+
+
Shares

४ दल मिलेर बन्यो आइडिया मञ्च, १२ क्षेत्रमा उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते ११:१४

१ फागुन, काठमाडौं । आगामी निर्वाचनको संघारमा चार राजनीतिक समूह मिलेर ‘आइडिया मञ्च’ को घोषणा गरेका छन् ।

२७ माघ २०८२ मा चार राजनीतिक शक्तिहरू पिपुल फर्स्ट पार्ट, गतिशील लोकतान्त्रिक पार्टी,  समावेशी समाजवादी पार्टी र दलित गोलमेच सम्मेलनको आपसी समझदारीअनुसार मञ्च बनेको हो ।

विद्यमान राजनीतिक दलहरूको विकल्पका रूपमा ‘आइडिया मञ्च’ नामक नयाँ राजनीतिक गठबन्धन प्रस्ताव गरिएको मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘समावेशी, लोकतान्त्रिक, नैतिक विकल्प’ को नारासहित गठन गरिएको मञ्चले २०८२ भदौ २३-२४ मा भएको जेनजी आन्दोलनले उठाएका मागहरू पूरा नभएको र निहत्था युवाहरूको हत्यामा कोही जिम्मेवार नठहरिएको भन्दै गम्भीर असन्तुष्टि जनाएको छ ।

मञ्चले पुराना दलहरू र आन्दोलनलाई हाइज्याक गर्ने केही नयाँ दलहरू दुवैलाई चुनौती दिँदै आफूलाई ‘तेस्रो राजनीतिक ध्रुव’ का रूपमा उभ्याउने जिकिर गरेको छ ।

१२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार

आइडिया मञ्चले आसन्न निर्वाचनमा देशभर १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू उठाएको जनाएको छ । ती उम्मेदवारहरूका पक्षमा आइडिया मञ्चले संयुक्त रूपमा प्रचारप्रसार गर्ने बताएको छ ।

निर्वाचन तयारीको समय कम भएको स्वीकार गर्दै मञ्चले संसद बाहिर रहेर पनि वास्तविक विपक्षको भूमिका निर्वाह गर्ने र भविष्यमा हुने प्रदेश तथा स्थानीय तहको निर्वाचनमा सशक्त रूपमा प्रस्तुत हुने रणनीति लिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भ्रष्टाचारका मुद्दाहरूको छिनोफानो नभएको, निहत्था युवामाथि भएको दमन र हत्याका घटनामा कसैलाई जिम्मेवार नठहराइएको तथा ऐतिहासिक धरोहरमा आगजनी र कैदी भगाउने घटनामा संलग्न व्यक्तिहरूको पहिचानसमेत स्पष्ट नभएको बताइएको छ । यस्ता घटनामा संलग्न केही व्यक्तिहरू नै आगामी निर्वाचनमार्फत नीति निर्माता बन्न सक्ने अवस्था सिर्जना भएको मञ्चको दाबी छ ।

आन्दोलनले उठाएका मुद्दाहरू र युवाहरूको बलिदानको सम्मान नगरी हुन लागेको निर्वाचनलाई गुमेको अवसर’ का रूपमा व्याख्या गर्दै मञ्चले निर्वाचन अवधिभित्र र निर्वाचनपछि पनि यिनै मुद्दाहरू उजागर गर्ने उद्देश्यले आफूहरू निर्वाचनमा सहभागी हुन बाध्य भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?