न सक्छ भन्ने उदाहरण दुधौलीमा देखिएको छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?