News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पुलिस क्लबको महिला भलिबल टोली माघ २१ गतेदेखि माल्दिभ्समा हुने काभा महिला च्याम्पियनसिप खेल्न प्रस्थान गरेको छ।
- पुलिस टोलीले न्यु डायमन्डका सलिना श्रेष्ठ र सुमित्रा रेग्मी तथा एभरेष्टकी मीना सुनारलाई समावेश गरी बलियो टिम बनाएको छ।
- प्रतियोगितामा नेपाल पुलिस क्लबसहित ७ टोली दुई समूहमा विभाजन भएर प्रतिस्पर्धा गर्नेछन् र पुलिसले पहिलो खेल उज्बेकिस्तानको हुमोसँग खेल्नेछ।
१९ माघ, काठमाडौं । नेपाल पुलिस क्लबको महिला भलिबल टोली माल्दिभ्समा फेब्रुअरी ४ (माघ २१ गते) देखि सुरु हुने काभा महिला च्याम्पियनसिप (काभा महिला क्लब भलिबल) खेल्न आइतबार राति त्यसतर्फ प्रस्थान गरेको छ ।
पुलिसले यस पटक न्यु डायमन्डका दुई र एभरेष्ट भलिबलका एक खेलाडी समावेश गर्दै बलियो टिम बनाएर माल्दिभ्स गएको छ । पुलिसले न्यु डायमण्डका कप्तान सलिना श्रेष्ठ र सुमित्रा रेग्मीसहित एभरेष्टकी मिना सुनारलाई काभा भलिबलका लागि टिममा समावेश गरेको हो ।
सलिना घरेलु भलिबलकी उत्कृष्ट लिबेरो हुन् भने सुमिता मिडल ब्लकर हुन् । यस्तै मिनाले ओपन स्पाइकरको भूमिका खेल्नेछन् ।
सुमित्राले यसअघि गत वर्षपनि माल्दिभ्समा पुलिस क्लबबाटै काभा महिला क्लब भलिबल खेलेकी थिइन् । जहाँ पुलिसले उपाधि जितेको थियो ।
तीन खेलाडी अनुबन्ध गरेपछि पुलिसले टिम सन्तुलित बनाएको छ ।
कप्तान कमला पुन र सरस्वती कट्टेल सेटरमा छन् भने शान्तिकला तामाङसँगै सलिना लिबेरोको भूमिकामा हुनेछन् । सलिनाको कप्तानीमा रहेको न्यु डायमण्डले यस वर्ष घरेलु भलिबलमा लगातार तीन उपाधि जित्दै ह्याट्रिक गरेको थियो । केही दिनअघि मात्रै न्यु डायमन्डले पुलिसलाई नै पराजित गर्दै पोखरामा छैटौं टाइगर कप भलिबलको उपाधि जितेको थियो । जहाँ सुमित्रा रेग्मी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।
यस्तै मिडल ब्लकर सुमित्रालाई क्विकमा कोपाल राना र एलिसा मानन्धरको साथ हुनेछ ।
आउटसाइड हिटरमा उषा भण्डारी, पुनम चन्द, मिना सुनार र आशिषका तामाङ छन् भने अपोजिटमा कामना विष्ट, रिमा कुँवर र लक्ष्मी चन्द हुनेछिन् ।
नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पुलिस महिला भलिबल टोलीलाई आइतबार बिदाइ गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई सिंगो नेपाल र नेपालीको प्रतिनिधित्व गरेको उल्लेख गर्दै उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी अन्तर्राष्ट्रिय स्तरमा देश र संगठनको गौरव बढाउन सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई शुभकामना समेत दिएका थिए ।
यस्ता छन् सहभागि टिमहरु
माल्दिभ्समा यही माघ २१ देखि २७ गते (फेब्रुअरी ४-१०) सम्म हुने काभा महिला क्लब भलिबलमा नेपालको नेपा पुलिस क्लबसहित कूल ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
सुरुमा यो प्रतियोगिता नेपालमै हुने तय थियो । तर नेपालमा जेनजी आन्दोलनपछि सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) ले प्रतियोगिता माल्दिभ्समा सारेको हो ।
सेन्ट्रल एसियाका १४ सदस्य राष्ट्रमध्ये ६ राष्ट्रका उत्कृष्ट टिमहरु माल्दिभ्सको मालेमा भेला हुनेछन् । आयोजक माल्दिभ्सकाट क्लब वाम्को र हुरा कम्युनिटी क्लब गरी दुई क्लब छन् ।
सहभागि ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह बी मा नेपालको पुलिस क्लब र माल्दिभ्सको हुरा कम्युनिटी क्लबसँगै उज्बेकिस्तानको हुमो भिसी र इरानको फुलोड मोबाराकेह सेपाहान क्लब छन् । यस्तै समूह ए मा माल्दिभ्सको क्लब वाम्कोसहित श्रीकंकाको हिर्दारामानी स्पोर्ट्स क्लब र काजखस्तानको टुरान भिसी छन् ।
पुलिसले आफ्नो पहिलो खेल बिहीबार उज्बेकिस्तानको हुमोसँग खेल्नेछ ।

नेपाल पुलिस महिला भलिबल टिम:
कमला पुन (कप्तान), उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, कोपिला राना, शान्तिकला तामाङ, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, मिना सुनार, एलिसा मानन्धर, रिमा कुँवर, लक्ष्मी चन्द, आशिका क्षेत्री, सरस्वती कट्टेल
प्रतिक्रिया 4