२९ माघ, काठमाडौं । उपभोक्ता जागरण अभियान नेपालले गाउँ–गाउँका विद्यालयमा पुगेर उपभोक्ता अधिकारबारे सचेतना अभियान सञ्चालन गरेको छ । जागरुक उपभोक्ता, जिम्मेवार बिक्रेता भन्ने नाराका साथ अभियानले उदयपुर र सुनसरीका सामुदायिक विद्यालयहरूमा पुगेर उपभोक्तालाई सचेत गरेको हो ।
माघ २६ गते उदयपुरको त्रियुगा नगरपालिकाका शारदा माध्यमिक विद्यालय देउरी र राष्ट्रिय मावि बगाहामा छुट्टाछुट्टै कार्यक्रम गरी उपभोक्ता जागरण अभियान चलाएको हो ।
त्यस्तै २७ गते सुनसरीको खनारस्थित शारदा मावि र दूहवीको सरस्वती माविमा पनि जागरण अभियान सञ्चालन गरेको थियो ।
जागरण अभियान सञ्चालनका क्रममा अभियानका संस्थापक अध्यक्ष एवं उपभोक्ता अधिकारका क्षेत्रमा लामो काम गर्दै आएका मुख्य प्रशिक्षक कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ ले वस्तु र सेवा उपभोग गर्ने उपभोक्तालाई नजगाएसम्म बिक्रेता जिम्मेवार नहुने बताए ।
मुख्य प्रशिक्षक भण्डारीले ग्रामीण क्षेत्रका गाउँबस्तीमा उपभोक्ता बढी ठगिने गरेको भन्दै उपभोक्ताहरू ठगिने अवस्थाको अन्त्य गर्न जागरण अभियान आवश्यक रहेको बताए ।
विद्यालयका प्रधानाध्यापक, सहयाक प्रधानाध्यापक तथा शिक्षकहरुले जागरण अभियानको प्रशंसा गर्दै यस्तो अभियान फलदायी रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपभोक्ता अधिकार, बजार व्यवस्थापन, सेवा प्रदायक, आमउपभोक्ता र उपभोक्ता अधिकारको सूचना र पैरवीबारे जिम्मेवार निकायले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो ।
प्रतिक्रिया 4