+
+
Shares

नेपालमा ९२.४ प्रतिशत परिवारमा सुधारिएको चर्पी

७९.९ प्रतिशत परिवारका सदस्यहरुले सुधारिएको चर्पी आफैंले मात्र एकल प्रयोग गर्ने गरेको समेत पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १९:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षण अनुसार नेपालमा ९२.४ प्रतिशत परिवारका सदस्यले सुधारिएको चर्पी प्रयोग गर्ने गरेको पाइएको छ।
  • सर्वेक्षणले देखाएको छ कि ६०.४ प्रतिशत घरपरिवारको पिउने पानीमा ई–कोइलको जीवाणु पाइएको छ।
  • ५ वर्षमुनिका बालबालिकामा २४.३ प्रतिशत लिखुरेपन र ३१.५ प्रतिशत कम उचाइको समस्या देखिएको छ।

२६ माघ, काठमाडौं । नेपालमा ९२.४ प्रतिशत परिवारका सदस्यले सुधारिएको चर्पी प्रयोग गर्ने गरेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा अनुसार कुल परिवारका सदस्यमध्ये अझै ८ प्रतिशत सदस्यले सुधारिएको चर्पी प्रयोगबाट टाढा रहेको देखिन्छ ।

७९.९ प्रतिशत परिवारका सदस्यहरुले सुधारिएको चर्पी आफैंले मात्र एकल प्रयोग गर्ने गरेको समेत पाइएको छ ।

८६.४ प्रतिशत घरपरिवारमा हात धुन निर्दिष्ट स्थानमा पानी, साबुन वा अन्य सरसफाइका वस्तु राखेको पाइएको छ । ९८.२ प्रतिशतले खानेपानीका लागि सुधारिएको पानीको स्रोत प्रयोग गरिरहेको समेत पाइएको छ ।

यद्यपि, पानीको गुणस्तरमा भने अझै सुधार हुन नसकेको सर्वेक्षणको नतिजा छ । ६०.४ प्रतिशत घरपरिवारले पिउने पानीमा ई–कोइलको जीवाणु पाइएको छ ।

देशभरि ५ वर्षमुनिका बालबालिकामा पोषणको स्थितिमा समेत कमी रहेको देखिन्छ । अझै पनि २४.३ प्रतिशत बालबालिकामा लिखुरेपन र ३१.५ प्रतिशतमा कम उचाइको समस्या देखिएको छ ।

उचाइ अनुसार तौल कम भएका (ख्याउटे) बालबालिका ७.६ प्रतिशत र उचाइ अनुसार तौल बढी भएका बालबालिका २.६ प्रतिशत रहेको समेत सर्वेक्षणबाट देखिएको छ ।

लिखुरे बालबालिका सबैभन्दा धेरै मधेस प्रदेशमा ३३.२ प्रतिशत र सबैभन्दा कम बागमतीमा ९.६ प्रतिशत छन् । नेपालमा ३ जना आमामध्ये २ जना (६९.७ प्रतिशत) ले आफ्नो बच्चालाई जन्मेको ६ महिनासम्म आफ्नो दूधमात्र खुवाउने गरेको पाइएको छ ।

प्रदेशगत हेर्दा यो प्रवृत्ति सुदूरपश्चिममा सबैभन्दा धेरै ७६.६ प्रतिशत छ । उमेर समूह अनुसार १२–२३ महिनासम्मका बालबालिकामध्ये ८०.७ प्रतिशतले मात्र पहिलो वर्षमा सबै खोप पूर्ण मात्रामा लिएको पाइएको छ ।

३६–५९ महिनाका बालबालिकामध्ये ५७.९ प्रतिशत प्रारम्भिक बाल शिक्षा कार्यक्रममा जाने गरेको पाइएको छ । अझै पनि १–५ कक्षासम्म ४.५ प्रतिशत, ६–८ कक्षासम्म ३.६ प्रतिशत र ९–१२ कक्षासम्म १३.२ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको सर्वेक्षणले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?