+
+
Shares

‘राष्ट्रिय सभा बुढापाका थन्काउने र पराजित नेता व्यवस्थापन गर्ने थलो नबनोस्’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १५:२४

२६ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य तारामान स्वारले राष्ट्रिय सभाको सन्दर्भमा केही सुधार आवश्यक रहेको बताएका छन् ।

सोमबार राष्ट्रिय सभामा बिदाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘संविधानले नै राष्ट्रियसभाप्रति असमानता गरेको र निर्णायक शक्ति प्रतिनिधिसभामा केन्द्रित गरेको छ । यसले गर्दा राष्ट्रिय सभा कहिलेकाहीँ प्रतिनिधिसभाको छायामा पर्ने गरेको छ ।’

यसमा सुधार गर्नुपर्ने उनको आग्रह छ । प्रवृतिगत सुधार पनि आवश्यक रहेको उनले औंल्याए ।

उनले भनेका छन्, ‘यसलाई बुढापाका थन्क्याउने र दलहरूले निर्वाचनमा पराजित नेताहरूको व्यवस्थापन गर्ने दोस्रो सदन भएको जस्तो रुपमा बुझ्ने नकारात्मक प्रवृतिबाट राष्ट्रिय सभा पीडित बन्ने गरेको छ ।’

यसमा सुधारका लागि संविधानमा संशोधन र राजनीतिक दलहरूको दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेको उनले बताएका छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई/दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल सकिन्छ र नयाँ निर्वाचित भएर आउँछन् ।

राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ । २०७६ सालमा निर्वाचित १९ जना सदस्यहरूको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसअगाडि सभामा उनीहरूले बिदाइ सम्बोधन गरेका हुन् ।

स्वार अगाडि बोल्ने राष्ट्रिय सभा सदस्य डा. बेदुराम भुसालले पनि आगामी दिनमा राष्ट्रिय सभा प्रतिनिधि सभाको प्रति छाया जस्तो नबनोस् भन्ने कामना गरेका थिए ।

सांसदहरू इन्दिरादेवी गौतम, मायाप्रसाद शर्मा र शारदा देवी भट्टले सांसदको भूमिका र जनताको अपेक्षाको विषयमा चर्चा गरे । नागरिकले सांसदलाई विकासको एजेण्टको रुपमा बुझ्ने गरेको उनीहरूले बताए । नागरिकलाई समेत सांसद्को भूमिका बुझाएर नीति निर्माणमै सांसदहरूलाई केन्द्रित गर्नुपर्ने उनीहरूको आग्रह छ ।

अर्का सांसद सुमित्रा बिसीले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन नसकिएको बताइन् । उनले भनेकी छन्, ‘संविधान जारी भएपछि तीन वर्षभित्र बनाउनुपर्ने भनिएको कानुन दश वर्षसम्म बनाउन नसक्दा नमिठो महसुस हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?