२३ माघ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैतको पहिलो हप्ताभित्र संघीय संसद् भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
शुक्रबार सिंहदरवारस्थित कार्यकक्षमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र निर्माण कार्यमा सम्पन्न सम्बन्धित पक्षलाई बोलाएर उनले सो निर्देशन दिएका हुन् ।
नयाँ संसद् भवनबाटै प्रतिनिधिसभा र राष्ट्रिय सभा सञ्चालन गर्नेगरी कुनैपनि अवरोध नहुने गरी काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई अध्यक्ष दाहालले निर्देशन दिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
त्यसक्रममा शहरी विकास मन्त्रालयका सचिव सिग्देलले अध्यक्ष दाहाललाई संसद भवनको निर्माण कार्य करिव ९२ प्रतिशत सकिएको र बाँकि काम पूरा गरी चैत्रको पहिलो हप्ता निर्माण कार्य सम्पन्न गर्न सकिने ब्रिफिङ गरेका थिए ।
‘अब बाँकी भएका कामहरुलाई एकदम शिघ्रताका साथ कुनैपनि कारणबाट अवरुद्ध नहुने गरी समयमा नै निर्माण सम्पन्न गर्न सम्माननीय अध्यक्षज्युले निर्देश पनि गर्नुभएको छ,’ उनले भने ।
यता, अध्यक्ष दाहालले भने सोही समयमा सक्नेगरी कार्य सम्पन्न गर्नका लागि नियमित अनुगमन गर्न संसद सचिवालयलाई सचेतसमेत गराए ।
उनले सो कार्यको प्रगति विवरण हप्ता हप्ता दिनमा संघीय संसद सचिवालयका गराउन पनि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउनु भएको संघीय संसद् सचिवालयका प्रवक्ता गिरीले बताए ।
‘साथसाथै प्राविधिक पक्षहरुको स्टोलेशन गर्दै विभिन्न पक्षहरुमा सचिवालयका अन्य प्राविधिक जनशक्तिहरुले पनि सो काममा गएर हेर्ने, बुझ्ने अनि त्यो सम्बन्धि क्षमता अभिवृद्धि गर्ने लगायतका विषयहरुमा पनि कुराकानी भएको छ,’ उनले भने ।
फागुन २१ को निर्वाचनपछि नयाँ संसद् भवन सिंहदरवारबाटै प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक शुरु गर्ने संसद सचिवालयको तयारी छ ।
सोहीअनुसार प्रतिनिधि सभाको बैठक कक्ष र राष्ट्रिय सभाको बैठक कक्षको निर्माणमा बढी जोड दिएर अघि बढनेगरी काम गर्न अध्यक्ष दाहालले सहरी विकास मन्त्रालय र निर्माण कार्यमा संलग्न पक्षहरुलाई सचेत गराएका हुन् ।
प्रतिक्रिया 4