२६ बाँके, काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सीमावर्ती क्षेत्रका जनताको समस्या समाधानका लागि नीतिगत रुपमा प्रयास गर्ने बताएका छन् ।
बाँके क्षेत्र नम्बर ३ का उम्मेदवारसमेत रहेका पुनले नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताले पाइरहेको समस्यालाई समाधान गर्नका लागि नीतिगत रुपमा सम्बोधन गर्न आवश्यक रहेको बताए ।
‘नेपालको लालपूर्जा छ । भूमि छ । हामीले प्रयोग गरिरहेका पनि छौं । तर, बैंकले धितो नराख्ने समस्या छ । यो भनेको सीमावर्ती क्षेत्रका जनताको अवमूल्यन हो,’ पुनले भने, ‘जमिनको मूल्यांकन कम होला । तर, बैंकले धितो नै नराख्ने नीति परिवर्तन गर्नुपर्छ । यो समस्या देशभरकै सीमावर्ती क्षेत्रको भएकोले नीतिगत सुधार आवश्यक छ ।’
सीमावर्ती क्षेत्रमा बसोबास गरेर नेपालको अस्तित्व जोगाई राख्ने नागरिकप्रति सरकारले अन्याय गरेको उनले बताए ।
‘जसले नेपालको अस्तित्व जोगाईदिनु भएको छ । जसले देशको सीमा सुरक्षामा चौकिदारी गरेका छन् । उनीहरुकै जमिनको मूल्य–मान्यता नहुनु दु:खद् हो,’ पुनले भने, ‘मूल्यांकनमा कम होला, त्यो आफ्नो ठाउँमा छ । तर, बैंकले धितो नराख्ने कुरा न्यायपूर्ण छैन् ।’
बाँके खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरका जनतासँग भेट्घाटका क्रममा पुनले क्षेत्रका विकासका लागि स्थानीयसँग छलफल गरेर काम गर्ने बताए ।
राधापुरमा यसअघि पनि कांग्रेस नेता किशोरसिंह राठौर र बादशाह कुर्मीको पहलमा थुप्रै विकास निर्माणका कामहरू भएको बताउँदै उनले अब नयाँ योजनाहरू कार्यान्वयनमा आफूले पहल गर्ने बताए ।
खजुरा गाउँपालिका–१ का वडा अध्यक्ष मनवीर क्षेत्रीले सीमावर्ती क्षेत्रका जनताको जमिनलाई बैंकले धितो नराख्ने समस्या रहेको गुनासो गरे । बैंकको नीतिका कारण सीमावर्ती क्षेत्रका जनता दु:ख पाइरहेको उनले बताए ।
प्रतिक्रिया 4