+

१२ वर्षपछि टी-२० विश्वकपमा नेपाली खेलाडीको अर्धशतक

२०८२ फागुन  ३ गते १४:०६ २०८२ फागुन ३ गते १४:०६
१२ वर्षपछि टी-२० विश्वकपमा नेपाली खेलाडीको अर्धशतक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीपेन्द्र सिंह ऐरीले आईसीसी टी-२० विश्वकप २०२६ मा वेस्ट इन्डिजविरुद्ध ५८ रन बनाएर नेपालका लागि अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्।
  • दीपेन्द्रले १२ वर्षपछि टी-२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गरेका हुन् र समूहको तेस्रो खेलमै यो उपलब्धि हासिल गरेका छन्।
  • दीपेन्द्र र सोमपाल कामीले सातौं विकेटका लागि ५४ रनको साझेदारी गर्दै नेपाललाई १३३ रनसम्म पुर्‍याउन मदत गरेका थिए।

३ फागुन, मुम्बई । नेपाली क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरी आईसीसी टी-२० विश्वकपमा अर्धशतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईमा भइरहेको खेलमा वेस्ट इन्डिज विरुद्ध अर्धशतक प्रहार गर्दै उनले १२ वर्षपछि अर्धशतकको खडेरी तोडेका हुन् ।

वानखेडे स्टेडियममा चौथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्रले नेपालका लागि सर्वाधिक ५८ रन बनाए । उनले ४७ बल खेल्दा समान ३ चौका र ३ छक्का प्रहार गरे ।

कमजोर सुरुवात गरेको नेपालले कुनै बेला १०० रन कटाउन पनि मुस्किल देखिएको अवस्थामा दीपेन्द्रले एक छेउ सम्हाल्दै अर्धशतक बनाएका छन् । साथै नेपालको स्कोर पनि हेर्न लायक बनाउन सहयोग गरे ।

दीपेन्द्रले सातौं विकेटका लागि सोमपाल कामीसँग महत्वपूर्ण अर्धशतकिय साझेदारी गर्दै इनिङ्स बिल्ड गरेका थिए ।

४६-५ को अवस्थामा दीपेन्द्रले गुल्सन झासँग छैटौं विकेटका लागि २७ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए । तर गुल्सन आउट भएपछि नेपाल झन् दबामा पुगेको थियो ।

तर दुई अनुभवी खेलाडी दीपेन्द्र र सोमपालले केही बाउण्ड्री प्रहार गर्दै राम्रो साझेदारी गरे । यी दुईले २६ बलमै ५४ रनको साझेदारी गरेका थिए ।

नेपालले टस हारेरपछि ब्याटिङमा कमजोर सुरुवात गर्दा पावर प्लेमै ३ विकेट गुमाएको थियो भने जम्मा स्कोर थियो २२ । ६ ओभरको पावर प्लेमा टी२० विश्वकपमा नेपालको यो सबैभन्दा कम स्कोर थियो ।

ओपनर कुशल भुर्तेल (१) देखि कप्तान रोहित पौडेल (५), आसिफ शेख (११) आउट हुँदा पावर प्लेमा नेपाल संघर्ष गरिरहेको थियो ।

मुम्बईस्थित वानखेडे स्टेडिययममा उपस्थित करिब २० हजार समर्थक नेपालको ब्याटिङ देखेर सुरुमै निराश बनेका थिए ।

तर त्यसपछि भने दीपेन्द्रले एक छेउबाट सम्हालिएर ब्याटिङ गर्दै अन्तिम ओभरमासम्म नै क्रिजमा टिके ।

पछिल्लो समय लोअर अर्डरमा फिनिसरको रुपमा खेल्दै आएका दीपेन्द्रले यस पटक भने चौथो नम्बरमा ब्याटिङ गर्दै आएका छन् । उनले टी२० विश्वकपअघि श्रीलंका र भारतको मुम्बईमै भएको तयारी र चेन्नाईमा भएको वार्म अफ म्याचमा पनि चौथो नम्बरमै ब्याटिङ गरेका थिए ।

दीपेन्द्रको अर्धशतक र सोमपालको केमियो इनिङ्स (२६*) रन मदतमा नेपालले ८ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

दीपेन्द्रको व्यक्तिगत उपलब्धि

वेस्ट इन्डिज विरुद्ध अर्धशतक प्रहार गर्ने क्रममा दीपेन्द्रले टी-२० विश्वकपमा केही व्यक्तिगत उपलब्धी पनि हासिल गरे ।

पहिलो उनी १२ वर्षपछि टी-२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने खेलाडी बने । यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा भएको टी-२० विश्वकपमा डेब्यू गर्दा ओपनर सुवास खकुरेलले अफगानिस्तान विरुद्ध अर्धशतक प्रहार गरेका थिए । संयोगवश त्यस विश्वकपमा पनि नेपालबाट कुनै खेलाडी समूह चरणमा आफ्नो तेस्रो खेलमा अर्धशतक प्रहार गरेको थियो ।

सन् २०१४ मा नेपालको तेस्रो खेलमा ओपनर सुवास खकुरेलले अर्धशतक प्रहार गरेका थिए । उनले अफगानिस्तानविरुद्ध ५३ बल खेल्दै ६ चौका १ छक्का मदतमा ५६ रन बनाएका थिए । यसपटक पनि दीपेन्द्रले समूहको तेस्रो खेलमै आएर अर्धशतक प्रहार गरे ।

त्यसैगरी दीपेन्द्रले बनाएको ५८ रन टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक व्यक्तिगत स्कोर समेत हो ।

यस्तै दीपेन्द्र नेपालबाट टी-२० विश्वकपमा अर्धशतक प्रहार गर्ने ओपनरबाहेकको पहिलो खेलाडी समेत बने । यसैगरी दीपेन्द्रले टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक रन पनि बनाए । उनले नेपालबाट विश्वकपमा १५१ रन बनाएका छन् ।

सोमपालसँगको ५४ रनको साझेदारी टी-२० विश्वकपमा नेपालबाट सातौं विकेटका लागि गरेको सर्वाधिक रनको साझेदारी पनि हो ।

यस्तै दीपेन्द्र नेपालबाट टी-२० विश्वकपमा एकै इनिङ्समा सर्वाधिक ३ छक्का प्रहार गर्ने खेलाडी समेत बने । उनले वेस्ट इन्डिजविरुद्ध ३ छक्का प्रहार गरेका थिए ।

यसअघि लोकेश बमले इंग्ल्यान्डविरुद्ध तथा रोहित पौडेलले इंग्ल्यान्ड र इटलीविरुद्ध २ छक्का प्रहार गरेका थिए ।

टी-२० विश्वकप क्रिकेट टी-२० विश्वकप २०२६ दीपेन्द्रसिंह ऐरी

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय