२४ माघ, काठमाडौं । कुनै समय सुदूरपश्चिम नेकपा एमालेमा भीम रावलको दरिलो दबदबा थियो । केन्द्रीय उपाध्यक्ष र सुदूरपश्चिम इन्चार्ज रहँदा उनले जे भन्यो कार्यकर्तास्तरसम्म अक्षरसः पालना हुन्थ्यो ।
त्याे बेला कतिपयले सुदूरपश्चिमको भूगोलबाट देशको राजनीतिमा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवापछि रावलले नै सर्वोच्च स्थान बनाउने नेताका रूपमा व्याख्या गर्थे । एमालेभित्र निरन्तरको उकालो चढानकै कारण त्यो व्याख्यामा असहमति जनाउने ठाउँ थिएन । सोही कारण सुदूरपश्चिमको भूगोलबाट एमालेमा प्रतिनिधित्व गर्ने नेताकार्यकर्ता रावलले जे भन्यो त्यही मान्नैपर्ने अवस्थामा थिए ।
ती रावल अहिले एमालेमा छैनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध बनाउन नसकेका कारण २०७९ को प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ मा उनले टिकटसम्म पाउन सकेनन् । उनी पछिल्ला तीन वर्ष संसदीय शक्तिबाट बाहिर हुँदा भूमिकाविहीन बने । त्यसैक्रममा उनी पार्टीको कारबाहीमा परेर निष्काशित भए ।
अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा छन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेकपाले उनलाई अछाम–१ मा उम्मेदवार बनाएको छ ।
अछामको चुनावी मैदानमा रावल अहिले पहिले एमालेका ‘भीम रावल’ जस्ता प्रभावशाली नेताका रूपमा उपस्थित छैनन् । न उनको साथमा एमालेको शक्तिशाली संगठन नै छ । न आममतदाताले भविष्यमा देशको सर्वोच्च नेतृत्वमा पुग्नसक्ने आशा–विश्वास गरेका छन् ।
तर, रावल आफैले भने त्यही सम्भावनालाई संकेत गर्दै आफूलाई प्रस्तुत गरिरहेका छन् । अधिकांश मतदातासमक्ष उनले स्थानीय भाषा(अछामी)मै मन्तव्य दिन्छन् । आफू भविष्यमा देशको नेतृत्वमा पुग्ने दाबी गर्दै सहयोग गर्न आग्रह गर्छन् ।
यसैक्रममा रावलले कांग्रेस निवर्तमान सभापति देउवाको नाम प्रयोग गरेर सहानुभूति लिने प्रयास पनि गरिरहेका छन् । यसैक्रममा शुक्रबार अछामी भाषामै दिएको एक मन्तव्य सामाजिक सञ्जालमा अहिले भाइरल छ । त्यसमा उनले देउवालाई सम्झेका छन् ।
के भने ?
अछामी भाषामै मन्तव्य दिइरहेका रावलले आफ्नका कुरा सुन्न कांग्रेसका कार्यकर्तालाई बोलाइरहेका सुनिन्छन् । ‘कांग्रेसका साथी कोही यहाँ कुडा सुनिरया छौ, भने तमी पनि आइझाओ,’ उनले भनेका छन्, ‘शेरबहादुर देउवा ठुला नेता छिया । उनुलाई त घरैमी कुटेर रगत बगायो, उनुकी जोइलाई पनि कुट्यो । रगतका धारा बगाएर उनुपछि पुडा बाइग्या । सभापति पनि आच्छी ।’
(यसको अर्थ हुन्छ–कांग्रेसका साथी कोही कुरा सुनिरहनुभएको छ भने आउनुस् । शेरबहादुर देउवा ठुला नेता थिए । उनलाई घरमै कुटेर रगत बगाए । उनकी पत्नीलाई पनि कुटे । रगतका धारा बगाएर उनी पर गए । सभापति पनि छैनन् ।)
त्यसपछि रावलले अगाडि भनेका छन्, ‘अब सुदूरपश्चिमबाटी एक भएर हाम्रो डाको सिंहदरबार सुन्या गरिकन हामी सब्बै एक हुनुपड्न्या छ ।’ (अब सुदूरपश्चिमबाट एक भएर हाम्रो आवाज सिंहदरबार सुनिनेगरी सबै एक हुनुपर्नेछ) ।
प्रतिक्रिया 4