१ फागुन, रोल्पा । आज जनयुद्ध दिवस । यो दिवसको अवसरमा रोल्पाका तीन पालिकाले सार्वजनिक बिदा दिएका छन् ।
सुनछहरी, सुनिल स्मृति र थबाङ गाउँपालिकाले सूचना जारी गरेर आज सार्वजनिक बिदा दिएको बताएका हुन् ।
२०५२ फागुन १ गतेबाट शुरु भएको जनयुद्धका क्रममा गुमाउनेको सम्मान गर्दै सार्वजनिक बिदा दिने निर्णय भएको पालिकाहरूले बताएका छन् ।
त्यस्तै परिवर्तन गाउँपालिकाले भने सार्वजनिक बिदा नदिइ जनयुद्ध दिवस मनाउने भएको छ । परिवर्तन गाउँपालिकाले आ–आफ्नो वडामा प्रत्येक वर्ष फागुन ०१ गतेका दिन विभिन्न रचनात्मक कार्याक्रम गरि जनयुद्ध दिवस मनाउँदै आएको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले बताए ।
लुङ्ग्री गाउँपालिकाले भने सार्वजनिक बिदा दिएको छैन ।
गतवर्ष जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएका स्थानीय तहहरूको सर्वोच्चमा मुद्दा विचाराधीन रहेको र निर्वाचन आचारसंहिता २०८२ लागु भएकोले फागुन १ गते बिदा दिन उपयुक्त नहुने माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती मगरले बताए ।
रोल्पा नगरपालिकाले पनि यो बर्ष विदा र कुनै पनि कार्यक्रम नगर्ने मेयर सुरेन्द्र थापा(घर्ती)ले बताए । ‘गत वर्ष जनयुद्ध दिवस मनाउदा हामीलाई मुद्दा पर्यो यो बर्ष कुनै गतिविधि गर्ने पक्षमा छौं,’ उनले भने ।
रोल्पामा गतवर्ष ७ स्थानीय तहले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएका थिए ।
रोल्पा नगरपालिका, सुनिल स्मृति, लुङ्ग्री, सुनछहरी, थबाङ, परिवर्तन र माडी गाउँपालिका रहेका थिए ।
रुन्टिगढी, त्रिवेणी र गंगादेव गाउँपालिकाले भने गतवर्ष र यसवर्ष नै बिदा दिएका छैनन् ।
नेपालको संविधान, २०७२ को प्रस्तावनामै ‘सशस्त्र संघर्ष’ उल्लेख छ । जनयुद्ध’ शब्द संविधानको प्रस्तावना र धारा ४२ (५) प्रतिकूल भएको सर्वोच्चको आदेशमा उल्लेख छ ।
प्रतिक्रिया 4