+
+
Shares

टीकापुरमा तेस्रोपटक जुट्दैछन् लेखक, कलाकार र विज्ञहरू

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण चैत १३ देखि १५ गतेसम्म टीकापुरमा आयोजना हुने भएको छ।

२८ माघ, काठमाडौं । टीकापुरमा साहित्य महोत्सवको तेस्रो संस्करण आगामी चैत १३ गतेदेखि १५ गतेसम्म आयोजना हुने भएको छ । आयोजक टीकापुर साहित्य समाजले शनिबार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो ।

आयोजकका अनुसार यस महोत्सवमा प्रत्येक दिन सात गरी २१ बहस सत्रहरू रहनेछन् । हरेक बहस सत्र १-१ घण्टाको हुनेछ । नेपाली साहित्यका अध्येता, समालोचक, भाषाविद्, नेपाली र अन्य ६० भाषाको वर्णमालाका निर्माता प्रा. डा. माधवप्रसाद पोखरेलले ‘हाम्रो जाति, भाषा र संस्कृति’ शीर्षकमा प्रवचन दिने छन् ।

‘टीकापुर साहित्य महोत्सव- २०८२, थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष संस्करण रहेको आयोजकले जानकारी दिएका छन् ।

विशेषगरी कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङको देउखुरीमा थारू समुदायको बाहुल्यता रहेको छ । थारू भाषा तथा संस्कृति नेपालीको विशिष्ट मौलिक सांस्कृतिक परम्परा र पहिचान भएकोले यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्धेश्यले यो महोत्सवको आयोजन गर्न लागेको’ टीकापुर साहित्य महोत्सवका संयोजक साहित्यकार महेशविक्रम शाहले बताए ।

‘हाम्रा रैथाने भाषा र मौलिक संस्कृतिलाई समुदायको पहिचान र गौरवका रूपमा विकास गर्दै जोगाएर राख्न र यसको महत्वलाई नयाँ पुस्तासम्म पुस्तान्तरण गर्न साहित्य तथा सांस्कृतिक महोत्सवहरू महत्वपूर्ण माध्यम हुन्’ शाहले भने ।

यस महोत्सवको थारू साहित्य तथा सांस्कृतिक विशेष संस्करणमा थारू लोक साहित्य तथा लोक संस्कृतिमाथि वृहत चर्चा, परिचर्चा तथा बहस हुनेछ । साथै नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, समाज, राजनीति, विकास, स्थानीय सरोकारका विषयहरूमाथि पनि यस क्षेत्रका अध्येता, विज्ञ, अभियन्ता, शोधार्थी र आम नागरिकहरूबीच अन्तर्क्रिया र बहस हुनेछ ।

यस महोत्सवलाई ४ शृङ्खलामा विभाजन गरिएको छ । महोत्सवको पहिलो शृङ्खला अन्तर्गत चैत ९, १० र ११ गते टीकापुर नगरपालिका, जानकी गाउँपालिका तथा लम्कीचुहा नगरपालिकाका विभिन्न स्थान तथा विद्यालयहरूमा सन्देशमूलक सडक नाटक प्रदर्शन गरिनेछ । यो सडक नाटकका कलाकारमा स्थानीय विद्यार्थी तथा अन्य युवाहरू हुनेछन् । नाटकको लेखन र निर्देशन अग्रज नाटककार अशेष मल्लले गर्नेछन् ।

यसका साथै स्थानीय विद्यालयमा अध्ययनरत लेखनमा अभिरूचि भएका विद्यार्थीहरुका लागि एकदिने लेखन कार्यशाला गोष्ठीको आयोजन गरिनेछ । लेखन कार्यशाला गोष्ठीमा नेपालका स्थापित लेखकहरू प्रशिक्षकका रुपमा रहने छन् । पहिलो शृङ्खलाको महत्वपूर्ण कार्यक्रमका रुपमा सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि

सुदूरपश्चिम कविता महोत्सव- २०८२ को आयोजन गरिने छ । कविता महोत्सवमा प्रथम हुने कवितालाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार पुरस्कार दिइनेछ ।

दोस्रो शृङ्खलामा महोत्सवमा सहभागी हुन आएका अतिथिहरूलाई टीकापुर भेकको पर्यटन प्रवर्द्धन गर्न कर्णाली नदीमा जल विहार गराइनेछ । त्यही दिन बेलुका ‘थारू सांस्कृतिक साँझ’ को आयोजन गरिने छ।

टीकापुर साहित्य महोत्सवको तेस्रो शृङ्खला अन्तर्गत पहिलोदिन महोत्सवको उद्‍घाटन हुनेछ । थारू सांस्कृतिक झाँकी प्रदर्शन, टीकापुर साहित्य महोत्सव स्मारिका विमोचन, विज्ञहरूको प्रवचन, सुदूरपश्चिम कविता महोत्सव पुरस्कार वितरण, बहस सत्र, काव्य श्रवण र साँझ देशका चर्चित देउडा कलाकारहरूबाट देउडा प्रस्तुत गरिनेछ ।

दोस्रोदिन बहस सत्रका साथै गजलश्रवण तथा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहनेछ । महोत्सवको पहिलो र दोस्रो दिनका बहस सत्रहरूमा देशका ख्यातिप्राप्त भाषाविद्, साहित्यकार, कलाकार, पत्रकार, चिकित्सक, शिक्षाविद्, समाजसेवी, राजनीतिज्ञ तथा जनप्रतिनिधिहरूको सहभागिता रहनेछ ।

महोत्सवको चौथो शृङ्खला अन्तर्गत तेस्रोदिन थारू साहित्य तथा सांस्कृतिक उत्सवको विशेष दिन हुनेछ । यसका सातवटा सत्रहरूमा थारू समाज, थारू लोकसाहित्य तथा लोकसंस्कृतिका विविध आयामहरूमाथि बौद्धिक विमर्श तथा बहस हुनेछ । महोत्सवको तेस्रोदिनका बहस सत्रहरूमा पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्मका थारू लेखक, विज्ञ तथा अभियन्ताहरूको प्रतिनिधित्व हुनेछ ।

दिउँसो थारू परिकारहरूको प्रदर्शनी हुनेछ । महोत्सवको अन्तिम दिन साँझ थारू रामलीला नाच (गीति नाटक) प्रदर्शन गरिनेछ । महोत्सव अवधिभर पुस्तक प्रदर्शनी हुनेछ ।

साहित्यमार्फत सामाजिक सद्‍भाव बढाउने उद्धेश्यले टीकापुर साहित्य समाजले आफ्नो स्थापनाकालदेखि नै टीकापुरमा साहित्य महोत्सवको आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?