+
+
Shares

म कि मन सुत्केरी ?

बिचरा श्रीमान्‌लाई के थाहा, मलाई नानीले भन्दा मनभित्रको निराशाले मेरो निद्रा खोसिरहेको थियो। नानीलाई तल बाबासँग पठाएर सुत्ने बहानामा ढोकाको चुक्कुल लगाएर बसें।

प्रगति ढकाल प्रगति ढकाल
२०८२ माघ २८ गते ७:५६

बच्चा जन्मनु समाजमा महत्त्वपूर्ण उत्सवको रूपमा चित्रण गरिन्छ। फेसबुकमा पोस्ट गरिएका फोटोहरूमा बधाईका कमेन्टहरू आइरहेका थिए। म्यासेन्जर तथा ह्वाट्सएपमा ‘तिमी त आमा बनिछ्यौ, तिम्रो जीवनमा ठूलो खुसी थपियो। अब त जीवन पूरा भयो। धेरै धेरै बधाई छ’ जस्ता एसएमएसका घण्टी बजिरहेका थिए।

सुत्केरीपछि मेरो मनभित्र थकान, डर र तनावले डेरा जमाउँदै गइरहेको थियो। कात्तिकको महिना, मौसम चिस्सिन थाल्दै थियो। मेरा रातहरू निद्राहीन बन्न थाले। कहिले सिंगो रातमा निद्रा भने टुक्रिएका हुन्थे। एक रात म बाहिरी बरन्डामा निस्किएर आकाशमा चम्किरहेका ताराहरू हेर्दै बसिरहेकी थिएँ। जून टह-टह लागिरहेको थियो। टोल सुनसान थियो। टोलवासीहरू मस्त निदाइरहेका हुँदा हुन्। मेरो रात भने जागा थियो। रातको चिसो मौसममा पनि शरीरमा गर्मी भएर खलखली पसिना निस्किरहेको थियो। शरीरलाई शीतलता देओस् भनेर मध्यरातमा बाहिर बसेर खुला आकाश निहालिरहेकी थिएँ। अझ शरीरको भन्दा मनको गर्मीले दिएको छटपटाहटलाई शीतलता दिने प्रयासमा म एक्लै बाहिर बसेर टोलाइरहें।

अर्कातिर रातको त्यो एकान्त मलाई स्वतन्त्र लागिरहेको थियो। यहाँ वरपर कोही छैनन्। कसैले मलाई भन्ने छैनन्, ‘सुत्केरी मान्छे भित्र नबसेर बाहिर किन चिसोमा बसेको? कसैले मलाई सोध्ने छैनन्— किन टोलाइरहेको? अनि किन कपालमा केही नबाँधेको? अनि बाक्लो कपडा नलगाएको? पसिना आयो भनेर हुन्छ ? अहिले तरुनी नपल्ट, पछि चिसो लागेपछि थाहा होला नि!’ यी र यस्ता कुराहरू गर्ने कोही थिएनन्। यो स्वतन्त्रताको आभासले एकैछिन मनलाई सान्त्वना दिन्थ्यो।

यदि मलाई केही भयो भने मेरो बच्चा कसरी हुर्किएला? प्रसूति बिदा सकिएपछि स्कुटीमा हिंड्नुपर्छ, यदि दुर्घटना भएमा मेरो बच्चा टुहुरो पो हुन्छ कि? यी र यस्ता प्रश्नको घेरामा थियो मन। यो समाजले मलाई किन मन परेको कुरा खान, मन परेको कुरा गर्न बन्देज लगाइरहेको छ? मेरो भावना किन कोही बुझ्दैनन्? मेरो मनमा ममताभन्दा किन डरले डेरा जमाएको छ? मेरो मन आफ्नो वशमा किन छैन? आखिर किन मलाई तनाव र छटपटी भइरहेको छ ?

मनले मनलाई नै सोधिरहेको यी प्रश्नसँगै अश्रुदाना आँखा भरिएर डिल, गालाको बाटो हुँदै रेलिङमा टेकिराखेको हात र कुहिनो हुँदै तप-तप भुइँसम्म खसिरहेको थियो। मलाई बेस्सरी चिच्याएर रुन मन थियो। आँखाको आँसु सबै रित्याएर खुसी हुन मन थियो। तर हाँस्न पो जहाँ पनि सकिन्छ, जसको अघि पनि। रुन त कति गाह्रो, एकान्त नै चाहिने। अनि जहिले जोसँग पनि धीत मारेर रुन नसकिने। घरको पश्चिमपट्टि जंगलले ढाकिएको डाँडा थियो। मनले भन्यो— त्यो डाँडामाथि गयो भने चिच्याएर रुन पाइन्छ होला है ? सोच्दासोच्दै झन् बेस्सरी आँसु झर्थ्यो।

फेरि एकैछिनमा बच्चा रुन थाल्थ्यो। उसलाई स्तनपान गराउँदै म पनि सँगै रुन थाल्थें। म किन रोइरहेकी थिएँ ? उत्तर म आफैंसँग थिएन। बच्चा एकैछिन सुत्न थाल्थ्यो, फेरि म सुनसान रात, जून अनि तारालाई साक्षी राखेर रुनकै लागि बाहिर निस्किन्थें।

सोचमग्न हुन्थें— अब त पहिलाको जस्तो जिन्दगी फर्केर आउँदैन होला। अब विदेश भ्रमण गर्न, पहिलाको झैं समाचार र लेख तयार गर्न पनि सक्दिनँ होला। अदालतमा इजलासअघि कसैको अधिकारको निम्ति बहस पैरवी गर्न सक्ने प्रगति म नै हो र? मैले कसरी लोकसेवा पास गरें होला? अब न त पढ्न सक्छु होला। पहिला कसरी स्कुटी काठमाडौंबाट गोरखासम्म लैजान सकें? जो आज राजधानीकै सडकमा स्कुटी चलाउनुपर्छ भनेर डराइरहेकी छु। आजभन्दा १० वर्षअघि एक्लै युरोप पुग्न कसरी सकें होला ?

म त्यही प्रगति हुँ र? जो आज केही गर्न सक्दिनँ होला भनेर एकान्त खोजी-खोजी रोइरहेकी छु। जो जीवनदेखि हार मानेको अनुभूति गर्दै आफूले आफैंलाई तड्पाइरहेकी छु। अरूलाई ‘जीवनमा गुमाएको चिज सम्झेर होइन, पाएको चिज सम्झेर खुसी हुनुपर्छ’ भनेर सम्झाउने म त्यही प्रगति हुँ र ? जो आज आफैंलाई सम्झाउन सकिरहेकी छैन। विना कारण जो आज संसारसँग हारिरहेको महसुस गरेर विचलित बनिरहेकी छु।

कोभिड, भूकम्प, अन्य प्राकृतिक विपद्को समयमा मनोवैज्ञानिक त्रास बढाउनुहुँदैन, मनोवैज्ञानिक रूपमा बलियो हुनुपर्छ भनेर समाचार मार्फत जनचेतना फैलाउने उही प्रगति आज किन मनोवैज्ञानिक रूपमा आफूलाई कमजोर बनाइरहेकी छु? आफैंले आफूलाई नै सचेत बनाउन किन सकिरहेकी छैन ?

भित्रभित्रै जलिरहेकी हुन्थें। तर बाहिरी दुनियाँलाई आफूलाई केही नभएको, सबै ठिकठाक छ भन्ने देखाउन फेसबुकको भित्तामा नक्कली मुस्कान छरेर खिचिएको फोटो पोस्ट गरिदिन्थें। कसैले पत्तो नपाओस् भनेर रुँदा सुन्निएका आँखालाई गाजलले छोपिदिन्थें। हुन त सामाजिक सञ्जाल दुःखभन्दा सुख देखाएर सबै राम्रो भए जस्तो देखाउने थलो नै हो। कसले पो आँसु देखाउँछ र ?

कतै म पोस्टपार्टम डिप्रेसनको सिकार त भइरहेकी छैन? यस्ता अनगिन्ती प्रश्नहरू मनमा आइरहन्थे। बच्चा रुन्थ्यो। बच्चालाई निदाएर फर्कन्थें। एकैछिन सुतेझैं गर्थ्यो, फेरि उही रुवाइ सुरु हुन्थ्यो— उह्या… उह्या। मेरो भने मनको भय रोकिएको थिएन, झन् बढिरहन्थ्यो। त्यो रात यो कुरा कसै-कसैलाई सेयर गर्नैपर्छ भन्ने लाग्यो। म्यासेन्जरमा विदेशमा बस्ने कोही साथी वा आफन्त अनलाइनमा को छ भनेर खोजें। बेलायत बस्ने एक जना जेठानी दिदी (पूर्णिमा घिमिरे) लाई ‘हाई’ भनेर एसएमएस गर्नेबित्तिकै उहाँको फोन आइहाल्यो।

उहाँले सोध्नुभयो, “किन, के भयो प्रगति? बच्चाले सुत्न दिएन?” “अँ दिदी, बच्चा त सुत्नै मानिरहेको छैन। किन होला है?” यत्तिमै मात्रै कुरा टुङ्गियो। डरले आफ्नो समस्याबारे उहाँलाई भन्ने आँट आएन। मनभित्रको बेचैनीले कोठामा बसिरहन दिएन। अनि फेरि बाहिरिएँ। आफूलाई सम्हाल्न सकिरहेकी थिइनँ। यसो त त्यसअघिका रातहरू कटाउन पनि सकस हुन्थ्यो। श्रीमान् एउटै कोठामा भएर पनि भन्न सक्दिनथें। सुतेको नाटक गरेर सिरकले मुख छोप्थें अनि रुन्थें। आवाज बाहिर आउला भनेर डर लाग्थ्यो।

बेस्सरी आफ्नै हातले मुख छोप्थें अनि रुन्थें। कहिले बाथरुम गएर चाल नपाउने गरी रोएर फर्कन्थें। पीडा लुकाउन चुनौती भएर पनि होला, मलाई श्रीमान् सँगै हुँदाको रात कटाउन अझै सकस हुन्थ्यो। त्यसैले दुवै जनाको निद्रा खराब हुनुभन्दा म मात्रै बस्छु भन्ने बहाना रचेर त्यो कोठामा एक्लै बसेकी थिएँ। नभए त त्यसरी रातभरजसो बाहिर एकान्तमा बसेर रुने स्वतन्त्रता कहाँ हुन्थ्यो र !

मेरो व्यथाको चिच्याहटको साक्षी बनिरहेकी थिइन् मेरी आमा। उनले झन् चार ओटा सन्तान पाउँदा कस्तो भएको थियो होला ? आफैंले पाएको पीडाभन्दा शायद आफ्नो सन्तानको त्यो पीडा ठूलो लाग्दो हो। आँखाभरि टिलपिल टिलपिल आँसु लिएर आमा मलाई सम्झाउँदै थिइन्। शायद मेरो शरीरभन्दा बढी आमाको मन दुखेको हुँदो हो

रात जागा बसेरै झिसमिसे उज्यालो भइसकेछ। कोठाको एक छेउमा हीटर बालेर बच्चा काखमा लिंदै रोइरहेकी थिएँ। एक्कासि श्रीमान् आएर सोध्नुभयो— अरे, के भयो? किन रोएको? “नानीले सुत्न दिन्नँ” भनेर झुटो उत्तर दिएर यथार्थ लुकाएँ। सहानुभूति दिंदै श्रीमान्‌ले भन्नुभयो: “ल, उसो भए तिमी सुत, अब म चाहिं नानी हेर्छु ।”

बिचरा श्रीमान्‌लाई के थाहा, मलाई नानीले भन्दा मनभित्रको निराशाले मेरो निद्रा खोसिरहेको थियो। नानीलाई तल बाबासँग पठाएर सुत्ने बहानामा ढोकाको चुक्कुल लगाएर बसें। मन एकोहोरो जस्तो अनि एकान्तप्रेमी बन्दै गइरहेको थियो। मोबाइलमा आएका फोन र एसएमएसले पनि झर्को लाग्न थाल्यो। सबै भएर पनि कोही नभ एजस्तो एक्लोपन महसुस हुन्थ्यो।

उराठ, निराशा, डर र तनाव— सबै बोझ सँगै बोकेर हिंडिरहेको मनलाई कसरी सम्हाल्ने ? सोच्न सकिरहेकी थिइनँ। सम्झन सक्ने क्षमता पनि कमजोर भएको अनुभूति गर्न थालें। कहिले त नवजात शिशुको आमा हुँ भन्ने पनि बिर्सन्थें। कहिले भुलिदिन्थें आइफोनको पासकोड। एकदिन एटीएमको पासवर्ड नै बिर्सेर फर्केकी थिएँ। मलाई यी सबै के भइरहेको छ भनेर चिन्ता थपिंदै गयो।

झन् त्यसमाथि यो समाजका अधिकांश मानिस सुत्केरीका डाक्टर भइदिन्छन्। कोही भन्छन्— सुत्केरीले किन पानी पिएको? सुत्केरीले दही, सागपात, फलफूल किन खाएको? बच्चालाई चिसो लाग्छ, नुहाउनु पनि हुँदैन। लपक्क तेल लगाएर सुत। यस्तो लगाऊ, यस्तो नलगाऊ। यो खाऊ, यो नखाऊ। बच्चालाई कानमा तेल हाल, सुन्ने शक्ति राम्रो हुन्छ। आँखामा तेल हालेमा चम्किला हुन्छन्। बिहान उठेर बच्चाको नङमा फुकेमा नङ झर्छ। दूध निधारमा लगाऊ त रौं झर्छ। सुत्केरी मान्छे तरुनी जस्तो भएर किन बसेको ? हाम्रा पालामा यस्तो गर्थ्यौं, उस्तो गर्थ्यौं। अचेलका त के भाका हुन्। कति अटेरी सुत्केरी। हीराकै टुक्रा पाए जस्तो गर्ने।

यी र यस्ता कुरा सुन्दा-सुन्दै आजित भएकी थिएँ। अधिकांशको ध्यान बच्चामा थियो। मेरो शारीरिक अवस्थाको बारेमा चिन्ता गर्नेले पनि मेरो मानसिक अवस्थाको बारेमा चासो दिंदैनथे। मेरो शरीरभन्दा मन बिरामी हुँदै गइरहेको थियो। नर्मल डेलिभरी भएर पनि होला, शरीरको दुखाइ त्यति गाह्रो थिएन, जति मनको दुखाइ बढिरहेको थियो।

गर्भावस्थामा फैलाइएका नकारात्मक टिप्पणीहरू सम्झी-सम्झी आफैंले आफ्नै मनलाई विचलित बनाइरहेकी थिएँ। मन भतभती पोलिरहेको थियो। साना-साना कुरामा किन मन दुखिरहन्छ? यदि यो अवस्थामा म अरू कुनै रोगको बिरामी भएको भए सबैलाई खुलेर भन्न सक्थें— “मलाई ज्वरो आयो” वा “अरू केही समस्या भयो” भनेर। सहानुभूति पनि पाउँथें। तर मानसिक अस्वस्थताबारे बोल्न नसकिने रहेछ। सहानुभूतिको सट्टा घृणाको दृष्टिले हेर्ने यो समाजमा बरु मौन बस्नु नै बेस हुन्छ भन्ने सोचें। कसलाई भनेर कसले बुझ्छ र? उल्टै मेरै बदनाम हुन्छ भन्ने डर थियो।

मेरी आमा मेरो दुःख-सुखको साक्षी हुन्। आमाले सन्तानको पीडा बुझ्छिन्। आमालाई भन्छु भनेर सोच्थें। तर फेरि आमाले पनि मनको यो व्यथा कसरी बुझ्लिन्? “के भयो?” भनेर सोध्लिन्। कारण केही भए पो के भयो भन्ने कुराको उत्तर मसँग हुन्थ्यो। पीर गर्लिन् भनेर भन्दिनथें। बहिनीहरू साथी झैं हुन्। उनीहरूले त बुझ्लान् कि भन्ने सोच्थें। होस्, उनीहरूलाई पनि के तनाव दिऊँ भनेर भन्दिनथें।

नजिकका साथीहरूलाई अरू कुरा जसरी सेयर गर्थें, यी कुराहरू सेयर गर्न नै सकिनँ। एक दिन कोरियामा बस्ने नेपाली चेलीले सुत्केरी अवस्थामा नै आत्महत्या गरेको समाचार पढें। त्यसपछि म बेस्सरी अत्तालिएँ। कतै म पनि डिप्रेसनको सिकार हुने त होइन ?

अब समस्या छ भनेर चिन्ता बढाएर बस्ने होइन। समस्याको समाधान खोज्नैपर्छ। मेरो बच्चाको भविष्यका लागि भए पनि म दह्रो हुनैपर्छ भनेर मनले मनलाई नै काउन्सिलिङ गरायो। मनोविद् डा. करुणा कुँवरलाई फोन गरें। परामर्शपश्चात् यी लक्षणहरू केही समय निरन्तर रहेमा तुरुन्त मनोचिकित्सकलाई भेट्न सुझाव दिनुभयो। म जसरी पनि यो दुःखबाट उत्रिनैपर्छ, म खुसी हुनैपर्छ भन्ने सोच्न थालें ।

मलाई बुझ्ने मेरो नजिकको साथी श्रीमान् लाग्छ। मैले उहाँसँगै किन कुरा लुकाइरहेकी होला भन्ने लाग्यो। आफूमा आएका नकारात्मक सोच, निराशापन, डर, शङ्का लगायतका समस्याहरू श्रीमान्‌लाई सेयर गर्ने आँट गरें। त्यसपछि उहाँ अधिकांश समय मेरै साथ हुनुभयो। मैलेभन्दा बढी बच्चा उहाँले हेरेर मलाई आराम गर्न लगाउनुभयो ।

श्रीमान् अर्थ्याउनुहुन्थ्यो: “तिमी मुभ अन भइहाल्छौ, म तिम्रो साथमा छु। हामी दुःखी हुनुपर्ने कारण केही छैन। मान्छे आमा-बा बन्न नपाएर कति तनावमा छन्। कसैले कति खर्च गर्दा पनि सन्तान पाउन सकिरहेका छैनन्। जे पाएकी छौ, त्यसलाई सम्झेर आनन्द लिन सिक। गीत–संगीत सुन। मन परेका किताब पढ। मन परेको खाऊ। मन परेको साथीसँग बोल। म नानी हेर्छु, तिमी आफ्ना लागि पर्याप्त समय देऊ।”

कसरी मानसिक रूपमा बलियो बनाउने भनेर खुब मिहिनेत गर्नुभयो। अरूले के भन्यो भनेर मनमा लिइरहनुभन्दा इग्नोर गर्न सक्नुपर्छ भनेर सम्झाउनुभयो। सकारात्मक सोच्न र बाँकी चिकित्सा विज्ञान र डाक्टरको सल्लाह अनुसार आफ्नो तरिकाले गर्न सुझाव दिनुभयो ।

अनि बिस्तारै आफूलाई सकारात्मक बनाउँदै लगें। आफू जन्मेको ठाउँ गोरखा मलाई निकै प्यारो लाग्ने। डेलिभरी भएको एक महिनापछि म आफू जन्मेको गाउँमा गएँ, जहाँ मेरो बाल्यकालका रमाइला सम्झनाहरू थिए। जहाँ मेरा बुबाआमा हुनुहुन्थ्यो। गाउँमा बिस्तारै रमाउँदै गएँ। आमा-बुबा साथमा भएपछि अझै के चाहियो र ? पत्रकार घनश्याम खड्काको ‘आनन्द संहिता’ पढें। कसरी मन खुसी राख्ने भन्ने कुरा सिकें। आफूलाई हरेक दिन सकारात्मक राख्न खोजें। शरीरसँगै मन पनि आफैंले तन्दुरुस्त बनाउँदै गएँ।

म मानसिक रूपमा विचलित भएको कुरा हिजो अरूलाई सेयर गर्न डराउने मान्छे आज अक्षर मार्फत सबैमा सार्वजनिक गर्ने आँट गरेकी छु। ताकि अरू महिलाहरूले पनि खुलेर बोल्न र भन्न सकून्। सबैका श्रीमान्‌ले सुत्केरी अवस्थामा शारीरिक मात्रै होइन, मानसिक स्वास्थ्यमा पनि चासो दिन सकून्। मन र तन तन्दुरुस्त भएपछि आफ्ना अनुभवलाई अक्षरमा उतार्ने योजना बनाएँ, ताकि म जस्तै सुत्केरी आमाहरूलाई मन तन्दुरुस्त बनाउन केही सहयोग पुगोस्।

यी हरफहरू तयार गर्दै गर्दा एकैछिन आँगनमा निस्किएँ। आकाशमा ताराहरू थिए, जून थिएन। हिजो तिनै ताराहरू हेर्दै विचलित बन्दै रोइरहेकी प्रगति आज तिनै ताराहरू हेर्दै रमाइरहेकी थिएँ। आकाश नियालेर ताराको चम्किलोपनमा हराइरहेको थियो मन, फुरुङ्ग बनेर। मेरो मानसपटलमा ती यादहरू छचल्किन पुगेछन्।

*** *** 

मलाई प्रसूति व्यथा शुरु भएको दिन। रात बिस्तारै छिप्पिने तरखर गर्दैथियो। व्यथाले बेस्सरी च्याप्न थाल्दै थियो । उत्साह, पीडा र डर सँगै मिश्रित थिए। अनि दिमाग शून्य। मेरो व्यथाको चिच्याहटको साक्षी बनिरहेकी थिइन् मेरी आमा। उनले झन् चार ओटा सन्तान पाउँदा कस्तो भएको थियो होला? आफैंले पाएको पीडाभन्दा शायद आफ्नो सन्तानको त्यो पीडा ठूलो लाग्दो हो। आँखाभरि टिलपिल टिलपिल आँसु लिएर आमा मलाई सम्झाउँदै थिइन्। शायद मेरो शरीरभन्दा बढी आमाको मन दुखेको हुँदो हो।

मेरो खुसीको सीमा नै थिएन। पहिलो पटक आमा बन्ने सौभाग्य पाएँ। गर्भ रहेको थाहा भएपछि नै कल्पना गर्थें— छोरी भयो भने एउटै रङ्गका लुगा लगाएर घुम्न जाने हो।

बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालको वेटिङ कक्षमा “मरें नि आमा हो” भनेर बेला-बेला चिच्याइरहेकी थिएँ। “नआत्तिऊ, सबै ठीक हुन्छ” भनेर सम्झाउने श्रीमान्‌को अनुहार झन् अँध्यारो थियो। अरूहरू पनि नयाँ बच्चालाई यस धर्तीमा ल्याउने प्रतीक्षामा थिए। आफ्नै डाक्टर (डा. अरुणप्रसाद जोशी) को सल्लाह मात्रै सही हुन्छ भन्ठान्ने म बारम्बार सोचिरहन्थें— यदि अपरेसन गर्न परेमा उहाँ हुनुहोला कि नहुनुहोला? उहाँलाई आँखाले मात्रै देख्न पाए पनि कति आत्मबल बढ्थ्यो होला। डा. जोशीको एसएमएस पनि आएको रहेछ- “डक्टर पुनम इज दिअर …। आई ह्याभ टल्क्ड टु हर … डन्ट वरी।’

व्यथाले एकैछिन छाडे जस्तो भएको मौकामा हेरेको यो एसएमएसले पनि धेरै आत्मविश्वास बढायो। डा. पुनम लामा बेला-बेला आएर भन्नुहुन्थ्यो, ‘प्रोग्रेस राम्रो भइरहेको छ। चिन्ता लिनुपर्दैन। बल गर्नुस् ल?’ उहाँको त्यो विनम्र बोलीले पनि दुखाइ कम भएको आभास हुन्थ्यो। डाक्टरको विनम्र बोलीले पनि बिरामीको कत्ति आत्मविश्वास बढाउने है! यस्तो बेलामा डाक्टर भगवान् लाग्दो रहेछ।

व्यथाले बेस्सरी च्यापेको दुई घण्टा नहुँदै प्रसूति कक्षतिर लगियो। घडीको सुईले रातको १२ बजाउनै लागेको रहेछ। प्रसूति गराउन तम्तयार अवस्थामा रहेका तीन-चार जना स्टाफ। अस्पतालको सेतो भित्ता। उज्यालो बत्ती। नीलो बेड। आवश्यक सामग्रीहरू वरपर। सँगै डराएको मन। प्रसूति व्यथाले बेस्सरी दुखिरहेको शरीर। सँगै उत्साह। स्टाफहरू भद्र थिए। उनीहरू मसँगै गफ गर्दै डेलिभरी सहज गराउँदै थिए।
दुखाइको रन्कोमै भनेछु, ‘यस्तै हुन्छ भन्ने थाहा भएको भए बिहे नै गर्दिनथें नि!’ हाँसो गलल्ल छुट्यो।

असह्य पीडाले निस्किएको आँसु आँखाको डिलबाट गालाको बाटो हुँदै तप-तप बेडमा खसिरहेको थियो। बाँचिएला कि मरिएला जस्तो लाग्थ्यो। फेरि नानाथरी नसोच्न मनले मनलाई नै आग्रह गर्थ्यो— म त सुविधासम्पन्न अस्पतालमा छु, मुलुकको राजधानीमा छु। अवश्य राम्रो होला नि !

“हैट सिस्टर, कस्तो टोलाउनुभएको? अब बच्चा निस्कनै लाग्यो। ल त बेस्सरी बल गर्नुस्” स्टाफहरू कराउँथे। एकैछिनमा मेरी छोरीको यस धर्तीमा आगमन भयो। नवजात शिशु च्याप्प समातेर मेरो पेटमा राखियो।

जिज्ञासा राखें- “छोरा कि छोरी?” जवाफ आयो – “छोरी।” “अरे वाउ, छोरी?” कोठा नै थर्किने गरी खुसीले चिच्याएछु।

हामी दम्पती दोस्रो सन्तान जे-सुकै होस्, पहिलो सन्तान चाहिं छोरी नै होस् भन्ने चाहन्थ्यौं। त्यहाँको स्टाफले भन्दैथिए— “यति धेरै खुसीका साथ उत्साहित भएको कोही पनि देखेका थिएनौं।” “भन्नुस् त, अब बिहे गरेर पछुतो छ त?” ठट्यौली पारामा उनीहरूले सोध्न थाले। मुसुक्क मुस्कुराउँदै जवाफ दिएँ- “छैन।”

मेरो खुसीको सीमा नै थिएन। पहिलो पटक आमा बन्ने सौभाग्य पाएँ। गर्भ रहेको थाहा भएपछि नै कल्पना गर्थें— छोरी भयो भने एउटै रङ्गका लुगा लगाएर घुम्न जाने हो।

अहो! सोच्दासोच्दै बाहिर धेरै बेर बसेको पत्तो नै पाइनँ। शरीर चिसो भइसकेछ। अब यिनै अनुभव समेटिएको स्टोरीलाई बिट मार्नै बाँकी थियो। भित्र छिरें। सुत्केरी अवस्थामा शरीर कमजोर हुँदा मन पनि उत्तिकै थकित हुने रहेछ। न रुन कुनै कारण चाहिन्छ, न दुःखी हुन कुनै बहाना। यस्तो समयमा खानपानले मात्रै पुग्दैन रहेछ, मनलाई पनि उस्तै माया, साथ र समझदारी चाहिंदो रहेछ।

आज पनि कत्तिले सल्लाह दिन्छन्: अब त वंश धान्ने एउटा छोरा चाहिन्छ है। तर समयसँगै म फेरिएको छु। पहिले झैं यस्ता कुराले मनलाई यातना दिएको छैन। सुन्छु, तर मनभित्र राख्दिनँ। अब त सिक्दैछु- आफूलाई प्राथमिकता दिन, इग्नोर गर्न, अगाडि बढ्न र आफू जस्तै भएर बाँच्न।

यो लेख तयार गर्दै गर्दा मनमा प्रश्न उब्जियो: कुनै पनि आमा मानसिक रूपमा अस्वस्थ हुँदा स्वस्थ सन्तानको कल्पना सम्भव छ ? पोस्टपार्टम डिप्रेसनलाई स्वीकार नगरेसम्म यस्ता पीडाहरू घरघर अनि सुत्केरी आमाका मनभित्रै थन्किरहनेछन्। पोस्टपार्टम डिप्रेसन नदेखिने यथार्थ हुन सक्ला, तर नदेखिंदैमा अस्वीकार गर्न मिल्दैन। यसलाई स्वीकार्ने आँट नै सबैभन्दा ठूलो उपचार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?