News Summary
Generated by OK AI. Editorially reviewed.- इटलीसँगको खेलमा हारपछि कप्तान रोहित पौडेलले टोलीले अपेक्षाअनुसार ब्याटिङ गर्न नसकेको स्वीकार गरे।
- रोहितले इटलीको उत्कृष्ट प्रदर्शनको श्रेय प्रतिद्वन्द्वी टोलीलाई दिएका छन्।
- इटलीका प्रशिक्षक जोन डेभिसनले आजको जित विशेष भएको र विभिन्न देशको पत्रिकामा फ्रन्ट पेज हेडलाइन हुने अपेक्षा व्यक्त गरेका छन्।
२९ माघ, काठमाडौं । इटलीसँगको खेलमा हार बेहोरेपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले आफ्नो टोलीले अपेक्षाअनुसार ब्याटिङ गर्न नसकेको स्वीकार गरेका छन्। उनले इटलीले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै जितको श्रेय पनि प्रतिद्वन्द्वी टोलीलाई दिएका छन्।
खेलपछि पोस्ट म्याच प्रेजेन्टेसनमा बोल्दै रोहितले भने, ‘आज इटलीले हामीलाई भन्दा राम्रो खेल्यो। विशेषगरी ब्याटिङमा हामी चुकेका छौं। १२३ रनको विकेट होइन जस्तो लाग्यो, हामी १६०–१७० वरिपरि पुग्ने सोचमा थियौं तर निकै खराब ब्याटिङ गर्यौं, यसलाई स्वीकार्न लाज मान्नु पर्दैन।’
उनका अनुसार सुरुवातमा ब्याटिङ गर्न गाह्रो भए पनि टोलीले परिस्थिति अनुसार खेल्न सकेन। ‘हामीले सुरुवाती अवस्थामा कन्डिसनलाई सम्मान गर्न सकेनौं, केही हतारका सट खेलेका थियौं। मेरो विकेट खेलको टर्निङ प्वाइन्ट बन्यो’ उनले भने। राम्रो साझेदारी र पावरप्लेमा राम्रो सुरुवातपछि आफ्नो विकेट गएसँगै खेलको मोड बदलिएको उनले बताए।
इंग्ल्यान्डविरुद्धको खेलपछि टोलीलाई पुनः लयमा ल्याउन कति चुनौतीपूर्ण भयो भन्ने प्रश्नमा रोहितले टोली अनुभवी भएकाले ठूलो समस्या नभएको बताए। ‘हामीले धेरै क्रिकेट खेलेका छौं, टोली अनुभवी छ। इंग्ल्यान्डविरुद्ध राम्रो प्रदर्शनपछि आजको खेलमा निराशा भयो। बढ्दो टोलीका रूपमा हामी अझै स्थिर र निरन्तर हुनुपर्छ’ उनले भने।
रोहितले इटलीको प्रदर्शनको प्रशंसा गर्दै भने, ‘आज इटलीले साँच्चै राम्रो खेल्यो, त्यसको श्रेय उनीहरूलाई जान्छ।’
यस्तै पोस्ट म्याच प्रेस कन्फेरेन्समा बोल्दै आरिफ शेखले पावरप्लेमा कमजोर सुरुवात अनि मिडल अर्डरमा सम्हालिन नसक्दा नेपालले राम्रो योगफल बनाउन नसकेको बताए । ‘हामीले १८० सम्मको योगफल बनाउन सक्थ्यौं, तर ब्याटिङमा राम्रो हुन सकेन’ उनले भने ।
यस्तै सन्दीप लामिछानेले आज नेपालको खराब दिन रहेको र इटलीले कन्डिशनलाई बुझेर खेलेकोले जित निकाल्न सफल भएको बताए ।
यस्तै ऐतिहासिक जित निकालेपछि इटलीका प्रशिक्षक जोन डेभिसनले आजको जित विशेष भएको र आफूले धेरै खेलाडीको आँखामा आँसु देखेको बताए ।
‘आजको जितका बारेमा इटलीसहित विभिन्न देशको पत्रिकामा फ्रन्ट पेज हेडलाइन पनि हुने अपेक्षा छ, हाम्रो लागि यो जित विशेष रह्यो’ उनले भने ।
प्रतिक्रिया 4