News Summary
Generated by OK AI. Editorially reviewed.- पल्टिकल-ड्रामा फिल्म ‘बिगुल’ को प्रिमियर ललितपुरको लाबिम हलमा मंगलबार सम्पन्न भयो र सकारात्मक प्रतिक्रिया प्राप्त भयो।
- ललितपुर महानगरका नगरप्रमुख चिरिबाबु महर्जनले फिल्मलाई उत्कृष्ट र समसामयिक भन्दै जनताको मन छुने फिल्म भने।
- अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्मले जेनजी आन्दोलनलाई टेवा दिने र वर्तमान सन्दर्भ चित्रण गरेको बताए।
काठमाडौं । प्रदर्शन तयारीमा रहेको पल्टिकल-ड्रामा फिल्म ‘बिगुल’ ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । मंगलबार बेलुका यो फिल्मलाई ललितपुरको लाबिम हलमा प्रिमियर गरियो ।
प्रिमियरमा जनप्रतिनिधि, राजनीतिक विश्लेषक, संचारकर्मी र कास्ट एन्ड क्रूको सहभागिता रह्यो । ललितपुर महानगरका नगरप्रमुख चिरिबाबु महर्जनले फिल्मको मुक्तकण्ठले प्रशंसा गरे ।
उनले यो फिल्मलाई आफूले अहिलेसम्म देखेको उत्कृष्ट फिल्म भन्दै प्रशंसा गरे । ‘फिल्म हेर्दा झन्डै झन्डै आँसु आएन, थामेँ मैले । एकदमै राम्रो, समसामयिक, जनता जनार्दनको मन छुने खालको फिल्म छ’ उनले भने, ‘यो किसिमको जनताको प्रतिनिधित्व सायदै कमै होला ।’
उनले अघि भने, ‘म भावविह्वल भए । म पनि त्यस्तै स्थितीमा पुगेको थिएँ । म पनि त्यो बेला अन्डरग्राउन्ड भएर बसेको थिएँ पहिलो चुनावको बेला । अत्यन्त मार्मिक, क्याची यस्तो राम्रो किसिमको प्रस्तुति भएको फिल्म मैले अहिलेसम्म देखेको छैन ।’

कांग्रेस नेता समेत रहेका चिरिबाबुले आसन्न चुनाव परिवर्तिन परिस्थितीमा अघि बढेको बताए । कांग्रेसबाट युवायुवतीले टिकट पाएको र यो राम्रो संकेत भएको उनले बताए ।
उनले काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएका प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गरे । उनले भने, ‘मलाई जनताले ५ वर्षको लागि पत्याएको हो । साढे ३ वर्षमै म भागेँ भने त मैले जनतालाई चित्त बुझ्ने काम नगरेको होला नि त । तसर्थ अवधि पूरा गरेर गएको भए राम्रो हुन्छ ।’
अभिनेता मदनकृष्ण श्रेष्ठले पनि फिल्मको प्रशंसा गरे । ‘फिल्मले जेनजी आन्दोलनको लागि धेरै टेवा दिन्छ । वर्तमान समय सन्दर्भलाई चित्रण गरेको छ । समसामयिक विषय छ । हेर्नेलाई मजा आउँछ’ उनले भने । उनले यो फिल्म जोशिलो र होसिलो रहेको समेत बताए ।
प्रिमियरमा पूर्वसचिव भीम उपाध्याय, वरिष्ठ पत्रकार किशोर नेपाल, राजनीतिक विश्लेषक मुमाराम खनाल, कलाकारहरू पुष्प खड्का, सवीर श्रेष्ठ लगायत सहभागी थिए । फिल्मका निर्माता दिनेश कोइराला, निर्देशक रमेश कोइराला, कलाकारहरू बेनिशा हमाल, नरेन खड्का, विनोद न्यौपाने लगायतका कलाकार पनि उपस्थिती थिए । राजनीतिक कथावस्तुमा बनेको फिल्म १ फागुनदेखि प्रदर्शन तयारीमा छ ।



प्रतिक्रिया 4