+
+
Shares

जंगली रातो बाँदर पुन: कृषि हानिकारक वन्यजन्तु घोषित

कृषि वन्यजन्तु घोषणा भएसँगै जंगली रातो बाँदरले निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्था भए त्यस्तो खेत, खला, बारीका धनीले तोकिएको सर्तका आधारमा विनाअनुमति धपाउन, पक्रन र लखेट्न सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते १८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले जंगली रातो बाँदरलाई पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ।
  • कृषकले तोकिएका सर्तअनुसार निजी खेत, खला, बारीमा रातो बाँदरलाई विनाअनुमति धपाउन, पक्रन र लखेट्न सक्नेछन्।
  • राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष वा राष्ट्रिय वन क्षेत्रमा रातो बाँदरलाई धपाउन, लखेट्न वा पक्रन पाइँदैन।

२९ माघ, काठमाडौं । सरकारले जंगली रातो बाँदरलाई पुन: कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ ।

वन तथा वातावरण मन्त्रालयले दोस्रो पटक जंगली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार सूचना प्रकाशन भएको मितिले एक वर्षसम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको हो ।

कृषि वन्यजन्तु घोषणा भएसँगै जंगली रातो बाँदरले निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्था भए त्यस्तो खेत, खला, बारीका धनीले तोकिएको सर्तका आधारमा विनाअनुमति धपाउन, पक्रन र लखेट्न सक्नेछन् ।

सोही क्रममा रातो बाँदरको मृत्यु भए पनि कारबाही हुने छैन । तर, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रमा जंगली बाँदरलाई धपाउन, लखेट्न वा पक्रन पाइँदैन ।

सरकारले यसअघि गत वर्ष माघमा जंगली रातो बाँदरलाई पहिलो पटक कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । अहिले बालीनालीमा जंगली बँदेल र बाँदरको आक्रमण कृषकका लागि टाउको दुखाइको विषय बनेको छ ।

के-के छन् सर्त ?

वन मन्त्रालयका अनुसार जंगली रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा जनधन हानि–नोक्सानी पुर्‍याए किसान एक्लै वा सामूहिक रूपमा त्यस्तो बाँदरलाई धपाउन, लखेट्न वा पक्रन सक्ने छ ।

रातो बाँदर पक्रिए त्यो बाँदर सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष वा संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा मातहत नजिक कार्यालयमा बुझाउनुपर्ने छ ।

बाँदर धपाउने क्रममा मर्‍यो भने सम्बन्धित वडाका कम्तीमा एक जना प्रतिनिधि सहित स्थानीय पाँच व्यक्तिको रोहबरमा गाड्न पाइने भएको छ । त्यसको जानकारी निकुञ्ज वा वन कार्यालयमा गराउनुपर्ने छ । साथै, स्थानीय तहको वडामा समेत त्यसको जानकारी गराउनुपर्ने छ ।

रातो बाँदर मारिएमा कार्यालयहरूले हरेक दुई–दुई महिनामा मन्त्रालयमा विवरण पठाउनुपर्ने छ । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष वा राष्ट्रिय वन क्षेत्रमा भने जंगली रातो बाँदरलाई धपाउन, लखेट्न र पक्रन पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?