+
+
Shares

चीनमा के हुँदैछ यस्तो ? भिक्षुसँग ‘मार्सल आर्ट्स’ सिक्दै रोबोट

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको शाओलिन मन्दिरमा रोबोटहरूले भिक्षुहरूसँगै कुंग फू मार्शल आर्ट्सको अभ्यास गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

चीनमा प्रविधिको विकास कुन हदसम्म भइसक्यो भन्ने कुरा देखाउने एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यहाँको शताब्दीयौँ पुरानो शाओलिन मन्दिरमा रोबोटले भिक्षुहरूसँगै ‘कुंग फू’ मार्सल आर्टको तालिम लिइरहेको दृश्यले इन्टरनेट प्रयोगकर्तालाई आश्चर्यचकित बनाएको छ ।

उक्त भाइरल भिडियोमा मन्दिर परिसरमा परम्परागत पहिरनमा रहेका भिक्षुहरूले जस्तै रोबोटहरूले पनि एकै लय, एकै मुद्रा र एकै चालमा मार्शल आर्ट्सको अभ्यास गरिरहेका छन् । हात खुट्टाको चालदेखि सन्तुलन र तालसम्म हेर्दा रोबोट र भिक्षुबीच फरक छुट्याउनै गाह्रो देखिन्छ ।

चीनमा शाओलिन कुंग फूलाई मानवीय अनुशासन, आध्यात्मिक साधना र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको कला मानिन्छ । तर मानिसले गर्ने यो अभ्यासलाई मेसिनले पनि उस्तै निपुणताका साथ गरिरहेको दृश्य चाहिँ धेरैलाई अविश्वसनीय लागेको छ।

भिडियो हेरेपछि सोसल मिडियामा प्रतिक्रिया जनाउँदै कतिपय सोसल मिडिया प्रयोगकर्ताहरूले यस्ता प्रश्न गरेका छन्– अब ध्यान र साधना पनि रोबोटले नै गर्ने हो ? के मानव परम्पराको अन्तिम सीमा यही हो?

कसले बनायो यस्तो रोबोट ?

चाइना इनसाइडरको रिपोर्टअनुसार उक्त भिडियोमा देखिएका ह्युमनोइड रोबोटहरू शाङ्घाईस्थित आगिबोट कम्पनीले निर्माण गरेको हो । यी रोबोटहरूले आफ्नो आसपासको वातावरण बुझ्न सक्छन् भने सेन्सरको सहायताले चालढाल मिलाउँछन् । साथै यिनले मानिसले गर्ने जटिल शारीरिक गतिविधि पनि अनुसरण गर्न सक्छन् ।

कम्पनीका अनुसार यी रोबोटहरू वास्तविक संसारमा काम गर्नकै लागि सक्षम बनाइएका छन् । तर अहिले उनीहरूले मार्शल आर्ट्स समेत अभ्यास गरिरहेको दृश्य सार्वजनिक भएपछि चर्चा चुलिएको हो ।

कतिपयले त रोबोटले मार्सल आर्टको तालिम लिइरहेको भिडियो नै एआईबाट तयार गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

एकजनाले व्यंग्य गर्दै लेखेका छन्– कुंग फू त गरे, अब भाँडा माझ्न र कपडा धुन पनि सिक्लान् कि ?

कतिपयले चाहिँ यस्तो रोबोटलाई मानव भविष्यका लागि चेतावनीको रुपमा लिएका छन् ।

उनीहरूका अनुसार एआई र रोबोटको बढ्दो क्षमताले बिस्तारै मानिसहरूको स्थान लिने खतरा छ । जसले भविष्यमा रोजगारी र सामाजिक संरचनामा गम्भीर असर पार्न सक्छ ।

एकजनाको प्रतिक्रिया यस्तो छ– आज कुंग फू, भोलि हाम्रो काम, अनि अन्त्यमा हामी नै विस्थापित हुने त होइन ?

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?